काठमाडौं । नेपालमा पछिल्लो समय रियालिटी शोको बाढी नै आएको छ । अन्य कार्यक्रम भन्दा रियालिटी शो दर्शकका नजरमा पर्ने हुँदा रियालिटी शो नेपालमा फस्टाएको छ । यहि भिडमा इमेज एचडी टेलिभिजनबाट नयाँ रियालिटी शो प्रसारण हुने भएको छ ।
भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्ने ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ प्रसारणका लागि सोमबार इमेज टीभी र भ्वाइस स्टार नेपाल प्रालिबीच सम्झौता भएको हो । आयोजकका अनुसार यो रियालिटी शोले सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेका प्रतिभालाई स्थान दिनेछ । यस रियालिटी शोका निर्देशक रवि श्रेष्ठ रहेका छन् ।
उनका अनुसार शोको पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिस्पर्धीहरुको छनोट गरिनेछ भने डिजिटल अडिसन पुसको पहिलो साताबाट शुरु हुने छ । निर्देशकले भने,‘ यो रियालिटी शो २५ भागसम्म चल्ने छ । यो प्रतियोगिताका विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने अन्यले यो भन्दा थोरै रकम प्राप्त पाउनेछन् ।’
