पोखरा ।
कास्कीको उत्तरपूर्वी पर्यटकीय गाउँ सिक्लेस घुम्न पुग्ने पाहुनाको ताँती लागेपछि सेवा प्रवाहमा भ्याई नभ्याई भएको स्थानीय व्यववसायीले बताएका छन् । समुन्द्र सतहबाट दुई हजार मिटर उचाईमा रहेको यो सुन्दर बस्तीमा कोभिड केही मत्थर हुँदै जाँदा आगन्तुकको भिड लागेको न्यू सिक्लेस होटल एण्ड गेष्ट हाउसका संचालक सुरेन्द्र गुरुङले जानकारी दिए ।
दैनिक दुई सय भन्दा बढी पाहुनाले अहिले सिक्लेसमा रात विताउने गरेका छन्, गुरुङले भने– शुक्रबार र शनिबार त पाँच सय जति पाहुना एकै रातमा गाउँमा बस्ने गरेका छन् । सिक्लेसका २१ घरमा होमस्टे सुविधा छ भने खाना बस्ने सुविधा भएका २५ वटा होटलहरु रहेका छन् । क्षमताले नधान्दा यी बाहेक अन्य घरमा समेत पाहुनाहरु बस्ने गरेका छन् ।

विशेषगरी काठमाडौं, वुटवल, भैरहवा जस्ता शहरबाट सिक्लेसमा आन्तरिक पाहुना पुग्ने गरेका छन् । तिहारपछि पिकनिक खाना पोखराबाट समेत दैनिक मानिसहरु जाने गरेको व्यवसायीले जानकारी दिए । कतिपय पर्यटक भने सिक्लेसबाट आठ घण्टा परेका कफुचे हिमतालसम्म समेत पदयात्रामा जाने गरेका छन् । कफुचे ताल संसारकै होचो उचाई (२,४२६ मि) मा रहेको हिमताल भएको र यसलाई स्थानीयले भर्जिन आइस लेकको रुपमा प्रचार गरिरहेको नमस्ते गेष्ट हाउस सिक्लेसका संचालक धन गुरुङले बताए ।
सिक्लेसबाट सातघण्टा पैदलयात्रामा पुगिने पुरानो गोठ संस्कृतिको जिवित नमुना हुगु र त्यहाँबाट एक घण्टा परेको कफुचे ताल नजिक पनि सामान्य होटलहरु निर्माण गरिएका छन् । हुगुमा तीन र कफुचे ताल नजिक तीन गरी ६ होटल यहाँ छन् । त्यहाँ दैनिक ६० देखि दुई सय सम्म पदयात्री दैनिक पुग्ने गरेको सुरेन्द्रले बताए । हुगुमा थप गोठहरु समेत रहेका छन् ।
सिक्लेसमा पाहुना बढ्दा आफूहरुलाई खुसी लागेको १५ नम्बर होमस्टेकी संचालक सेसुबा गुरुङले सुनाइन् । आज पनि पाहुनाहरु आउँदै छन्, उनीहरुको प्रतिक्षमा बसेकी छु, आइतबार उनले सुनाइन् । गाउँ पुग्ने पाहुना मध्ये होमस्टे र होटल दुबै तिर बस्ने गरेका छन् ।
केही बर्ष अघिसम्म मादी– १ को यो गाउँमा सीमित मात्र होटल थिए भने होमस्टेको सुरुवात नै भएको थिएन । त्यहाँ पुग्ने विदेशी पर्यटकहरु क्याम्पिङ गरेर टेण्टमा रात बिताउँथे भने नेपालीहरु स्थानीयकोमा दुःखसुख समय कटाउँथे । कास्कीकै घलेखर्कबाट तारा हिलटप हुँदै सिक्लेस जोड्ने पुरानो मार्ग पर्यटकमाझ लोकप्रिय हुन थालेपछि सिक्लेसले पर्यटनको स्वाद चाख्न थालेको हो ।
महेश गुरुङ र इमान गुरुङ जस्ता अन्य थुप्रै जोशिला युवा अहिले यहाँ होटल व्यवसायमा आबद्ध छन् । पोखराबाट ४४ किलोमिटर कच्चीबाटो छिचोलेर गाउँ पुग्न सकिन्छ । शीतल मौसम, ढुंगाले छाएका घरहरु, ढुंगाकै पुराना सिढी, अर्गानिक खाना, मिठो अतिथि सत्कार र गुरुङ संस्कृति गाउँका विशेषता भएको होटल गुरुङ कटेजका इमान गुरुङको भनाई छ । अन्नपूर्ण दोस्रो हिमालको काखमा रहेको सिक्लेसबाट हिमपहिरोको दृष्यावलोकन गर्न र त्यसको आवाज सुन्न सकिन्छ । सिक्लेसको महत्वपूर्ण विशेषतामध्ये हिमपहिरोको दृष्य रहेको होटल संचालक सुरेन्द्र गुरुङले बताए ।
चरा अवलोकन, हरिया डाँडा, भीर माहुरी, तातोपानीकुण्ड र इदी झरना जस्ता सुन्दर आकर्षण पनि सिक्लेस र वरपरका विशेषता हुन् । गाउँ माथिको पार्क, गाउँमै रहेको संग्रहालय र गाउँविचको भ्यूटावर पनि पर्यटक माझ लोकप्रिय छन् । पोखराको काहुँखोलाबाट जीप वा बसमा चार घण्टाको यात्रा पछि चार सय घर भएको यो गाउँ पुग्न सकिन्छ ।
गुचुमुच्च घरले सजिसजाउ यो गाउँमा आमा समूहहरु सरसफाईमा सक्रिय छन् । गुरुङ जातिको उद्गमस्थल मानिएको क्होला सोथर र पवित्र धाम दूधपोखरी पनि सिक्लेसबाट नै जान सकिन्छ । समुन्द्र सतहबाट चार हजार आठ सय ५० मिटर अग्लो नामुन ला अर्थात् नामुन भञ्ज्याङ पार गरेर मनाङको तिमाङ पुग्ने पदयात्रा पनि यही गाउँबाट सुरु गर्न सकिन्छ ।
गाउँ नजिकबाट पर्यटकीय डाँडो कोरि सम्म केवलकार चलाउने योजना पनि मादी गाउँपालिकाले अगाडि सारेको छ । पोखराको काहुखोला, ढाडबेसी, छाचोक, थाक, तप्राङ, चिप्ली, पार्चे हुँदै सिक्लेस जान सकिन्छ । गुरुङ भाषामा चिली नासा भनेर चिनिने यो गाउँ नेपालकै ठूलो बस्ती भएको दाबी सिक्लेसीहरु गर्छन् ।