उदय सुबेदी गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ) नेपाल गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष हुन् । कास्कीको उत्तरपूर्वी थाम–ल्हाम्जा गाउँमा हालै आयोजित भिटोफ गण्डकीको तेश्रो अधिवेशन तथा सातौं साधारणसभाबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उक्त गाउँसहित १४ जिल्लाका १४ गाउँलाई नमुना गाउँका रुपमा विकास गर्ने लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक्ट ३२५ बीवानको योजनामा सहयोगी भूमिका निर्वाह गर्ने समेत भिटोफले बताएको छ । ग्रामीण पर्यटन प्रबद्र्धन र वर्तमान गाउँ पर्यटनको अवस्थाका बारेमा केन्द्रित रहेर ह्याप्पी भिलेज ट्रेक्स एण्ड एक्सपिडिसनका संचालक समेत रहेका युवा व्यवसायी सुबेदीसँग राखिएका केही जिज्ञासाको जवाफ यहाँ प्रस्तुत गरिएको छ :
भिटोफ गण्डकीको अध्यक्ष छानिनुभयो, भविश्यका योजना के छन् ?
सर्बप्रथम त विभिन्न होमस्टे गाउँहरुलाई समेटेर संस्थाले विकास गरेको एप्लिकेसनलाई थप राम्रो बनाउने मेरो योजना छ । भिजिट गण्डकी नाम दिएर संचालनमा ल्याइएको यो एप्लिकेसनप्रति निकै सकारात्मक प्रतिक्रियाहरु आएका छन् । यसलाई थप सुधार गरेर अन्य गाउँ र ठाउँहरुलाई समेत समेट्दै अघि बढिने छ । पर्यटकलाई गाउँ घुमाउनका लागि अहिले पनि दक्ष पथप्रदर्शक (गाइड) को अभाव छ । त्यसप्रकारका गाउँले गाइड उत्पादनका लागि तालिम पनि संचालन गर्ने छौं । त्यस्ता गाइडहरुलाई स्थानीय उत्पादनदेखि त्यहाँको इतिहासबारे ब्याख्या गर्न र बुझाउन सक्ने बनाउँनेछौं ।
गाउँ प्रबर्धनका कामहरु कसरी अगाडि बढाउनुहुन्छ ?
नयाँ गन्तव्यहरुको खोजी र प्रबद्र्धनको कामलाई निरन्तरता दिइने छ । थप होमस्टेहरुको संभाव्यता पनि अध्ययन गर्ने योजना नयाँ समितिको रहेको छ । लायन्स क्लबसँग सहकार्य गरेर लायन्स गाउँ स्थापना गरी मिलेर प्रबद्र्धनको काम अगाडि बढाउने शोच पनि रहेको छ । मुख्य कुरा त आपसी सहकार्य र गाउँ–गाउँ जोडेर ग्रामीण पर्यटन प्रबद्र्धन गर्ने हाम्रो योजना हो ।
कोभिड– १९ ले होमस्टेहरुको अवस्थामा कस्तो प्रभाव पारेको छ ?
कोभिड महामारी उत्कर्षमा रहँदा शहर गाउँ सबैतिर पर्यटन शून्यजस्तै हुन पुग्यो । विचमा लकडाउन फिर्ता लिइएपछि मानिसहरुको आवतजावत बढेको थियो । गाउँ घुम्ने क्रमले पुनः निरन्तरता पाउँदै गर्दा कोभिडको दोश्रो लहरले त्यो क्रममा पुनः बाधा सिर्जना गर्न पुग्यो । अहिले भने पुनः मानिसहरु गाउँ जाने र घुम्ने क्रमले निरन्तरता पाउन थालेको छ ।
पर्यटनका सन्दर्भमा गाउँमा के कुराको कमि देखिन्छ?
गाउँमा पूर्वाधारहरुको कमि छ । बाटोहरुको सुधार जरुरी छ । गाउँका व्यवसायीलाई होमस्टे र अतिथि सत्कार सम्बन्धी तालिमको खाँचो छ । त्यस्ता तालिम संचालन गर्ने, गण्डकी प्रदेशका ११ वटै जिल्लाका गाउँमा स्टेक होल्डर र मिडियाका साथीहरु लाने र गाउँलेलाई होमस्टेको महत्व बुझाउने योजना पनि हाम्रो छ ।
ग्रामीण पर्यटन विकास र होमस्टेको विकासका लागि सरकारले के गर्नुपर्छ जस्तो लाग्छ?
पर्यटन र व्यवसायीलाई टिक्ने र टिकाउने वातावरण सरकारले सिर्जना गरिदिनुपर्छ । बाटोघाटो र पूर्वाधार लगायतका पक्षहरुमा पनि ध्यान दिन जरुरी छ । प्रबर्धन र तालिमका कार्यक्रममा व्यवसायीहरुलाई सरकारले सघाउन सक्छ । ग्रामीण पर्यटन र प्रबर्धनलाई उच्च प्राथमिकतामा राखेर सरकार अगाडि बढ्नु पर्छ ।
