सुचना, समाचार र मनोरन्जन

जसपा बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग, अध्यक्ष यादवको कार्यशैली माथि प्रश्न

जनकपुरधाम/

जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ। संघीय राजधानी काठमाडौँमा जारी जसपाको केन्द्रीय कार्यकारिणी समितिमा मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो। बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ।

जसपाको कार्यकारिणी समितिको बैठकमा पार्टी नेता एवं प्रदेशसभा सदस्य रामनरेश रायले पार्टीमा विनाकुनै छलफल मन्त्री हटाउने तथा नियुक्त गर्ने खेल चलिरहेको आरोप लगाउँदै अध्यक्ष यादवको कार्यशैलीको आलोचना गरेका थिए। उनले मुख्यमन्त्री राउतले राजीनामा गर्नुपर्ने मागसमेत गरेका थिए।

मुख्यमन्त्रीबाट बर्खास्त भएका नेता रायले आफूलाई पार्टीमा विनाकुनै छलफल हटाएकोमा आक्रोश व्यक्त गरेका थिए। मुख्यमन्त्री राउतमाथि भ्रष्टाचारको आरोप लागिरहेको समयमा उनले राजीनामा गर्नुको साटो मन्त्रीलाई हटाउनु उचित नरहेको जिकिर गरेका थिए।
कार्यकारिणी समितिको बैठकमा रायले भने, ‘मुख्यमन्त्रीले राजीनामा दिएर पार्टीको प्रतिष्ठा जोगाउनुपर्छ। अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरे पद स्वतः जाँदा पार्टीको प्रतिष्ठामा आँच आउँछ।’

पार्टीको नेतृत्वले समयमै उपयुक्त कदम नचाले पार्टीमाथि आघात पुग्नसक्ने अवस्था आउने उनको भनाइ थियो। बैठकमा संघीय अध्यक्ष डा बाबुराम भट्टराई र महेन्द्र यादव पक्षधर केही नेताहरुले समेत मुख्यमन्त्री राउतको राजीनामा माग गरेको बैठकमा सहभागी एक केन्द्रीय नेताले जानकारी दिए।

यता प्रदेश २ का सामाजिक विकासमन्त्रीसमेत रहेका नवलकिशोर साहले कार्यकारिणी समितिको बैठकमा राय आक्रोशमा आएर राजीनामाको माग गरे पनि त्यस विषयमा छलफल नभएको जानकारी दिए। बैठकमा मुख्यमन्त्री राउतले भने आफ्नो बचाउ गरेको एक कार्यकारिणी सदस्यले बताए।

बैठकले कार्यकारिणी समितिमा १२ जनालाई थप गर्ने निर्णय गरेको छ। कार्यकारिणी समितिमा ३३ प्रतिशत महिला पु¥याउन संख्या थप गर्न लागिएको हो। बैठकमा पूर्वमन्त्री राजकिशोर यादव, मुख्यमन्त्री लालबाबु राउत, अमृता अग्रहरी, नवराज सुवेदी, गंगा श्रेष्ठ, गजाधर यादवलगायतले आ–आफ्ना धारणा राखेका थिए।

जसपा कार्यकारिणी समितिको बैठक राजधानीमा जारी रहेको छ।

कमेन्ट्स
Loading...