सुचना, समाचार र मनोरन्जन

एमालेमा अब केपी ओलीको डनवाद मात्रै बाँकी छः गगन थापा

काठमाडौँ/

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ‘ओली सेसन’ चलिरहेको टिप्पणी गरेका छन्।

आइतबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ओली सेसन चलिरहेको बताएका हुन।

उनले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको बताए। उनले नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको डनवाद सुरु भएको आरोप लगाए।

नेता थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका कामहरु हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको भन्दै ओलीको आदर्शपुरुष हुन सेन रहेको आरोप लगाए। हुन सेनको विरुद्धमा लेख्ने र बोल्नेले आफ्नो काम छोडेर बिदा हुनुपरेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लेखिटिने बताए।

नेता थापाले भने, ‘बन्दसत्र कस्तो भइरहेको रहेछ भनेर जान्न चासो लाग्यो। त्यो पनि बन्द सेसन होइन, एक प्रकारले ओली सेसन नै चलिरहेको थियो। मैले बिहान जे भनेको थिएँ, कि नारायणीको किनारमा त्यहाँ कोही पनि मानिस स्वतन्त्र भएका छैनन्। त्यहाँ प्रतिस्पर्धा चलिरहेको छ। त्यो प्रतिस्पर्धामा भाग लिन्न भनेर एक जना उठेछन्, भीम रावल। भीम रावलले झन्डै कुराइ खाएर, झन्डै पिटाइ खाएर अहिले प्रहरीले भीम रावल बसेको होटललाई सुरक्षा दिइरहेको अवस्था छ। विधिवत रुपमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट हिजोदेखि जनवाद सकियो, त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ।’

थापाले थपे, ‘तत्कालीन प्रधानमन्त्री केपी ओलीको आदर्श पुरुष कम्बोडियाका प्रधानमन्त्री हुन सेन हो। हुन सेन गएको २० औँ वर्षदेखि कम्बोडियाको प्रधानमन्त्री हुनुहुन्छ। कम्बोडियामा प्रजातन्त्र छ, प्रेस पनि छ, अदालत, अख्तियार सबै छ, चुनाव पनि हुन्छ। २५ वटा कम्बोडियाको पार्टीले चुनावमा भाग लियो। चुनावमा भाग लिनुभन्दा केही समयअघि मात्रै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई राजद्रोहको मुद्दा लगाइदिए।

त्यो पार्टीले अर्को नेता चुन्यो, उसलाई जेल हालियो। तैपनि पार्टीले चुनावमा भाग लिन्छु भन्दा पार्टीलाई प्रतिबन्ध लगाइयो। १२५ निर्वाचन क्षेत्रमा २५ पार्टीले भाग लिँदा हुनसेनको पार्टीले १२५ सिटमा नै जित निकाल्यो। कम्बोडियामा प्रेस छ, तर हुन सेनको खिलाफमा लेख्ने प्रेस भीम रावललाई लखेटिएको जस्तै लखेटिन्छ। उसको विरुद्ध फैसला गर्ने न्यायाधीशले त्यही दिनबाट अदालत छोडेर जानुपर्छ।’

नेता थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने बताए। उनले १० औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने आरोप लगाए। नेता थापाले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने ल्याकत कांग्रेसले राख्नु पर्ने बताए।

कमेन्ट्स
Loading...