सुचना, समाचार र मनोरन्जन

एमाले महाधिवेशनः ओलीसहित अन्तिम लडाइँमा एमालेका ६ नेता

काठमाडौँ/

नेकपा एमालेको नवौं महाधिवेशनबाट पारित विधानले व्यवस्था गरेको ७० वर्षे उमेरहदका कारण भरतमोहन अधिकारी र नेता सिद्धिलाल सिंह सो महाधिवेशनबाटै बिदा भए।

एमालेको ७० वर्षे उमेर हदसम्बन्धी व्यवस्था नेकपा माओवादी केन्द्रसँग एकतासँगै निष्क्रिय बनाइयो। गोदावरीमा सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले फेरि यो व्यवस्था ब्युँताएको छ। यो विधानअनुसार अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्यद्वय सत्यनारायण मण्डल र केशव बडाल १०औं महाधिवेशनबाटै बिदा हुँदैछन्।

नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्षसहितका ६ जना पदाधिकारीलाई भने १०औं महाधिवेशन ‘गर या मर’ हुने देखिएको छ। विधानमा रहेको ७० वर्षे उमेरहदका कारण अध्यक्ष केपी ओलीसहितका ६ जना नेता यो महाधिवेशनबाट नेतृत्व या पदाधिकारीमा अटाउन सकेनन् भने उनीहरू कहिल्यै एमालेको कार्यकारी भूमिकामा हुने छैनन्।

अध्यक्षका एकमात्र बलिया दाबेदार ओली आगामी फागुनमा ७१ वर्ष लाग्दैछन्। तीन महिनाअघि महाधिवेशन भएका कारणमात्र उनी एमालेको कार्यकारी भूमिकामा अन्तिम पटक प्रतिस्पर्धा गर्दै छन्।

११औं महाधिवेशनमा आइपुग्दा उनी स्वतः पार्टीको कार्यकारी भूमिकाबाट अलग भइसकेका हुनेछन्। ओलीसँगै १०औं महाधिवेशनमा अध्यक्षका दावेदार उपाध्यक्ष भीम रावल पनि यस पटक नेतृत्व या पदाधिकारीमा अटाउन सकेनन् भने ११औं महाधिवेशनपछि एमालेको कार्यकारी भूमिकामा देखिन पाउने छैनन्। उनी ६६ वर्षका भइसकेका छन्। ११औँ महाधिवेशनसम्ममा उनी ७० वर्ष कटिसकेका हुनेछन्।

महासचिव तथा वरिष्ठ उपाध्यक्षका दावेदार ईश्वर पोखरेल पनि यस पटक अन्तिम लडाईंमा छन्। उनी पनि ६७ वर्षका भइसकेका छन्। अर्को महाधिवेशनसम्म पुग्दा उमेरहदका कारण उनले पनि अवकाश पाइसक्नेछन्।

अहिलेसम्म पदाधिकारी हुन नपाएका सुवासचन्द्र नेम्वाङका लागि त यो महाधिवेशन इतिहास बनाउने अवसर नै हो। यस पटक उनी पदाधिकारीमा अटाउन सकेनन् भने कहिल्यै एमालेको कार्यकारी नेतृत्वमा हुने छैनन्। यस पटक उनले वरिष्ठ उपाध्यक्ष या त्यो नपाए उपाध्यक्षमा दाबी गरिरहेका छन्। नेम्वाङ पनि ६९ वर्षका पुगिसकेका छन्।

आफ्ना श्रीमान् अमृत बोहोरा १०औं महाधिवेशनवाट बिदाइ हुँदै गर्दा ६७ वर्षीया अष्टलक्ष्मी शाक्य अन्तिम पटक पार्टीको कार्यकारी पदमा प्रतिस्पर्धामा उत्रने तयारीमा छिन्। १०औं महाधिवशनबाट उनी पदाधिकारीमा चुनिन सकिनन् भने शाक्यका लागि एमाले राजनीतिमा उपाध्यक्ष पद नै श्रेष्ठ पद बन्नेछ।

केपी ओलीले नै अनुशासन आयोगको अध्यक्ष बनाउन खोजेका उपाध्यक्ष युवराज ज्ञवाली ६८ वर्षका भए। १०औं महाधिवेशनमा ओलीले उनलाई अनुशासन आयोगको अध्यक्षमा मनाए भने उनको पनि यो नै अन्तिम कार्यकारी कार्यकाल हुनेछ। उनी पनि सके वरिष्ठ उपाध्यक्ष नभए पनि उपाध्यक्ष बन्ने कोसिसमा छन्।

कमेन्ट्स
Loading...