सुचना, समाचार र मनोरन्जन

बालबालिकासम्बन्धी कानुन कार्यान्वयन गर्न हुम्लाका सबै स्थानीय तह प्रतिबद्ध

सिमकोट/

हुम्लाका सातवटै गाउँपालिकाले बालबालिकासम्बन्धी कानुन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र सामाजिक विकास शाखाका प्रमुखहरुले उक्त प्रतिबद्धता जनाएका हुन्।

सिमकोट गाउँपालिका महिला तथा बालबालिका इकाईकी अधिकृत ममता महतले स्थानीय तहमा बाल सबलीकरण, संरक्षण तथा सेवा प्रवाहसम्बन्धी अन्तरक्रियामा सहभागी सात वटै गाउँपालिकाबाट नौबुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको बताइन्।

उनले स्थानीय तहहरुको यो कार्यले बालबालिकाका कार्यहरु स्थानीय तहमा अगाडि बढाउन सघाउ पुग्ने विश्वास व्यक्त गरिन्। यसरी स्थानीय तहहरुले बालबालिकासम्बन्धी कानुनको व्यवस्था गर्ने कार्यमा प्रतिबद्धता जनाएका बुँदाहरुमा स्थानीय तहमा बालअधिकार संरक्षण तथा प्रवर्द्धन कार्यविधि निर्माण गर्ने, बालबालिका ऐनबमोजिम विशेष संरक्षणको आवश्यकता भएको रहेका छन्।

त्यस्तै बालबालिकाविरुद्धको कसुरबाट पीडित भएका बालबालिकाको पहिचान गर्ने, उनीहरुको तत्थ्याङ्क संकलन तथा अभिलेखीकरण गर्ने, जिल्लामा प्रमुख समस्याका रुपमा रहेको बालविवाह र बालबालिका ओसारपसारमा न्यूनीकरण ल्याउने, जिल्लामै गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्यको व्यवस्था गर्ने, कानुनविपरीत बालबालिकालाई संस्थागत रुपमा बाहिर नपठाउन सिफारिस नगर्ने प्रतिबद्धता जनाएका छन्।

अन्य प्रतिबद्धता जनाएका बुँदाहरुमा जोखिममा परेका बालबालिकाका लागि उद्धार संरक्षण र व्यवस्थापनका लागि हेल्पलाइन सेवा सञ्चालन गर्ने, जिल्लामा बालबालिकाका क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससहरुको उपलब्ध सेवाहरुको नक्साङ्कन तथा समन्वय गर्ने, बालबालिका खोजतलास सेवा १०४ लाई थप प्रभावकारी बनाई हराएका बालबालिकाको खोजतलास, उद्धार, संरक्षण र व्यवस्थापनका लागि कटिबद्ध रहने, स्थानीय तहमा बाल अधिकार संरक्षण प्रणाली स्थापना गर्ने रहेका छन।

प्रतिबद्धता जनाएका बुँदाको कार्यन्वयनका लागि हालसम्म जिल्लामा बालबालिका क्षेत्रमा काम गर्दै आएका नियाको प्राविधिक सहयोग र समन्वयमा रचनात्मक कार्य अगाडि बढाउने प्रतिबद्धतासमेत गरिएको अधिकृत महतले बताइन्।

दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाकी उपाध्यक्ष सौमती ऐडीले बालबालिकासम्बन्धी थोरै कानुन निर्माण भएको र अब आवश्यक सबै कानुन निर्माण गरेर कार्यान्वयन गर्ने बताइन्। उनले स्थानीय तहमा बाल सवलीकरण, संरक्षण तथा सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएकी हुन्।

बालबालिकाका लागि प्रतिबद्धता जनाउनेमा सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष रुपा शाही, अदानचुलीका उपाध्यक्ष ऐडीलगायत रहेका छन्।

कमेन्ट्स
Loading...