सुचना, समाचार र मनोरन्जन

उत्तरी अन्नपूर्ण आधारशिविर पुग्ने पदयात्रा मार्गको आकर्षण बढ्दै

  •  
  •  
  •  
  •  

पोखरा ।

पछिल्ला बर्षहरुमा म्याग्दी स्थित उत्तरी अन्नपूर्ण आधार शिविर प्रबद्र्धनका कामहरु एकपछि अर्को गरी संचालन गरिएपछि यसप्रति पदयात्रीको आकर्षण बढ्न थालेको छ । दुई बर्ष अघि सोही जिल्लाको अन्नपूर्ण गाउँपालिकाले नेपाल पर्यटन बोर्डसँग मिलेर यो मार्गको औपचारिक प्रबद्र्धन गरेको थियो भने त्यसअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले समेत यसको पहिचानका लागि काम गरेको थियो । पछिल्लोपटक केही महिना अघि ट्रेकिङ एजेन्सिज एशोसिएशन नेपाल (टान) पश्चिमाञ्चल संघले यो मार्गको प्रबद्र्धन गरेको थियो । २०६८ सालमा स्थानीय वासिन्दाले समेत यो मार्गको पहिचानमा पहिलो पहल थालेका थिए ।

अन्नपूर्ण गाउँ पालिका र टान पश्चिमाञ्चल संघले सो मार्गको नक्सा र ब्रोसर छापेर विभिन्न कार्यक्रममा वितरण समेत गर्दै आएका छन् । यसले पनि सो मार्गप्रति चासो बढ्न पुगेको टान पश्चिमाञ्चल संघका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए । संसारको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण हुनु तीन वर्ष पूर्व ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल फ्रान्सेली नागरिक मौरिस हर्जोग र उनको टिमले पहिलोपटक सफल आरोहण गरेको थियो ।

सन् १९५० जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण गरेका उनै हर्जोगको पाइला पच्छाउँदै सो मार्गमा खोज तथा प्रबद्र्धन कार्य अगाडि बढाइएको अन्नपूर्ण गाउँपालिकाका म्याग्दीका प्रमुख क्याप्टेन डमबहादुर पुनले जानकारी दिए । अन्नपूर्ण क्षेत्र अन्तर्गत समुन्द्र सतहबाट ४१९० मिटर उचाईमा अवस्थित उक्त आधार शिविरलाई अन्नपूर्ण नर्थ बेस क्याम्प भनेर चिन्ने गरिएको छ । फ्रान्सेली नागरिक हर्जोगले म्याग्दीको अन्नपूर्ण नर्थ वेस क्याम्पबाट सो हिमालको आरोहण गरेपनि दक्षिणपट्टि रहेको कास्कीको अन्नपूर्ण आधार शिविर बढी चर्चित बन्न पुगेको छ । अन्नपूर्ण नर्थ वेसक्याम्पलाई पनि बढी भन्दा बढी पर्यटक पुग्ने स्थलका रुपमा विकास गर्न प्रबद्र्धन अभियान अगाडि बढाइएको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिए ।

उक्त आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ मा अवस्थित छ । सोही वडामा रहेको नारच्याङबाट उत्तरी आधार शिविरको पदयात्रा सुरु हुन्छ । एक हप्ता लामो यो पदयात्रा पूर्णतया क्याम्पिङमा आधारित हो । नेपालीहरु भने यात्रा अवधि छोट्याएर तीन चार दिनमा नै यो मार्गको पदयात्रा सम्पन्न गर्न सक्छन् । नारच्याङ गाउँबाट लेकगाउँ, छोटेपा, हुमखोला, साँधिखर्क, भुस्केट मेला हुँदै आधार शिविर पुग्न सकिन्छ । मौरिस हर्जोगले पदयात्रा गरेको र अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ऐ्तिहासिक मार्ग भएका कारण यो मार्गको ठूलो महत्व रहेको पदयात्रा व्यवसायी रामचन्द्र अधिकारीले बताए । हर्जोगका कारण फ्रान्सेली लगायतका पर्यटक आकर्षित हुनेमा कुनै शंका नरहेको उनले सुनाए ।

आधार शिविरमा एउटा हिमताल पनि रहेको छ । यो ताल झण्डै एक किलोमिटर लामो छ भने चार सय मिटर चौडा रहेको छ । विहानको समयमा चिसोले तालको पानी जमेर वरफ बन्दा त्यसमाथि पैदलयात्रा समेत गर्न सकिन्छ । तालको धार्मिक महत्व समेत भएका कारण धार्मिक पर्यटक आकर्षित हुने क्रम देखिएको व्यवसायीले बताए । आधार शिविसरमा पुग्ने मार्ग असहज हुँदा आरोहीहरु सिधै हेलिकोप्टरमा आएर अन्नपूर्ण प्रथम हिमाल चढ्ने गरेका छन् । यो आधार शिविर पनि अन्नपूर्ण क्षेत्र अन्तर्गत नै पर्छ । पदयात्रा मार्ग र ताल क्षेत्रमा पूर्वधार विकास तथा प्रबद्र्धनका लागि केन्द्र सरकारका तर्फबाट थप तदरुकता देखाउन जरुरी भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङका अध्यक्ष चन्द्रप्रसाद फगामीले बताए । विभिन्न खालका गुफा, फुतफुते झरना, नारच्याङ झरना, हरियाली जंगल, विभिन्न जंगली जनावर र आकर्षक हिमाली दृष्य यो मार्गका विशेषता रहेका छन् ।

नारच्याङबाट दोभान–छोटेपा हुँदै हुमखोला जोड्ने सडक निर्माण भएपछि भने यात्रा अवधि छोटिन पुगेको छ । नारच्याङबाट छोटेपा र छोटेपाबाट हुमखोला दुई दिन हिँड्नुपर्ने बाटो अहिले मोटर चढेर दुई घण्टामा पार गर्न सकिने भएको छ । पर्यटन विभागले रु दुई करोड ५० लाखभन्दा बढीको लागतमा गत आर्थिक वर्षमा हुमखोलाबाट आधार शिविर पुग्ने मार्गको स्तर उन्नती पनि गरेको थियो ।

अन्नपूर्ण (नारच्याङ) ताल । तस्वीर : परिचय ।

 

कमेन्ट्स
Loading...