सुचना, समाचार र मनोरन्जन

एमाले केन्द्रीय कमिटीको सूची तयार, बन्दसत्रमा अन्तिम छलफल हुँदै

सौराहा/

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङसहितका नेताहरुले छलफल गरी ३२० जना केन्द्रीय सदस्यको सूची तयार पारेका छन।

तयार पारिएको केन्द्रीय सदस्यको सूची अध्यक्ष ओलीलाई देखाएर त्यसको प्रिन्ट निकालेर बन्दसत्रमा पेश गर्ने तयारी गरिएको छ।

उक्त सूचीमाथि अन्तिम छलफल गरी बन्दसत्रबाट सार्वजनिक गरिने छ।

त्यसक्रममा नेता पौडेलले सबै राम्रो भइरहेको बताएका थिए। वरिष्ठ उपाध्यक्ष र महासचिवमा कसरी सहमति हुँदैछ भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा पौडेलले भने, ‘सबै राम्रो भइरहेको छ। राम्रो हुन्छ। राम्रो हुनेवाला छ।’

उनले बन्दसत्र केही बेरमा सुरु हुने र छलफलपछि सूची सार्वजनिक गरिने बताए। नेकपा एमालेको १० औँ महाधिवेशन चितवनको सौराहामा जारी छ।

शुक्रबार चितवनको नारायणी नदी किनारमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र सौराहामा शनिबारबाट सुरु भएको थियो। तर पदाधिकारी तथा कन्द्रीय सदस्यमा सर्वसम्मतको प्रयास जारी रहँदा आइतबारको बन्दसत्र सुरु भएको छैन।

सर्वसम्मतिका लागि एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने सर्वाधिकार दिएको छ। पदाधिकारीमा ओली निकट नेताहरुबीचमै सहमति हुन नसकेपछि बिहान १०ः०० बजे सुरु हुने भनिएको बन्दसत्र सुरु हुन ढिलाइ भएको हो।

कमेन्ट्स
Loading...