सुचना, समाचार र मनोरन्जन

भत्कियो भक्तपुर कांग्रेसको नयाँ समीकरण, वरिष्ठ पत्रकार राणाले गरे क्याम्प चेञ्ज

भक्तपुर/

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको लागि भक्तपुरमा बनेको समीकरण भत्किएको छ। भक्तपुरमा पार्टी सभापति शेरबहादुर देउवा पक्षीय गुटविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह र विमलेन्द्र निधि गुटले समीकरण बनाएको थियो।

भक्तपुरमा परम्परागत समीकरण भत्काएर संस्थापनइतरको नयाँ समीकरण बनेको थियो। पार्टीको १४औँ महाधिवेशनको लागि वडा अधिवेशनदेखि एकजुट भएको नयाँ समीकरण क्षेत्रीय अधिवेशनसम्म आउँदा भत्किएको हो।

देउवा गुटविरुद्ध बनेको नयाँ समीकरणका हस्ती वरिष्ठ पत्रकार कविर राणाले क्याम्प परिवर्तन गरेसँगै समीकरण भत्किएको हो। वरिष्ठ पत्रकार राणाले पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनको संघारमा आएर समीकरण परित्याग गरेका हुन्।

राणाले समीकरण त्याग गरेसँगै उनी पक्षीय विदुरमानसिंह बस्नेतलाई भक्तपुर क्षेत्र नं २ को लागि संस्थापन पक्षको आधिकारिक सभापति उम्मेदवार बनाइएको छ। यससँगै संस्थापन पक्षबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका नारायणभक्त खायमली पछि हट्ने भएका छन्।
क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका बस्नेतले संस्थापन पक्षबाट आफू आधिकारिक उम्मेदवार भएको बताए। संस्थापन पक्षसँग भएको सहमतिअनुसार उम्मेदवारी दर्ता गरेका नारायणभक्त खायमलीले आफ्नो उम्मेदवारी फिर्ता लिने बस्नेतले जानकारी दिए। खायमली वर्तमान क्षेत्रीय सभापति हुन् भने बस्नेत स्व गिरिजाप्रसाद कोइराला फाउन्डेसन भक्तपुरका अध्यक्ष हुन्।

क्षेत्र नं २ मा संस्थापन पक्षबाट खायमलीको उम्मेदवारी पर्दा संस्थापनइतरबाट भेषबहादुर कार्कीको उम्मेदवारी दर्ता गरिएको छ। नयाँ समीकरण भत्किएसँगै मंगलबार हुने मतदानमा क्षेत्र नं २ मा संस्थापन पक्षका बस्नेत र संस्थापनइतरका कार्कीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रका दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा दुई पक्षले एकएक क्षेत्र हात पारेका छन्। त्यस्तै यस क्षेत्रमा रहेका दुई नगरपालिकामा पनि दुवै पक्षबाट एकएक नपामा सभापति जितेका छन्।

सूर्यविनायक नपाको नगर सभापतिमा संस्थापनइतर पक्षबाट वरिष्ठ पत्रकार राणाका भाइ रवि राणा पराजित भएका थिए। उनी संस्थापनका निशान ढुंगेलसँग पराजित भएका थिए। यस नपामा संस्थापनइतर पक्ष सबल हुँदाहुँदै आफ्नो भाइ भएकै कारण हराएको भन्दै नगर अधिवेशनको परिणाम आएकै बखत राणाले असन्तुष्टि र आक्रोश पोखेका थिए। नभन्दै उक्त नपाको प्रदेशसभा निर्वाचनमा समेत संस्थापनइतर पक्षका बलिया उम्मेदवार राजु खड्का संस्थापनका प्रदीप कार्कीसँग पराजित भए। यसैबेला संस्थापनइतरको समीकरण भत्किएको आँकलन गरिएको थियो।

जुन क्षेत्रीय अधिवेशनको लागि वरिष्ठ पत्रकार राणाले क्याम्प चेञ्ज गरेसँगै पुष्टि भएको संस्थापनइतरका एक नेताले बताए। उनले आफ्नो भाइ पराजित भएको रिस साध्न वरिष्ठ पत्रकार राणाले प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनमा अन्तरघात गरेको र क्षेत्रीय अधिवेशनमा समीकरण नै भत्काएको आरोप लगाए।

क्षेत्र नं १ मा पनि कडा टक्कर हुने
क्षेत्र नं १ मा संस्थापन पक्षबाट जीवन खत्री र संस्थापनइतर पक्षबाट उद्धव खड्काको उम्मेदवारी परेको छ। यस क्षेत्रका दुई प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये दुइटै पक्षले एकएक क्षेत्रमा जीत हात पारेका छन्। त्यस्तै यस क्षेत्रमा रहेका दुई नपामध्ये एकएकमा दुईपक्षले जितेकाले खत्री र खड्काबीच कडा टक्कर हुने कांग्रेस नेता तथा कार्यकर्ताहरु बताउँछन्। खत्री वर्तमान क्षेत्रीय सभापति हुन् भने खड्का क्षेत्रीय सचिव।

यहाँका दुई प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गत संस्थापन पक्षबाट ९क० प्रदेशसभामा जयन्द्र खड्का र चाँगुनारायण नपामा शिवहरि केसी विजयी भएका थिए। संस्थापनइतर पक्षबाट ९ख० प्रदेशसभामा शिवप्रसाद अवाल र भक्तपुर नपामा राजेन्द्र तमखू निर्वाचित भएका थिए।

कमेन्ट्स
Loading...