सुचना, समाचार र मनोरन्जन

सेयर बजारमा धर्काको खेल

रुपनारायण ढकाल ।

एक महिना अघि मात्र नेपालमा सेयरको डिम्याट खाता खोल्ने लगानीकर्ताहरुको संख्या ४६ लाख पुग्यो । कोभिड १९ सँगै गरिएको लकडाउनपछि लगानीका अन्य क्षेत्रमा संकुचन आउँदा सेयर बजारमा मानिसहरुको आकर्षण एक्कासी बढ्न पुग्यो । पैसा राख्न बैंक खाता चाहिएजस्तै सेयर राख्न डिम्याट अर्थात् डिम्याटरलाइजेसन खाता चाहिन्छ । यस्तो खाता सेयरको अभौतिकिकरणसँग सम्बन्धित हुन्छ । यस्तो खाता खोल्ने संख्या र बजारप्रति आकर्षण बढ्दै गर्दा नेपालको सेयर बजारको पुँजिकरण ४२ खर्ब भन्दा बढी सम्म पुगेको थियो । अहिले भने यो ३४ खर्ब ४४ अर्ब रुपैयाँमा झर्न पुगेको छ । त्यस्तै नेपालमा सेयर अर्थात धितोपत्रको कारोबार गराउने नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दुई सय १२ हाराहारी कम्पनी सुचिकृत छन् ।

शुक्रबार र शनिबार बाहेक साताका पाँच दिन ११ बजेदेखि ३ बजेसम्म नेपालको एकमात्र सेयर बजार नेप्सेमा धितोपत्रको कारोबार हुने गर्छ । यसलाई धितोपत्र बजार अर्थात् पुँजीबजारको दोश्रो बजार वा सेकेण्डरी मार्केट भनेर पनि बुझ्ने गरिन्छ । अर्को बजार प्राथमिक बजार हो, जहाँ सेयर (आईपीओ) को सार्वजनिक निस्कासन र खरिद गर्ने काम हुन्छ । सेयर बजारमा दुई शब्द– आधारभूत र प्राविधिक बढी चर्चित छन् । अंग्रेजीमा तिनलाई फन्डामेन्टल र टेक्निकल भनेर बुझ्ने गरिन्छ । बजारमा सेयर खरिदविक्री गर्नु अघि सेयरका लगानीकर्ताहरु सेयरको प्राविधिक र आधारभूत वा कुनै एक पक्ष मात्र हेरेर निर्णय लिने गर्छन् । कम्पनीको पुँजी, कर्जाको मात्रा र अवस्था, लगानी, त्यसले दिने नाफा, कम्पनीको व्यवस्थापन जस्ता पक्षहरुलाई आधारभूत पक्ष तर्फ राख्न सकिन्छ । प्राविधिक पक्ष भने सेयरको बजार मूल्य थपघटको प्रकृति, रफ्तार, सबैभन्दा माथिल्लो बढाई, तल्लो बढाई, विचको अघि बढाई र तिनको नाप तथा नापका उपकरणसँग सम्बन्धित हुने गर्छ ।

लगानीकर्ताको मनोविज्ञान र त्यस्तो सम्बन्धलाई जोड्ने धर्काहरुसँग प्राविधि विश्लेषणले सम्बन्ध राख्ने गर्छ । नेपालको कुरा गर्दा हिजोआज प्राविधिक विश्लेषकहरुलाई धर्के भनेर समेत कतिपयले आलोचना गर्ने गर्छन् । परिसूचक घट्ने वा बढ्ने भन्ने कुरा प्राविधिक विश्लेषणले सबै अवस्थामा सधै शतप्रतिशत मिलाउने भन्ने हुँदैन । प्राविधिक विश्लेषणका टुल्स वा इन्डिकेटरका आधारमा प्राविधिक विश्लेषकले आफ्नो क्षमता र दक्षताका आधारमा बजार बढ्ने, घट्ने वा साइडवेजमा रहने भन्ने विषय बताउने गर्छन् । प्राविधिक विश्लेषण ६० देखि ७० प्रतिशतको हाराहारी मात्र मिल्न सक्ने स्वयं विश्लेषकहरु स्वीकार गर्ने गर्छन् ।

प्राविधिक उपकरणको चर्चा गर्दा मुभिङ एभरेज, आरएसआई, एमएसीडी, फिवोनाची रिट्रेसमेन्ट, एडीएक्स, पिभोट प्वाइन्ट जस्ता उपकरणहरु बढी प्रयोगमा छन् । यिनै उपकरणले देखाउने नतिजाका आधारमा बजार बढ्ने वा घट्ने आँकलन विश्लेकषकले गर्ने गर्छन् । सेयर बजारमा हरेक कम्पनी, हरेक समूह वा समग्र बजारको अवस्थालाई बर्ष, महिना, हप्ता, दिन वा घण्टा र मिनेटमा समेत देखाउने गरिन्छ । मैनबत्तीजस्तो देखिने केन्डलस्टिकले सहायताले त्यस्तो अवस्थाको प्रतिनिधित्व चार्टमा गराउने गरिन्छ । यी केन्डलस्टिकहरुले खासगरी लगानीकर्ताको मनोविज्ञान समेट्ने गर्छन् । सेयर बजार खासमा मनोविज्ञानको खेल हो । लगानी कर्ताको मनोविज्ञान उच्च हुँदा बजार वा कम्पनीको सूचक बढ्ने र मनोवल कम्जोर हुँदा बजार घट्ने गरेको देखिन्छ । बढ्दो बजारलाई बुल मार्केट वा अपट्रेण्ड र घट्दो बजारलाई वियरिस मार्केट वा डाउन ट्रेन्ड भनेर बुझ्ने गरिन्छ । विचको अवस्थालाई कन्सोलिडेसन वा साइडवेज भनेर पनि भन्ने गरिन्छ । सामान्यतया बजार वा सूचक घटेको निश्चित् कारोबार अवधिको अवस्थालाई रातो केन्डलस्टिक र बढेको अवस्थालाई हरियो केन्डलस्टिकमा देखाउने गरिन्छ । यस्ता धेरै केन्डलस्टिकको लहरमा बजारको उतारचढाव पढ्ने गरिन्छ, जुन काम प्राविधिक विश्लेषणले गर्छ ।

प्राविधिक विश्लेषणमा पटक पटक बजार घटेर फर्किएको सरल रेखाले जोड्ने विन्दु वा क्षेत्रलाई टेवा वा सपोर्ट र बजार बढेर तल झरेको विन्दु वा क्षेत्रलाई प्रतिरोध वा रेरिस्टेन्स भन्ने गरिन्छ । बजार अगाडि बढ्दा तल परेका प्रतिरोधले पछि गएर नयाँ टेवाको काम गर्ने गर्छन् । यस्तै टेवा र प्रतिरोधलाई सरल रेखा मार्फत् जोडेर सेयर बजारमा प्राविधिक विश्लेषण गर्ने र बजारको विगत र भविश्य पढ्ने र आँकलन गर्ने गरिन्छ । त्यसकारण पनि सेयर बजारसँग प्राविधिक विश्लेषण अर्थात् धर्काको साइनो महत्वपूर्ण रहेको भन्न सकिनछ ।

प्राविधिक विश्लेषण विभिन्न उपकरणले दिने नतिजासँग आधारित हुन्छ । एकप्रकारले यो विज्ञान र गणित हो । तर नेपालमा प्राविधिक विश्लेषण मिल्दैन भन्नेको संख्या पनि उल्लेख्य छ । प्राविधिक विश्लेषण मिल्ने वा नमिल्ने भन्दा पनि उपकरणले देखाउने नतिजामा यो आधारित हुने गर्छ । सामान्य अवस्थामा बजार अगाडि बढ्दा यस्ता उपकरणले देखाउने नतिजा सत्यको नजिक हुने गर्छन् । तर जब सानो संख्यामा सेयर रहेको कम्पनीलाई चलाएर बजार नियतबस तलमाथि पारिन्छ, सेयरको कर्नरिङ हुन्छ, इन्साइडर ट्रेडिङ गरिन्छ, गलत समाचार र गलत नीतिको शिकार बजारलाई बनाइन्छ अनि सामाजिक संजालमा भ्रम फैलाइन्छ तब बजारमा धर्काको खेल निकम्मा सावित हुन सक्छ ।

कमेन्ट्स
Loading...