सुचना, समाचार र मनोरन्जन

युवा अवस्थामा हृदयाघातको मुख्य कारण धूमपान

‘दैनिक जीवनशैलीमा भएको परिवर्तन र अव्यवस्थित खानपानका कारण पछिल्लो समय अधिकांश मानिसमा मुटुरोगको समस्या देखिन थालेको छ। र, यो नै मानिसको मृत्युको पहिलो कारण बन्ने गरेको छ’, सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारीले भने।

नेपालमा मुटुरोगका बिरामीको यकिन तथ्यांक छैन। तर, बर्सेनि सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र पुग्ने बिरामीको संख्या भने बढ्दो छ।

डा। अधिकारीका अनुसार सन् २००७ को अनुसन्धानले मुटु रोगबाट हुने मृत्युको प्रमुख कारण हृदयाघात भएको देखाएको थियो। २०१७ मा आइपुग्दा तथ्यांक घट्न सकेको छैन। करिब १० वर्षको अवधिमा मुटु रोगका कारण हुने मृत्युमा हृदयाघात ४६ प्रतिशत देखिएको थियो।

गंगालाल अस्पतालमा मुटुका बिरामी रिफर भएर आउने गरेका छन्। अस्पतालमा आएका बिरामीको अध्ययन गर्दा सन् २०११ देखि २०१५ सम्म हृदयाघात भएर आउने संख्या ४० प्रतिशतले बढेको देखिएको उनले बताए।

उनले भने, ‘२०१२ मा गरिएको एक अध्ययनमा ४९५ जना हृदयाघात भएका बिरामी थिए। पुनः हामीले सन् २०१८ मा अध्ययन गर्‍यौँ, त्यो बेला हृदयाघात भएर आउने बिरामीको संख्या १ हजार ४६० पुग्यो। ६ वर्ष अवधिमा तीन गुणाले बढेको देखिन्छ। यो अनुपातमा हृदयाघातका बिरामी बढिरहेका छन्। यो गंगालाल अस्पतालको मात्रै तथ्यांक हो। हाम्रो अस्पतालमा मात्रै एक दिनमा युवा उमेरका चार जना हृदयाघात भएर अस्पताल आउने गर्छन्।’

नेपालमा प्रत्येक वर्ष १५ हजार हृदयाघातका बिरामी थपिएका उनले बताए।

‘नेपालमा नसर्ने रोगका बिरामी संख्या बढ्दो छ’, डा। अधिकारीले भने, ‘नेपालमा मुटुरोग र हृदयाघातको प्रमुख कारक तत्व धूमपान हो।’

सुर्तीजन्य पदार्थको सेवनले बर्सेनि धेरैले ज्यान गुमाउने गरेको विभिन्न अध्ययनले देखाएका छन्। यसको रोकथामका लागि सरकारले ऐन बनाएको छ। तर, सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेका ऐन प्रभावकारी रूपमा कार्यान्वयन भने हुन नसकेको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले बताए।

उनले भने, ‘यदि सामाजिक अभियानमा बढी ध्यान दिने र बनेको कानुन कार्यान्वयनमा जोड दिने हो भने सुर्तीजन्य पदार्थको सेवन घटाउन सकिन्छ।’

सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन २०६८ संशोधितले यसको प्रयोगलाई निधेष गर्नेतर्फ ध्यान दिएको छ। तर, अहिलेसम्म यो कार्यान्वयन प्रभावकारी भने हुन सकेको छैन।

सुर्तीजन्य पदार्थको प्याकेटमा राखिने चित्रले ९० प्रतिशत क्षेत्र ओगट्नुपर्नेमा त्यसको प्रभावकारी कार्यान्वयन नभएको उनले बताए।

‘सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीले आफ्नो उत्पादनका बाहिरी खोलमा ९० प्रतिशत सन्देशमूलक चित्र अंकित नगरी स्वदेश तथा विदेशमा बिक्री वितरण गर्न नहुने बाध्यात्मक प्रावधान छ’, चन्दले भने, ‘केहीले गरे पनि अझै प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। यसको प्रयोगलाई पूरै निषेध गर्नुपर्छ।’

यस्तै, सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ तर अहिले पनि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण भइरहेको पाइन्छ।

सुर्तीजन्य पदार्थको सेवनबाट विश्वभर बर्सेनि ७० लाखभन्दा बढी मानिसको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ। यो संख्या सन् २०३० सम्म ८० लाख पुग्ने संगठनले जनाएको छ।

विश्वमा हरेक मिनेटमा एक करोड खिल्ली चुरोट बिक्री हुने गर्छ। विश्वमा हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गर्छ भने हरेक १० जनामध्ये एक वयस्कको मृत्यु चुरोट सेवनले हुन्छ।

सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्ये एक जनाको मृत्यु हुने अनुमान गरिएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले मासिक रूपमा कम्तीमा दुई अर्ब रुपैयाँ नेपालीले चुरोटको धुवाँमा उडाउने गरेको उल्लेख गरे।

उनले भने, ‘अर्बौं रुपैयाँ उडाउनेभन्दा बढी मानवीय क्षति भइरहेको छ।’

नेपालमा नसर्ने रोग नियन्त्रण गर्न सुर्तीजन्य पदार्थमा नियन्त्रण गर्नुपर्ने विश्व स्वास्थ्य संगठनकी नसर्ने रोग विभागकी डा। लोनिम दीक्षित बताउँछिन्।

उनी भन्छिन्, ‘नेपालमा विपन्न परिवारका व्यक्तिले धूमपान गरिरहेको सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने र अर्को कुरा मल्टी सेक्टोरल अप्रोचबाट सबैले प्लेन प्याकिजङतर्फ जान सहयोग गर्नुपर्छ।’

‘यदि ५० वर्षभन्दा कम उमेरका मानिसले चुरोट सेवन गर्छ भने उसलाई हृदयाघात हुने सम्भावना चुरोट नखाने मानिसको तुलनामा ८ गुणाले बढी हुन्छ। त्यसैगरी, ५० देखि ६५ वर्षसम्म पाँच र ६५ वर्षभन्दा माथि तीन गुणाले बढ्छ।’ जति सानो उमेरमा चुरोट खान सुरु गरिन्छ, त्यति नै बढी हृदयाघात हुने सम्भावना हुने उनको भनाइ छ।

नेपालमा चुरोट सेवन गर्ने मानिसको संख्या घट्न नसकेको विज्ञहरूले बताएका छन्। युवा अवस्थामै चुरोट खान सुरु गरेका कारण २० देखि २५ वर्षको उमेरमै हृदयाघात भएर अस्पताल पुग्ने गरेको डा। अधिकारी बताउँछन्। युवा अवस्थामा हृदयाघातको प्रमुख कारण धूमपान देखिएको छ।

उनका अनुसार पुरुषको तुलनामा महिलाले बढी चुरोट खाने गरेका छन्। ‘दक्षिण एसियामा हृदयाघात हुने प्रमुख समूहमा नेपाली पनि पर्छौं उमेर, वंशाणुगत र महिलाको तुलनामा पुरुषलाई बढी हुने सम्भावना हुन्छ। परिवर्तन गर्न सकिने प्रमुख कुरा धूमपान हो’, डा। अधिकारीले भने, ‘यदि ५० वर्षभन्दा कम उमेरका मानिसले चुरोट सेवन गर्छ भने उसलाई हृदयाघात हुने सम्भावना चुरोट नखाने मानिसको तुलनामा ८ गुणाले बढी हुन्छ। त्यसैगरी, ५० देखि ६५ वर्षसम्म पाँच र ६५ वर्षभन्दा माथि तीन गुणाले बढ्छ।’ जति सानो उमेरमा चुरोट खान सुरु गरिन्छ।, त्यति नै बढी हृदयाघात हुने सम्भावना हुने उनको भनाइ छ।

एक अध्ययनका अनुसार १८ देखि ३९ वर्षसम्मका चुरोट खाने महिला र पुरुषलाई हेर्दा चुरोट खाने महिलालाई १३ गुणा हृदयाघात हुने सम्भावना हुन्छ। यसमा पनि परिवार नियोजनको चक्की र चुरोट खाने माहिलालाई हृदयाघात हुने सम्भावना एकदमै बढी हुने डा। अधिकारी बताउँछन्।

यस्तै, सन् २०१२ मा गंगालाल अस्पताल आएका बिरामीको हिस्ट्री लिँदा हृदयाघात भएर आएका ४९५ मानिसमा ९७।८ प्रतिशतले धूमपान गरेको पाइएको थियो। त्यही कुरालाई सन् २०१८ मा हेर्दा धूमपान गरेका ५७ प्रतिशत मानिसलाई हृदयाघात भएको पाइएको छ।

डा। अधिकारीका अनुसार हृदयाघात हुने बिरामीको आयु अमेरिकाको तुलनामा दक्षिण एसियामा १० वर्षले घटिरहेको छ।

पहिला–पहिला ४० वर्षमुनिका हृदयाघात भएका मानिस अस्पताल आउँदैनन् भन्ने गरे पनि अहिले ४० वर्षभन्दा कम उमेरका मानिसमा हृदयाघात भइरहेको छ।

गंगालाल अस्पतालले सन् २०१२ को जुनदेखि २०१३ को जुनसम्म हृदयाघात भएर आएका बिरामीको अध्ययन गर्दा यसको सबैभन्दा बढी कारक तत्त्व धूमपान भएको भेटिएको थियो। जसमा ६४ प्रतिशतले चुरोट सेवन गरेको पाइएको थियो।

यसैगरी, २०१५ देखि २०१६ सम्मको अध्ययनमा ४५ भन्दा कम उमेरका १२ प्रतिशतलाई हृदयाघात भएको अस्पतालको तथ्यांकले देखाएको छ। ती १२ प्रतिशत ९१३२० मा ११० जना पुरुष र २२ महिला छन्। जसमा करिब ७० प्रतिशतले चुरोट खाने गरेको पाइन्छ।

‘२० प्रतिशत मानिसको कारक तत्त्व ‘धूमपान’ छ भन्नुको मतलव १३२ जनामध्ये २७ जनामा हृदयाघात हुनुको एक मात्र कारण धूमपान छ’, डा. अधिकारीले भने।

पहिलो पटक हृदयाघात भएकामध्ये २३ प्रतिशत बिरामीको मृत्यु अस्पताल पुग्नुअगाडि नै हुने गरेको विज्ञहरूले बताएका छन। अन्तर्राष्ट्रिय तथ्यांकअनुसार हृदयाघात भएर अस्पताल भर्ना भएका करिब १३ प्रतिशतको मृत्यु हुने गरेको छ।

नेपालमा यकिन तथ्यांक नभए पनि अस्पताल भर्ना भएका ७ प्रतिशतको मृत्यु हृदयाघातबाट हुने गरेको डा। अधिकारी बताउँछन।

उनले भने, ‘यो तथ्यांकलाई मान्ने हो भने हृदयाघात भएपछि ३० प्रतिशत मानिस घर फर्किएर जाँदैनन्। सबैले बुझ्नुपर्नेचाहिँ यो छ कि हृदयाघात नै हुन नदिनु ठूलो कुरा हो। हृदयाघात भएपछि धेरै जनाको मृत्यु हुन्छ। उपचार पनि महँगो छ। शल्यक्रियाका लागि सरकारले ठूलो सहयोग गरेको छ। तैपनि, बिरामीले जिन्दगीभर औषधि खानुपर्ने हुन्छ। त्यसैले हृदयाघात हुनबाट कसरी बच्ने भन्नेमा सबैले ध्यान दिन अत्यन्तै जरुरी छ।’

यस्तै, सुर्तीजन्य पदार्थको सेवन रोक्न सकेको खण्डमा एक वर्षमा हृदयाघात हुने सम्भावना ५० प्रतिशतले कम हुने डा। अधिकारीको भनाइ छ।

कमेन्ट्स
Loading...