सुचना, समाचार र मनोरन्जन

ओलीको व्यस्तताका कारण महाधिवेशनको बन्दसत्र सुरु हुन सकेन

सौराह/

अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ नेतृत्व चयन गर्ने सर्वाधिकार दिएको एमालेका महाधिवेशन प्रतिनिधिहरु अहिले बेकामे भएका छन।

आइतबार बिहान १० बजे सुरु हुने भनिएको महाधिवेशनअन्तर्गतको बन्दसत्र अध्यक्ष ओलीले फुर्सद नपाउँदा अहिलेसम्म सुरु हुन सकेको छैन। जसले गर्दा महाधिवेशन प्रतिनिधिहरु सौराहको सेभेन स्टार होटल परिसरको बन्दसत्र हलमा शीर्ष नेताहरु आउने प्रतिक्षा गरिरहेका छन।

अध्यक्ष ओली भने सर्वसम्मत नेतृत्व चयन गर्न आकांक्षी नेताहरुलाई भेटेर मनाउन बिहानैदेखि व्यस्त छन्। उनी केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका आकांक्षी नेताहरुलाई मिलाएर नेतृत्व चयनको प्रयासमा व्यस्त छन। अध्यक्ष ओली नेताहरुलाई व्यक्तिगत रुपमा भेटेर मनाउने प्रयासमा लाग्दा बन्दसत्रमा जान पाएका छैनन। उनी बन्दसत्रस्थल सेभेन स्टार होटलभन्दा एककिलोमिटर दूरीको पार्क सफारी रिसोर्टमा नेताहरुसँग निरन्तर संवादमा छन।

अझै नेताहरुसँगको भेटघाट एवं संवादको क्रम सकिएको छैन। आकांक्षी नेताहरुको लर्कोको कारण अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावललाई समेत भेट्न पाएका छैनन।

उनले आइतबार बिहान विष्णु पौडेल, ईश्वर पोखरेल, मओवादी केन्द्रबाट आएका लेखराज भट्ट र माओवादीबाटै आएका अन्य नेताहरुसँग भेट गरिसकेका छन। त्यस्तै भीम रावलबाहेक १० बुँदे सहमतिपछि एमालेमा फर्किएका नेताहरुसँग समेत भेट गरिसकेका अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षका आकांक्षी सुवास नेम्बाङसँग भेट गरेका छन ।

अध्यक्ष ओलीसँग भेट गरेर निस्किएका नेम्बाङले सर्वसम्मत नेतृत्व चयन गर्नेबारे कुनै सहमति भइनसकेको जानकारी दिए। उनले सहमतिको प्रयास जारी रहेको प्रतिक्रिया दिए।

‘सहमति भइसकेको छैन’, नैम्बाङले भने, ‘छलफल जारी छ।’ ओलीले एकपछि अर्को नेता भेट्दै बन्दसत्रको समय घर्काइरहेका छन।

कमेन्ट्स
Loading...