सुचना, समाचार र मनोरन्जन

व्यवसायीलाई पलायन हुन नदिन सरकारले विभिन्न कार्यक्रम ल्याउनुपर्छ : अध्यक्ष कोइराला

विक्रम सम्वत् २०११ सालमा स्थापित पोखराको जेठो संस्थाको रुपमा रहेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष हुन् नारायण कोइराला । गत बर्ष पुसमा विगतको विरासत, भविश्यको भर भन्ने नारा दिएर संघको ३३ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित् युवा व्यवसायी कोइराला न्यू नयन गिफ्ट एण्ड किचनका संचालक पनि हुन् । संघमा पाँच हजार साधारण सदस्य बनाउने आफ्नो उद्धेश्य रहेको उनले बताए । शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको विकासमा संघले योगदान पु-याउँदै आएको उनले सम्झाए । कोभिड १९ को महामारीविच बढाइएको बैंक ब्याजलाई घटाउन दवाव दिने देखि उद्योगी व्यवसायीलाई खोपको व्यवस्था गर्न संघले ठूलो पहल गरेको उनले दाबी गरे । अध्यक्ष कोइरालासँग गरिएको कुराकानी :

उद्योग वाणिज्य संघ अहिले के गर्दै छ ?

कोभिड १९ को प्रभाव विस्तारै घट्दै गएमा र अवस्था सहज बनेमा विगतमा गर्दै आइएको राष्ट्रिय औद्योगिक व्यापार मेलालाई निरन्तरता दिने योजनामा हामी छौं । उद्योग र व्यवसायलाई सहयोग पुग्ने तरिकाले मेलालाई कसरी नयाँ र परिस्कृत ढंगले संचालन गर्ने भन्ने बारेमा पनि सोचिरहेका छौं । यसैगरी एउटा तालिम विद्यालय नै संघले संचालन गर्ने शोच अनुरुप केही पहल अगाडि बढाइसकिएको छ । यसका लागि संघका उपाध्यक्ष गोकर्ण कार्कीलाई संयोजक तोकिसकिएको छ । यति मात्र नभई सानो खालका उद्योग व्यवसाय संचालन गर्न चाहने व्यवसायीहरुलाई सहजिकरण गर्ने र सघाउने काम पनि भइरहेका छन् । पोखरा पर्यटकीय हब समेत भएका कारण यहाँ पर्यटकीय गतिविधि बढाउने र यहाँ बन्दै गरेको नयाँ विमानस्थलबाट सकेसम्म भारत र चीन जस्ता छिमेकी मुलुकदेखि सिधा हवाई उडान संचालन गरी विमानस्थललाई अन्तर्राष्ट्रिय नै भएको सन्देश दिने योजनामा पनि हामी छौं।

मेला र महोत्सवको कुरा गर्दा संघले गर्दै आएका महोत्सवको आकर्षण न्यून हुँदै गएको र आगन्तुकहरुको संख्या तथा नयाँ पन पनि पनि घट्दै गएको महसुस गर्नेहरु धेरै छन्, के भन्नु हुन्छ ?

सर्वप्रथम त मेला र महोत्सव संचालन र व्यवस्थापन गर्नु नै गाह्रो काम हो । यसका वापजूद पनि हामीले यसलाई निरन्तरता दिंदै आएका छौं । मेला स्तरीय हुनुपर्छ भन्ने कुरामा हामी सचेत छौं । संघीय, प्रदेश र स्थानीय सरकारले पनि यसप्रकारले उद्योग व्यवसायसँग सम्बन्धित मेला र महोत्सवलाई सघाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । मनोरञ्जन र रंगरमाइलो भन्दा पनि उद्योग व्यवसाय क्षेत्रसँग प्रत्यक्ष सरोकार भएको किसिमले महोत्सवलाई संचालन गर्ने योजनामा हामी छौं । मेला महोत्सव गरेर नाफा नै हुनुपर्छ भन्ने होइन । रिस्क पनि लिन सक्नुपर्छ तर यसबाट उद्योग व्यवसाय र समग्र उपभोक्ता जगत लाभान्वित हुनुपर्छ ।

उद्योग वाणिज्य क्षेत्रमा कोभिड १९ को प्रभाव कस्तो रह्यो ?

कोभिड विश्वव्यापी रुपमै फैलिएका कारण यसको प्रभाव अन्यत्र जस्तै यहाँ पनि नराम्रो रह्यो । कतिपय व्यवसाय बन्द भए भने ठूलो संख्यामा मजदूर पलायन भए । पोखरा पर्यटकीय क्षेत्र भएका कारण पनि यहाँ कोभिडको मार बढी नै पर्यो । पर्यटन क्षेत्रका मजदूरलाई सरकारीस्तरबाट केही राहात दिने कुरा आएको छ, यो सकारात्मक कुरा हो तर घोषणा कार्यान्वयन हुन जरुरी छ । पर्यटन क्षेत्र विस्तारै उठ्ने क्रममा पनि रहेको छ । मानिसहरुको आवतजावत बढ्न थालेको छ । तर पनि कोभिडको अर्को लहर आउन नदिन र भाइरस थप फैलन नदिन सबैजना सचेत भएर अगाडि बढ्न जरुरी छ । अर्को तर्फ व्यवसायीलाई पलायन हुन नदिन राहात र सहुलियतका कार्यक्रम सरकारले ल्याउनुपर्छ र दिने भनिएका सुविधा दिनुपर्छ । खासगरी ऋण र ब्याज चुक्तामा छुट दिइनुपर्छ । ऋण लिने व्यवस्था सरलिकृत हुन जरुरी छ ।

संघकै कुरा गर्दा विचमा संघमा कार्यरत कतिपय कर्मचारीलाई अवकास दिइयो, घर पठाइयो । संघ स्वयं आर्थिक संकटमा भएको र टाट पल्टिन लागेको भन्ने कुरामा कति सत्यता छ ?

पोखरा उद्योग वाणिज्य संघ उद्योगी व्यवसायीको संस्था भएको र यसले सामाजिक कार्यहरु समेत गर्दै आएका कारण यसप्रति सबैको माया हुनु स्वभाविक हो । पछिल्ला बर्षहरुमा विविध कारणले संघको आम्दानी घट्न पुग्नुलाई अन्यथा रुपमा लिन हुँदैन । विगतमा पोखरा प्रवेश गर्ने कतिपय मालबाहक ट्रक लगायतका साधनबाट सेवा शुल्क उठाइन्थ्यो । अहिले त्यो क्रम रोकिंदा पनि आम्दानी घटेको छ । मेला र महोत्सवको आम्दानी पनि पछिल्ला बर्षहरुमा उत्साहप्रद रहेन तर पनि हामी संघलाई आर्थिक रुपमा दह्रो बनाएर लानेमा प्रतिबद्ध छौं । यसैगरी संघका कर्मचारीको कुरा गर्दा कतिपय कर्मचारी सेवा अवधि पुगेर पनि अबकास पाएका छन् । संघ प्रविधि मैत्री बन्दै जाने क्रममा कम कर्मचारीबाट नै धेरै काम पनि गर्न सकिने भयो । सबै कर्मचारीलाई सरकारी नियम अनुसार सेवासुविधा दिंदै आइएकोमा पछिल्ला क्रममा भने हामीले आफ्नै नियमावली बनाएका छौं ।

यति पुरानो र ठूलो संस्था छ, संघले सबै उद्योगी व्यवसायीलाई समेट्न नसकेको भन्ने गुनासो पनि छ । केही व्यवसायी त संघ नै छाडेर नयाँ संघ बनाउने अवस्थामा पनि पुगे, यस्तो अवस्था किन आयो ?

संघमा नयाँ सदस्यता बनाउने र सबैलाई समेटेर लैजाने क्रमले निरन्तरता पाइ नै रहेको छ । यसका लागि हामीले संघमा सदस्यता विस्तार शाखा नै व्यवस्था गरेका छौं । अहिले पनि संघमा तीन हजार दुई सय ७६ सदस्य छन् । मेरो कार्यकालमा यो संख्या पाँच हजार बनाउने लक्ष्य छ । यसैगरी अहिले पनि ७१ वटा वस्तुगत संघ छन् । वस्तुतगका पनि सदस्य जोड्ने भने सदश्य संख्या त १० हजार नाघ्छ । निश्चय पनि फुट राम्रो कुरा होइन । एउटै संघमा रहेका साथीहरु चुनावमा अनुमोदित नभएपछि छुट्टै संस्था बनाउने ट्रेण्ड नै बस्न थाल्यो । यो राम्रो अभ्यास होइन ।

पछिल्लो क्रममा संघमा राजनीति हावी भएको भन्ने कुरा पनि आयो । उद्योगी व्यवसायीको पोखरा उद्योग वाणिज्य संघलाई कतिपयले काँग्रेस उद्योग वाणिज्य संघ समेत भनेर टिप्पणी गरे । यो के भएको ?

यो सान्दर्भिक प्रश्न हो । दलहरुका चुनाव, अधिवेशन आउँदा कतिपय उद्योगी व्यवसायी साथीहरु त्यहाँ जोडिनुलाई अन्यथा टिप्पणी गर्न जरुरी छैन । मूल कुरा संघले उद्योगी व्यवसायीको हित हेर्ने हो । त्यो हामीले गरिरहेका नै छौं । कुनै दल विशेषप्रति राजनीतिक आस्था राखिनु र राजनीतिक सरगर्मी बढ्दा कुनै दलसँग जोडिनुलाई असहज रुपमा लिनु हुँदैन । समग्रमा संघ दलगत संस्था होइन । अर्को कुरा राजनीतिमा लागेका मान्छे संघमा आउन नपाउने भन्ने पनि छैन, यसलाई यसरी नै बुझौं।

कमेन्ट्स
Loading...