सुचना, समाचार र मनोरन्जन

कर्मचारीको अरुचीको कारण गौरवको आयोजना सिक्टा सिंचाइको काम अलपत्र

  •  
  •  
  •  
  •  

नेपालगञ्ज/

गौरवको आयोजना सिक्टा सिंचाइमा कर्मचारी नै आउन नमान्ने गरेको पाइएको छ । कर्मचारी अभावकै कारण आयोजनाको काम द्रूतगतिमा अघि बढ्न सकेको छैन ।

आयोजनाका प्रमुख रामप्रसाद अर्यालका अनुसार, सिक्टा सिंचाइ आयोजनामा २५ जना कर्मचारीको दरबन्दी रहेको छ । त्यसमा दश पद रिक्त छ । ६ जना दोस्रो तह, तीनजना तेस्रो तह र एकजना सब इन्जिनियरको दरबन्दी रिक्त रहेको हो । भएका १५ जनामा दशजना सब इन्जिनियर छन् ।

सिक्टा सिंचाइ आयोजनामा कर्मचारी आउन नमान्न थालेको धेरै भएको छैन । सुरुवाति चरणमा सिक्टामा कर्मचारी आउन तछाडमछाड गर्थे । पछिल्लो तीन वर्षदेखि सिक्टा सिंचाइ आयोजनामा कर्मचारी आउन मानिरहेका छैनन् । आयोजना स्रोतले भन्यो, ‘सुरुमा यहाँ राम्रा–राम्रा इन्जिनियर आउन तछाडमछाड गर्थे । पछिल्ला वर्षहरुमा आउनुस् भन्दा पनि मानिरहेका छैनन् ।’

कर्मचारीसम्द्धका अनुसार, सिक्टामा कर्मचारी आउन नमान्नुका दुई प्रमुख कारण छन्, एउटा अख्तियारले हात हाल्नु र अर्को यहाँ आउने हाकिमको बढुवाका लागि अतिरिक्त नम्बर नमिल्नु । सिक्टाले पानी छोड्दा दुईपटक नहर फुटेको थियो । २०७३ सालमा सुरुको परीक्षण गर्दा नै नहर फुट्यो । त्यसलाई मर्मत गरियो । फेरि पानी छोड्दा २०७५ सालमा नहर फुट्यो ।

घुलनशील माटोका कारण नहर फुटेको बताइए पनि अख्तियारमा मुद्दा पर्‍यो । अख्तियारले २० जनाविरुद्ध मुद्दा चलाएको छ । २० जनामध्ये १२ जना डिभिजन इन्जिनियर रहेका छन् । फाइलमात्रै सदर गर्नेलाई पनि मुद्दा परेपछि कर्मचारी सिक्टामा आउन डराइरहेका छन् । ‘जो दोषी छ उसलाई मात्रै मुद्दा चलाएको भए कर्मचारीहरु यसरी तर्सिँदैनथे, अख्तियारले पनि सबैलाई मुद्दा चलाएको छ’, आयोजना स्रोतले भन्यो ।

सिक्टामा हाकिम आउन नमान्नु अर्को कारण बढुवाका लागि अतिरिक्त नम्बर नमिल्नु रहेको छ । यो ‘हिडन’ कारण मानिन्छ । ‘काठमाडौँमा बस्नु र नेपालगञ्जमा बस्नु उस्तै हो । बढुवाका लागि अतिरिक्त नम्बर पाइँदैन, नेपालगञ्जलाई पनि सुगम जिल्ला मानिएको छ’, कर्मचारी स्रोतले भन्यो, ‘छिमेकी जिल्ला बर्दिया बस्दा अतिरिक्त नम्बर पाइन्छ । नेपालगञ्जमा बस्दा पाइँदैन । यही भएर हाकिमहरु यहाँ आउन चाहँदैनन् ।’

बाँकेका किसानको भविष्यसँग जोडिएको सिक्टा सिंचाइ आयोजनामा कर्मचारी आउन नमान्दा द्रूतगतिमा काम हुन सकेको छैन । आर्थिक वर्ष २०६२र६३ बाट काम सुरु भएको सिक्टाको अहिलेसम्म ७० प्रतिशत काम सकिएको छ । सिक्टा नहर बन्दा जिल्लाको ४३ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा हुन्छ ।

सिक्टामा अहिलेसम्म पुलसहितको ३ सय १२ मिटर मूल बाँध, ४५।२५ किलोमिटरको पश्चिम मूल नहर तथा पूर्वी नहरमा ४० प्रतिशत काम सम्पन्न, पश्चिमतर्फका शाखाहरुको करिव ४० प्रतिशत काम सम्पन्न भएका छन् । पहिलो चरणका काम सम्पन्न भएका छन् भने दोस्रो चरणका शाखा, प्रशाखामा ४० प्रतिशत काम भएका छन् ।

६ वर्षमा काम सक्ने भनिएको सिक्टाको काम लम्बिएको लम्बियै छ । डुडुवा नहरमा पप्पु कन्ट्रक्सनले बदमासी गरेकाले पनि सिक्टाको काम पछाडि धकेलिएको हो । डुडुवाको २४ किलोमिटरमध्ये १८ किलोमिटर पप्पुलाई ठेक्का परेको थियो । लामो समयसम्ममा पप्पुले ७ प्रतिशतमात्रै काम सकेपछि उसलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइयो ।

पप्पुले ३० करोडको दाबी गरेर अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा अहिले चलिरहेको छ । ठेकेदार कम्पनीले काम नगरेपछि नेपाल सरकारले उसलाई कारबाही गरेर जरिवाना तिराउनु पर्नेमा उल्टै काम नगर्ने ठेकेदारले आयोजनाको काम प्रभावित हुने गरी मुद्दामामला गरिरहेको छ ।

१२ अर्ब ८० करोड सुरुवाति लागत राखेर काम सुरु गरिएको सिक्टामा अहिलेसम्म १७ अर्ब ७३ करोड रुपैयाँ खर्च भइसकेको छ । आयोजनाको काम अझै ३० प्रतिशत बाँकी छ । आर्थिक वर्ष २०७८र७९ मा १।५३ अर्ब विनियोजन गरिएको छ ।

कमेन्ट्स
Loading...