सुचना, समाचार र मनोरन्जन

एमालेको १० औँ महाधिवेशनको बन्दसत्र साँझ ७ः०० बजेमात्रै सुरु हुने

सौराहा/

नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र आइतबार साँझ ७ः०० बजेमात्रै सुरु हुने भएको छ। बिहान १० बजेका लागि निर्धारित बन्दसत्र साँझ ७ः०० बजेका लागि सरेको अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्केपछि नेता गोकुल बास्कोटाले जानकारी दिए।

पदाधिकारीसहित ३२० सदस्यीय केन्द्रिय कमिटीमा सहमतिका लागि एमाले अध्यक्ष ओली दिनभरजसो नेताहरुसँगको छलफलमा व्यस्त रहे। पदाधिकारी छनौटको विषयमा सहमति जुट्न नसक्दा बन्दसत्र सुरु हुन ढिलाइ भएको हो।

शनिबारको बन्दसत्रबाट अध्यक्ष ओलीलाई पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने जिम्मा दिइएको थियो। तर त्यसप्रति अध्यक्षमा दाबेदारी पेश गरेका नेता भीम रावल र उपाध्यक्षमा दाबेदारी प्रस्तुत गरेका नेता घनश्याम भुसालले आपत्ति जनाएका थिए।

रावल र भुसालले सहमतिका नाममा निरंकुशता लाद्न खोजे स्वीकार्य नहुने बताउँदै आएका छन्।

ओलीलाई भेटेपछि नेता बास्कोटाले रावलले पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने टिप्पणी गरे। उनले भने, ‘भीम रावल एमालेमा हुनुहुन्छ। एमालेमा बस्नुहुन्छ। पार्टीले दिएको जिम्मेवारी पूरा गर्नुहुन्छ।’

यसैबीच अध्यक्ष ओलीसँग विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङसहितका नेताहरुले छलफल गरी ३२० जना केन्द्रीय सदस्यको सूची तयार पारेका छन्।

तयार पारिएको केन्द्रीय सदस्यको सूची अध्यक्ष ओलीलाई देखाएर त्यसको प्रिन्ट निकालेर बन्दसत्रमा पेश गर्ने तयारी गरिएको छ।

उक्त सूचीमाथि अन्तिम छलफल गरी बन्दसत्रबाट सार्वजनिक गरिने छ।

कमेन्ट्स
Loading...