पोखरा ।
पछिल्ला हप्ताहरुमा लगातार रुपमा सेयर बजार परिसूचक नेप्से घट्न थालेपछि लगानीकर्ताहरु दवावमा परेका छन् । गएको अगष्ट १९ तारिखमा बजारले ३२२७ को उच्च विन्दु छोएको थियो । त्यसपछि भने लगातार जसो सूचक घट्न थालेको देख्न सकिन्छ । विच विचमा बढ्ने घट्ने भए पनि १९ अक्टोबरका दिन भने बजार २४८१ को विन्दुसम्म झर्न पुग्यो । त्यसपछि बढेको बजार पुनः त्यही विन्दुतर्फ अग्रसर भएजस्तो देखिन्छ ।
पछिल्ला दिनहरुमा कारोबार रकम (भोलुम) समेत तीनचार अर्ब रुपैयाँमा सीमित हुन थालेको देख्न सकिन्छ । घट्दो बजारमा भोलुम बढ्यो भने बजार थप घट्ने संकेतका रुपमा लिइन्छ तर अब भने विस्तारै भोलुम घट्न थालेपछि छिटै बजार एउटा निर्णायक चरणमा पुगेजस्तो देखिएको छ । बजार तत्काल वियरिस ट्रेण्डमा नगए पनि एउट बटम लगाएर यो माथि नै फर्कने आसा गर्न सकिन्छ । समग्रमा संसारको सेयर बजार सूचक लामो अवधिमा बुलिस नै हुने गर्छ ।
तरलताको दबाब
बजार घट्नुको मुख्य कारणको रुपमा तरलताको दबाबलाई लिइएको छ । बैंकहरुमा तरलता अभाव हुँदा अहिले कर्जा प्रवाहमा असर परेको बैंकहरुले बताउने गरेका छन् । तरलता अभावको दबाब सिधै सेयर बजारमा परेको छ । नेपाल राष्ट्र बैंकको वेबसाइटमा बैंक तथा वित्तीय संस्थामा कूल ४७ खर्ब ९१ अर्ब रुपैयाँ बचत र ४५ खर्ब ७७ अर्ब कर्जामा गएको उल्लेख गरिएको छ । बचत र कर्जा विचको फरक निकै कम अंक मात्र देखिंदा खुलेर कर्जा प्रवाह गर्न सक्ने अवस्थामा अहिले बैंकहरु छैनन् । सीडी रेसियो पनि ९० अंकभन्दा माथि नै देखिन्छ । तरलताको सन्दर्भलाई नै केन्द्रित गरी राष्ट्र बैंकले फागुन मसान्त सम्म भुक्तानी मिति तोकेर मंसिर १६ गते २५ अर्ब रुपैयाँको ट्रेजरी विल खरिदका लागि प्रक्रिया समेत अगाडि बढाएको छ । उपभोग्य क्षेत्रमा भएको तरलताको अत्यधिक मागले समेत बैंक तथा वित्तीय संस्थाहरुमा पैसा अभाव भएको राष्ट्र बैंकको तीन महिने मौद्रिक समिक्षामा उल्लेख गरिएको छ ।
४/१२ को असर
छोटो छोटो अवधिमा नै नीतिहरुमा राष्ट्रबैंकले हेरफेर गर्दा सेयर बजारमा असर परेको लगानीकर्ताको गुनासो छ । एकाघरका परिवारले एउटा वित्तीय संस्थाबाट चार करोड रुपैयाँ र अरु थपबाट गरी कूल १२ करोड रुपैयाँ सम्म मात्र सेयर ऋण लिन सक्ने राष्ट्रबैंकले गरेको व्यवस्थाले सेयर बजार एकाएक खस्कन पुगेको थियो । बजारलाई प्रत्यक्ष असर पर्ने केन्द्रिय बैंकको यसप्रकारको नीति विरुद्ध आन्दोलनका कार्यक्रम समेत लगानीकर्ताले बढाए । तर अहिले भने यो नीतिको असरलाई बजारले पचाइसकेजस्तो देखिन्छ । ४/१२ भन्दा पनि अहिलेको समस्या तरलता अभाव नै भएकोमा धेरै लगानीकर्ता एकमत देखिन्छन् । अर्थमन्त्री र पूर्व अर्थमन्त्रीहरुले वेलावेलामा सेयर बजारप्रति नकारात्मक टिप्पणी गरिदिंदा पनि बजार घट्न पुगेको देखिन्छ ।
बजार फर्कने प्रतिक्षा
साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक ४७.४७ अंकले घटेर २५८६.१९ विन्दुमा अडिन पुगेको छ । तीन अर्ब भन्दा थोरै बढी रुपैयाँको मात्र कारोबार यो दिन भएको छ । यसरी हेर्दा १९ अक्टोवरको २४८१ र तीन नोभेम्बरको २८७८ विन्दु विच मार्केट साइडवेज बसेको जस्तो देखिन्छ । बजार न तल न माथि अहिले भए पनि सूचक बढ्नु र घट्नु सेयर बजारको सुन्दर पक्ष हो । अहिले बजार घट्दा लगानी गर्ने उपयुक्त अवसर पनि हो । तर बजार कति सम्म खस्छ वा अब उकालो लाग्छ भन्ने आँकलन लगानीकर्ताको आफ्नै स्वविवेकमा भर पर्ने कुरा हो । संसारभर कोभिड १९ फैलन थालेपछि अन्यसँगै नेपालको सेयर बजार पनि उकालो लाग्न थाल्यो । लाखौं लगानीकर्ता बजारमा झुम्मिन थाले । बढ्दो सूचकको फाइदा लगानीकर्ताले उठाएर सूचकले उचाई छुँदा सेयर खरिद गरेका लगानीकर्ता अहिले केही आत्तिएजस्ता देखिए पनि बजारको यात्रा उकालो लाग्नेमा उनीहरु आसावादी छन् ।