सुचना, समाचार र मनोरन्जन

जसपा सांसद यादव निष्काशित

  •  
  •  
  •  
  •  

काठमाडौँ/

जनता समाजवादी पार्टी नेपालले संघीय सांसद प्रदीप यादवलाई केन्द्रीय समिति सदस्यबाट निष्काशन गरेको छ। तीन दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सांसद यादवलाई केन्द्रीय सदस्यबाट निष्काशन गरेर कारबाही गरेको हो।

शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिमण्डल विस्तार हुँदा यादवलाई मन्त्री नबनाएको भन्दै पर्सा वीरगञ्जलगायतका स्थानमा अध्यक्ष उपेन्द्र यादवको पुतला दहन भएको थियो। सो पुतला दहन सांसद यादवको निर्देशनमा भएको भन्दै यादवलाई कारबाही गरिएको हो।

‘प्रदीपजीलाई कारबाही गर्नु हुन्न भनेर अधिकांशले मत राख्दाराख्दै पनि केन्द्रीय सदस्यबाट निष्काशन गर्ने निर्णय कार्यकारिणी समितिको बैठकले लिएको छ’, एक कार्यकारिणी सदस्यले भने।

उनका अनुसार मोहम्मद इस्तियाक राई, राजकिशोर यादव, रमेश यादवलगायत अधिकांश नेताले कारबाही नगर्न आग्रह गर्दा पनि अध्यक्ष उपेन्द्र यादवको जोडबलमा कारबाहीको निर्णय लिइएको हो।

कार्यालय सचिव प्रकाश अधिकारीले पेस गरेको छानबिन समितिको प्रतिवेदनको आधारमा यादव केन्द्रीय सदस्यबाट निष्काशनमा परेका हुन्। यादवले दिएको प्रस्टीकरण चित्त नबुझेपछि अध्यक्ष यादवले कारबाही गरेका हुन्।

सांसद यादवलाई साधारण सदस्यबाट नै निष्काशन गर्ने प्रस्ताव गरे पनि अन्य नेताको विरोधपछि केन्द्रीय सदस्यबाट मात्रै तत्कालका लागि निष्काशन गरिएको एक नेताले बताए। त्यसो त सांसद यादव यसअघि पनि कारबाहीमा परिसकेका हुन्। स्वतन्त्र तिब्बत पक्षधरले युरोपेली मुलुक लात्भियामा आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीले उनलाई निलम्बन गरेको थियो।

बैठकले वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरागवीलाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ भने १६ जना केन्द्रीय कार्यकारिणी थप गर्ने निर्णय पनि बैठकले लिएको छ।

कमेन्ट्स
Loading...