भारतको कर्नाटकमा दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दुई जनामा नयाँ भेरियन्ट पुष्टि भएको जनाएको हो। ओमिक्रोन भेरियन्ट भारतमा देखिएको यो पहिलो पटक भएको मन्त्रालयले जनाएको छ। भारतमा नयाँ भेरियन्ट देखिएसँगै नेपालमा यसको जोखिम उच्च देखिएको छ।
नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको थियो। त्यस यता विश्वका २९ वटा देशहरुमा यो भेरियन्ट फैलिसकेको छ। यसको संक्रमण रोक्नका लागि विभिन्न देशहरुले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिसकेका छन्। यस्तै बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालको स्वास्थ मन्त्रालयले अतवश्यक काम नपरेसम्म विदेश यात्र नगर्न सबैलाई आग्रह गरेको थियो। योसँगै भारतसँग जोडिएका नाकाहरुका चेकजाँच गर्न थालिएको छ। नयाँ भेरियन्टको जोखिम न्यूनीकरणका लागि मन्त्रालयले आवश्यक काम अगाडि बढाइरहेको बताउँदै आएको छ।
