पोखरा/
पोखराको चिप्लेढुंगा स्थित पोखरा ट्रेड मलको पाँचौं तलामा क्लासिक चुलो रेष्ट्रो एण्ड ब्यङ्क्युटले सेवा संचालनको सम्पूर्ण तयारी पूरा गरेको छ । माघ १ देखि ३० गतेसम्म यो रेष्टुराको उद्घाटन अवधि तोकिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
भवनको सबैभन्दा माथिल्लो तला पाँचौं तलामा नयाँ साजसज्जाका साथ दुई करोड रुपैयाँ खर्च गरेर ब्यङ्क्युटले नयाँ व्यवस्थापनका साथ मंगलम हस्पिटालिटी प्रालि अन्तर्गत रहेर सेवा संचालन गर्न लागेको हो । प्रालिका अध्यक्ष खेमप्रसाद तिमिल्सिनाले पहिलो चरणमा नेवारी खानालाई अलि बढी जोड दिएर सेवा संचालन गर्न लागिएको कार्यक्रममा जानकारी दिए ।
परम्परागत नेपाली खाना र चलनचल्तिका आधुनिक खाना समेत पस्कने योजना ब्यङ्क्युटले बनाएको तिमिल्सिनाले सुनाए । १० हजार बर्गफिटमा स्थापित रेष्टुराँले थप पाँच हजार बर्गफिट विस्तार गरी भविश्यमा गाउँले नेपाली खानाहरु समेत पस्कने योजना बनाएको छ । सस्तो मूल्यमा गुणस्तरीय खाना पस्कने रेष्टुराँले वाचा गरेको छ ।
ब्यङ्क्युटका प्रबन्ध निर्देशक राजेन्द्र तिमिल्सिनाले नेपाली खाना र संस्कृतिको प्रबद्र्धन गर्दै पोखराको पर्यटकीय विकासमा समेत सघाउने शोच आफूहरुले बनाएको बताए । चिप्लेढुंगा जस्तो व्यस्त शहरमा फराकिलो हल सहित स्वादिला परिकार सहितको आरामदायी वातावरण सिर्जना गर्ने तयारीका साथ प्रालि अगाडि बढेको उनले जानकारी दिए । खिचडी, खित्रो, फुरौला, भटमास र पुवा मात्र होइन भुटेका मकै र मोही सहितका परिकार पनि आगामी दिनमा पस्कने योजना रहेको उनले बताए । गहत, मस्याङ, पिनालु र तरुलबाट बनेका परिकार समेत ब्यङ्क्युटले आगामी दिनमा समावेश गर्ने उनले सुनाए ।
खाना, संस्कृति र संगीतलाई एकैसाथ अगाडि बढाउँदै ग्राहकलाई नयाँपन र मिठो स्वाद पस्कने योजना ब्यङ्क्युटको भएको परियोजना सल्लाहकार अरुण मानन्धरले स्पष्ट पारे । प्रालिले रेष्टुराँका कार्यकारी सेफ दीपक वज्राचार्यलाई पत्रकार सम्मेलनको मञ्चमा राखेर आफ्ना योजनाहरु सुनाएको थियो । मञ्चको दाहिनेपट्टि भान्सामै प्रयोग हुने पोशाकमा उपस्थित वज्राचार्यले पिज्जा, वर्गर जस्ता खाना भन्दा नेपाली खानालाई प्रबद्र्धन गर्ने शोच आफूहरुको भएको बताए । आधुनिक तरिकाले पकाइएका जङ्क फुड्सले मोटोपना बढाउने र स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भन्दै नेपाली खानामा आफूहरुको जोड रहने उनले जानकारी दिए ।
सांस्कृतिक कार्यक्रम र नृत्य तथा मोडल र सेलिव्रिटीहरुसहित रेष्टुराको उद्घाटन गरिने जनाइएको छ । हाल ३० कर्मचारीलाई रोजगारी प्रदान गरेको रेष्टुराँले आउँदो दुई बर्ष भित्र काठमाडौं, चितवन, वुटबल लगायतका शहरमा शाखा विस्तार गर्ने योजना पनि बनाएको छ । गोष्ठी, सेमिनार र वैवाहिक कार्यक्रमका लागि समेत यहाँको हल र वातावरण उपयुक्त रहेको छ । पाँच सय जना सम्मलाई ककटेल डिनर खुवाउन सक्ने क्षमता र एक सय ५० जना सिट क्षमताको हल ब्यङ्क्युटमा रहेको छ ।