सुचना, समाचार र मनोरन्जन

नेपाल, भारतबीचको सम्बन्ध सुधारका लागि तीनवटा विषयमा जोड दिने

काठमाडौँ/

भारतका लागि प्रस्तावित राजदूत डा। शंकर शर्माले दुई देशको सम्बन्धलाई मतबुत बनाउनका लागि तीन विषयमा आफूले प्राथामिकता दिने प्रतिबद्धता जनाएका छन । सोमबार संसदीय सुनुवाइका क्रममा समिति समक्ष शर्माले नेपाल र भारतबीचको सम्बन्ध सुधारका लागि तीनवटा विषयमा जोड दिने उल्लेख गरेका हुन ।

शर्माले भारतसँग सहकार्य गर्दै आपसी हितका लागि अघि बढ्न पहिलो विश्वासको वातावरण बनाउने दोस्रो रणनीतिक रुपमा कसरी अघि बढ्न सकिन्छ भनेर योजना बनाउने र तेस्रो अल्प, मध्य र दीर्घकालीन योजना बनाएर अघि बढ्न जानकारी दिए। उनले नेपाल र भारतका अधिकारी एवं राजनीतिक व्यक्तिहरुबीच हुने भेटघाट अव्यवस्थित रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि आफूले काम गर्ने बताए। ‘भेटघाटलाई व्यवस्थित बनाउन आवश्यक छ। त्यसका लागि म अनुमोदित भएर गएँ भने व्यवस्थित बनाउँछु,’ सुनुवाइ समिति समक्ष शर्माले भने।

सुनुवाइ समितिले सोमबार शर्मासँगै बेलायका लागि सिफारिस राजदूत ज्ञानचन्द्र आचार्यसँगको सुनुवाइ सकेको छ भने अमेरिकाका लागि सिफारिस भएका श्रीधर खत्रीसँगको संसदीय सुनुवाइ जारी छ। बेलायतसँगको ऐतिहासिक सम्बन्धनको वर्णन गर्दै आचार्यले आर्थिक सहयोग, व्यापार घाटा न्यूनीकरण र नेपाली व्यापारको विस्तार, गोर्खा सैनिकको समस्या समाधान जस्ता विषयमा आफ्नो ध्यान केन्द्रित गर्ने बताए।

‘बेलायतले नेपालको आर्थिक सहयोगको क्षेत्रमा विशेष भूमिका छ। हाम्रो लाभका क्षेत्रमा उनीहरूलाई अझ आकर्षित गर्ने काम गर्छु,’ आचार्यले अगाडि भने, ‘व्यापार घाटाको अवस्था छ। हामीले व्यापारका लागि विशेष महत्व दिन आवश्यक छ। गोर्खा सैनिकको समस्या समाधानका लागि पहल गर्छु।’

कांग्रेसका सांसद जितेन्द्र नारायणदेवले राजदूतको रुपमा गएकाहरुले व्यक्तिगत लाभका लागि काम गरेको उल्लेख गर्दै त्यसको सुधार आवश्यक भएको धारणा राखे। देवले संसदीय सुनुवाइको औचित्यमाथि प्रश्न उठ्न थालेकाले सचेत हुनुुपर्ने सुझाव समिति समक्ष राखे।

एमालेका सांसद सुरेन्द्र पाण्डे आचार्यलाई गोर्खा सैनिकको पेन्सन, समान सेवा सुविधाका लागि लडिरहेका गोर्खाको कामलाई निष्कर्षमा पुर्‍याउन ध्यानाकर्षण गराए। उनले बेलायतमा नेपालले आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रको विषय काम गर्न आवश्यक रहेको बताए। समितिले प्रस्तावित तीन जना राजदूतलाई सोमबार नै अनुमोदन गर्ने तयारी गरेको छ।

कमेन्ट्स
Loading...