सुचना, समाचार र मनोरन्जन
kumdini

फिलिपिनो मायालु नेपाली बुहारी

घनश्याम पौडेल /

                                                                                  परिचय फिचर…

पोखराको ड्यामसाइडमा चारजना फिलिपिनी महिला मिलेर खोलेको बेकरी कफीसप ‘बेक एण्ड टेक’ छ । फिलिपिनो ‘ब्रेड एन्ड स्नाक्स सप’ खोल्नुको पहिलो जस भने दिपक अधिकारीलाई जान्छ । एयरपोर्ट छेऊका दिपक अधिकारी आफ्ना २ छोरा स्कुलबाट आउने बित्तिकै आज के पढ्यौ बाबु भनेर अङ्ग्रेजीमा सोध्दै थिए । जेठा ८ वर्षीय डेभ गार्सिया अधिकारी र कान्छा डेनभर गार्सिया अधिकारी निकै मिठो अङ्ग्रेजी भाषामा उत्तर दिदै थिए । यी दुई बच्चाको बोली सुन्दा लाग्थ्यो उनीहरूको मातृ भाषा अङ्ग्रेजी हो । यथार्थ के रहेछ भने यी बच्चाकी आमा अर्थात् दिपक अधिकारीकी श्रीमती भेया गार्सिया अधिकारी फिलिपिनी नागरिक हुन्।

वैदेशिक रोजगारीमा गएका भेया र दिपक कुवेतमा भेट भएका थिए । सन् १९९९ मा कुवेत गएका दिपकले त्यहाँ एक इटालियन रेस्टुरेन्ट सेगाफ्रेडो जेनेती स्पाारेटोमा काम गर्थे । कामप्रतिको इमान्दारिता, भाषाको दक्षता र सिपको क्षमताले उनी त्यस रेस्टुरेन्टको म्यानेजर बने । त्यतिमात्र नभई त्यो फेन्चाइज रेस्टुरेन्टहरूका लागि नेपाल, भारत, श्रीलङ्का र फिलिपिन्सबाट कामदार खोजेर लानुपर्ने थप जिम्मेवारी पनि पाए । उता राम्रो अङ्ग्रेजी भएकी भेया गार्सिया स्नातक तहको अध्ययन सकेर कामका लागि फिलिपिन्सबाट कुवेत गएर काम खोज्दै थिइन । दिपकको फिलिपिनी एक साथीको माध्यमले भेयासँग परिचय भयो । उनीहरू एकै रेस्टुरेन्टमा सँगै मेनेजर र वेटरको रूपमा काम गर्न थाले । करिव दुई वर्षपछि दुईबिच जीवनसाथी बन्ने भन्ने एकिन गरेर कुवेतको कानुनअनुसार कागजात तयार गरेर सँगै बस्न थाले ।

केही समयपछि दिपकले आफूले गर्दै आएको मेनेजर पदको कार्य समेत भेयालाई सिकाएर मेनेजरको जिम्मा लगाए । उनी अझै राम्रो कम्पनीमा काम गर्न थाले । यो रमाइलो र आर्थिक उन्नतिको कामकै क्रममा अब बच्चा पनि चाहिन्छ भन्ने सोचेर सन २००८ मा नेपाल आई बिधिवत नेपाली परम्परामा बिबाह गरे । विवाहपश्चात् अधिकांश समय कुवेत बसे । केही व्यवसाय गर्न भनि फिलिपिन्स गए । करिव ४ वर्ष फिलिपिन्समा विभिन्न व्यापार व्यवसाय गरेपछि २ वर्ष अगाडी नेपाल आए । उनीहरूको परिवार नेपाल आउने वित्तिकै महामारी कोरोना आयो । बन्दाबन्दीका कारण यतै नेपालमै रहनु पर्ने परिस्थिति बन्यो । जिन्दगीको २० वर्ष देशबाहिर बिताएका दिपक अब भने नेपालमै केही गर्ने भन्नेमा छन्।

बेक एण्ड टेकको अर्को सहयात्री हुन इभलेन जिसी, जो पोखराको लेखनाथ अर्घौ निवासी लक्ष्मण जिसीले झण्डै १३ वर्ष अगाडि विवाह गरेर ल्याएकी फिलिपिनी हुन् । उनीहरूकी १० वर्षिया छोरी लैला सेन्टम्यारिजमा पढ्छिन् । विशुद्ध नेपाली बोल्ने लैलालाई भने उनको आमा फिलिपिनी हुन भनेर पत्यार नलाग्ने भाषा उच्चारण गर्छिन् । कहिलेकाहीँ सपमा आउने नेपाली ग्राहकको भाषामा आफ्ना ममी र आन्टीहरूको असहजतालाई अनुवादकको काम पनि गरिदिन्छिन् । करिव १७ वर्ष बहराइनमा बसेका लक्ष्मण काम गर्ने कम्पनीमा नै इभलेन पनि काम गर्थिन । सँगै काम गर्ने क्रममा माया बस्यो । लक्ष्मणले पर्यटक भिषामा नेपाल ल्याए, यतै विधिवत विवाह गरेर यतै बसे।

घरमा छोराछोरी हेर्दै वा सामान्य दिन काटेर बसेका यी महिलाहरूमा हामी फिलिपिनी महिला मिलेर केही काम गरौ भन्ने सोच आयो । त्यही सोचमा समावेश हुन आइपुगे एनालेन परिवार र इला घिमिरे । एनालेन राजु परिवारकी श्रीमती हुन् । उनलाई पनि राजुले आफू खाडीमा काम गर्न जाँदा चिनजान र नजिकता भएर नेपाल ल्याएर विवाह गरेका थिए।

यी ४ महिलामा सबैभन्दा कान्छी उमेरकी र लजालु स्वभावकी इलाको जीवन यात्रा भने फरक छ । पोखरा माटेपानीका स्थायी बासिन्दा दिवस घिमिरे पोखरा युनिभर्सिटीमा बिबिए पढ्दै थिए र उनी एक परोपकारी संस्थामा पनि आवद्ध थिए । विश्वभर फैलिएको उक्त परोपकारी संस्थामा उता इला पनि फिलिपिन्समा आवद्ध थिइन । एक सेमिनारमा दुवैको भेट भयो । एक अर्कोलाई मन पराए । त्यसपछि फिलिपिन्समा रहेका इलाका अभिभावक र यता दिवसका अभिभावक दुवैलाई सोधे । मञ्जुरी पाएपछि विधिवत विवाह गर्ने निर्णय गरे । सन् २०१२ मा भएको यो विवाह कुनै नेपालीको परम्परागत विवाहभन्दा कम थिएन । अहिले प्राइम बैक फूलबारी पोखरामा जागिरे दिवसका ७ वर्ष र ५ वर्षका दुई छोरा छन् । कहिल्यै विदेश नदेखेका दिवस र कहिल्यै फिलिपिन्सबाट बाहिर नगएकी इला संयोग वा भाग्यले एक अर्कोको जीवनसाथी भएर रमाइरहेका छन्।

तपार्इँले नेपाल र नेपालीलाई नै किन रोज्नुभयो भन्ने प्रश्नमा इला एबनेज घिमिरे भन्छिन्– पहिलो त मेरो पतिको बानीव्यावहार र मान्छे मन पर्यो। दोस्रो ऊ संयुक्त परिवार अर्थात् बुबाआमा, दाजुभाइ, दिदीबहिनीसमेतको सँगोल परिवारमा बस्ने हुँदा त्यो मन पर्यो । त्यसपछि त नेपालको प्रकृति, मानिसहरूको सरलपन, व्यावहार आदि मन पर्दै जान थाल्यो।

पोखरामा मात्र एक सय परिवार फिलिपिनी रहेको अनुमान गरिन्छ । यही बेकरीको माध्यमले चिनजान भएका र क्रिसमस वा अन्य जमघटमा भेला हुने नै ४० परिवार जति छन् । भनिन्छ नेपालमा फिलिपिनी परिवार तथा एकल गरी करिव ४ देखि ५ हजार छन् । भाषा र प्राविधिक शिक्षामा संसारमै दक्ष र लगनशील मानिने फिलिपिनी प्राविधिकहरू नेपालमा धेरै ठाउँमा छन् । पोखराको प्रभु एयरमा कार्यरत इन्जिनियर ३५ वर्षिया टेरेसा रेडबा पनि फिलिपिनी हुन् । ५ वर्ष अगाडि नेपालमा एक एरोनौटिक इन्जिनियरको आवश्यकता भन्ने विज्ञापन देखेर उनले एप्लाइ गरिन । त्यसमा उनी छनोट भएपछि काठमाडौं र पोखरामा बस्दै आएकी छन् । राम्रो कमाइ र सहयोगी मन भएकी अविवाहित टेरेसाले पोखरा क्षेत्रमा समस्यामा परेका फिलिपिनी तथा नेपालीसँग सम्बन्धमा रहेका तर समस्यामा परेका केही फिलिपिनीहरूलाई समेत विभिन्न सहयोग गर्दै आएकी छन्।

British college

किन फिलिपिनी केटीहरू नेपाली केटा रोजेर नेपाल आउँछन भन्ने प्रश्नमा टेरेसा भन्छिन्– पहिलो कुरा त मध्य पूर्व वा खाडीतिर सँगै काम गर्ने र मन मिल्ने कारण नै हो । अर्को कुरा नेपाली मानिसहरूको स्वभाव र व्यावहार राम्रो हुन्छ । विश्वासिला हुन्छन र केहीलाई नेपालको प्रकृतिले पनि मन लोभ्याउँछ । फिलिपिन्समा माइक्रो फेमिलीमा एक्लोपन महसुस गरेकाहरू केही यहाँको जोइन्ट फेमिलीमा रमाएका पनि छन् । तर नेपालको पूरातन संस्कृति, रुढिवादी परम्परा र बुहारी प्रथाले केही विदेशी बुहारीहरूलाई पीडा भएका केही उदाहरण पनि नभएका होइनन् । अर्को पीडा थप्ने यहाँको अध्यागमन कानुन र कर्मचारी संयन्त्रले दिने हैरानी पनि हो । तर पनि अधिकांश फिलिपिनी महिला नेपालमा धेरै खुसी र सुखले बाँचेका देखिन्छन।

नेपाली युवा अर्थात् केटाहरूले किन फिलिपिनी युवती मन पराउछन त ? यसको उत्तर विभिन्न फिलिपिनी विवाह गर्ने पुरुष तथा विवाह गरेर आउने महिला र सो परिवारलाई नजिकसँग देखेभोगेकाहरूको प्रतिक्रिया सामान्यतय एकै खाले पाइन्छ । फिलिपिनी महिलाका नेपाली श्रीमानहरू भन्छन्– पहिलो कुरा त सामिप्यता नै हो । बाहिरी मुलुकको एक्लो बसाइमा नजिकिन आएका असल मन मिल्दा महिलाहरू जसलाई जीवनसाथी बनाएमा पनि मेरो जिन्दगी राम्रो हुनेछ भन्ने ठान्दा सम्बन्ध विवाहमा परिणत गएको हो । दोस्रो फिलिपिनीको क्षमता, दक्षता र स्वभाव हो । काम गर्न अर्थात् घरभित्र वा बाहिरको कुनै पनि कार्यमा अति सक्रिय रहने फिलिपिनी महिला अङ्ग्रेजी भाषामा पोख्त हुन्छन् । उनीहरूको लिपि नै अंग्रेजी हो भने आफ्नो मातृभाषा बोले पनि धेरै अङ्ग्रेजी शब्द नै हुन्छन् । फिलिपिन्सको प्रारम्भिकदेखि उच्चशिक्षासम्म व्यावहारिक हुने र हामी नेपालीभन्दा धेरै ओपन माइन्डेड (खुल्ला विचार) हुन्छन । कहिँ पनि छिट्टै काम पाउन र काम गर्न सक्ने क्षमताका प्राय फिलिपिनी प्राविधिक क्षेत्र, स्वास्थ्य क्षेत्र र होटल, रेस्टुरेन्ट लगायतका सेवा प्रदायक क्षेत्रमा विश्वभर फैलिएका छन्।

फिलिपिन्स देशमा नै डिभोर्स भन्ने कानुन नै छैन् । डिभोर्सलाई सामाजिक मान्यता पनि छैन् । महिला प्रधानमुलुक भए पनि कुनै हालतमा श्रीमानसँग मिल्न नसक्ने भए बरु जीवनभर एकल महिला भएर बस्छन तर डिर्भोस गर्दैनन् । यसले सम्बन्ध सदा मजबुत र दीगो रहने हुँदा पनि नेपाली युवा फिलिपिनी केटीहरू मन पराउने गरेको देखिन्छ ।

आफू र आफ्नो परिवारको लागि केही गर्नुपर्छ भन्ने अति आत्मविश्वासी र स्वावलम्भी सोचका धनी फिलिपिनी कुनै व्यावसाय व्यापारमा पनि फिट हुन सक्ने हिम्मतिला हुन्छन् । तेस्रो अचम्मको कुरा फिलिपिन्स देशमा नै डिभोर्स भन्ने कानुन नै छैन् । डिभोर्सलाई सामाजिक मान्यता पनि छैन् । महिला प्रधानमुलुक भए पनि कुनै हालतमा श्रीमानसँग मिल्न नसक्ने भए बरु जीवनभर एकल महिला भएर बस्छन तर डिर्भोस गर्दैनन् । यसले सम्बन्ध सदा मजबुत र दीगो रहने हुँदा पनि नेपाली युवा फिलिपिनी केटीहरू मन पराउने गरेको देखिन्छ । चौथो कुरा उनीहरू बढी टेककियरिङ गर्ने उनका नेपाली आफन्त बताउँछन । बालबच्चाको उचित पालनपोषणदेखि घरका आमाबुबाको रेखदेखसम्म निकै मिहिनेत गर्छन् । कर्तव्यनिष्ठ भएर काम गर्ने हुँदा आम आधुनिक नेपाली महिलाभन्दा निकै अब्बल दर्जाका ठानिन्छन्।

९० प्रतिशतभन्दा बढी फिलिपिनीहरू क्रिस्चियन धर्म मान्छन् । लामो समय स्पेन र अमेरिकाको अधीनमा रहेको देश भएकाले धेरै आधुनिक जीवनशैली अप्नाउने सोच संस्कार उनीहरूमा पाइन्छ । त्यसैले पनि नेपाली समाज र परिवारमा केही समस्या त हुन्छन नै । खास समस्या भनेको खाना, भाषा, संस्कृति र सामाजिक सोच हो । झण्डै ८ हजार टापुको देश, ११ करोड जनसंख्याको फिलिपिन्स नेपालभन्दा धेरै विकसित छ । त्यहाँको शिक्षा र विकास हाम्रोभन्दा धेरै अगाडि छ। महिला प्रधान मुलुक फिलिपिन्सकोे अध्यागमन कानुन पनि नेपालको भन्दा धेरै सहज छ । त्यसैले धेरै फिलिपिनी नेपाली बुहारी नेपालमा विवाह दर्ता गरेर पनि फिलिपिनी पासपोर्ट नागरिकता बोकिरहेका छन्।

नेपालको अध्यागमन कानुनअनुसार नेपाली पुरुषले विदेशी महिला विवाह गरेपछि पनि स्थानीय निकायमा विवाह दर्ता गरेको आधारमा विवाहको मान्यता दिन मिल्दैन भन्छिन् अध्यागमन कार्यालय पोखराकी प्रमुख प्रमिला गौतम । उनकाअनुसार गैरपर्यटकीय भिषा अन्तर्गतको ४ प्रकारका भिषा मध्ये म्यारिज भिषामा पर्ने यस्ता विदेशी बुहारीले आफू जन्मेको नागरिक भएको मुलुकको नागरिकता नत्यागेसम्म वा अदालतको प्रमाण नभएसम्म उनीहरूलाई पर्यटकीय भिषा कानुन नै लाग्ने बताउछिन्।

म्यारिज भिषा म्यारिज सर्टिफिकटका आधारमा दिइने भिषा हो तर यो अति अव्यावहारिक छ । केही महिना अगाडि लमजुङका युवासँग विवाह भएर बालबच्चासहित लामो समय नेपाल बसेकी यस्तै फिलिपिनी महिलाले कोरोनाका कारण भिषा थप्न १ महिना ढिला भयो । जव उनी भिषा थप्न अध्यागमन कार्यालय आइन उनले माग गरेअनुसार म्यारिज भिषामा एक वर्ष थप्न यहाँका कर्मचारीले मानेनन् । केवल १ महिनाको भिषा दिन सकिन्छ भन्दै जिद्धी गरे।

ती महिलाको प्रश्न थियो– मेरो श्रीमान् पूरा नेपाली हो, मेरा बच्चा नेपाली हुन्, म नेपालको कानुनअनुसार स्थानीय निकायमा विवाह दर्ता गरेर बसेको धेरै भयो । म मेरो कर्म घर नेपाल छोडेर छिट्टै बाहिर जाने कुनै योजना छैन किन मलाई १ महिनाको भिषा ? कम्तीमा ६ महिनाको भिषा त देऊ भन्दा अध्यागमन कर्मचारीले भने– त्यो स्थानीय निकायमा गरेको विवाह दर्ताको कुनै मान्यता छैन् । उता उनका श्रीमान्सँगै फिलिपिन्स प्रवेश गर्ने हो भने इन्ट्रीपोट अर्थात् एयरपोर्टमा नै नेपाली नागरिक श्रीमान्लाई १ वर्षको भिषा दिने गरिन्छ।

उनीहरूलाई अर्को डर वा समस्या भनेको यहाँको स्वास्थ्य सेवा हो । फिलिपिन्समा उच्चस्तरीय सुलभ स्वास्थ्य सेवा पाइरहेका उनीहरू यहाँका डाक्टर र नर्ससँग त्यति विश्वास गर्दैनन् । त्यसैले स्वास्थ्य सेवा लिन पर्यो भने उनीहरू फिलिपिन्स उडी हाल्छन् । सामाजिक र व्यवहारिक धेरै समस्या भए पनि फिलिपिनी मायालुहरू नेपालको प्रकृतिसँगै आफ्ना प्रेमीसँग नेपालमा सुखदुखका दिन बिताइरहेका छन् र नेपाली समाजका उदाहरणीय बुहारी बनी रहेका छन् । उनीहरूको वचन विज्ञापनले अविवाहित फिलिपिनो युवतीहरू दिनप्रतिदिन नेपाली युवाप्रति आकर्षित भइरहेका छन्।

कमेन्ट्स
Loading...