परिचय विश्लेषण
नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा पुनः सभापतिको रुपमा निर्वाचित हुने लगभग निश्चित जस्तै भएको छ । पहिलो चरणको निर्वाचनमा उनले बहुमत जुटाउन नसके पनि सभापतिका अन्य चार दावेदार भन्दा बढी नै मत प्राप्त गरे । पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधीले त दोश्रो चरणमा देउवालाई नै सघाउने बचन दिइसके । शेखर कोइराला भने पुनः देउवा विरुद्ध भिड्ने बताइरहेका छन् । कल्याण गुरुङ खुलेका छैनन् ।
काँग्रेस महाधिवेशनको सरगर्मी चल्दै गर्दा प्रमुख विपक्षी नेपाल कम्प्युनिष्ट पार्टी (एमाले) ले भने सभामूख अग्नीप्रसाद सापकोट माओवादी कार्यकर्ता जस्तो बनेर एमाले विरुद्ध भेदभाव गरेको भन्दै संसद अवरोधलाई निरन्तरता दिन पुग्यो । आफ्नो दलले कार्वाही गरेका १४ सांसदलाई संसद बैठकमा सहभागी गराएको र उल्टै अन्य एमाले सांसदलाई कार्वाही गर्ने धम्की दिएको भन्दै यस्तो कुराको परिणाम नराम्रो हुने ओलीले चेतावनी दिए ।
यस्तै रस्साकस्सी विच नेपालको राजनीति अगाडि बढ्दै गर्दा देउवाको संभावित पुनः अुनमोदन प्रमुख प्रतिपक्षी दल र त्यसका अध्यक्ष ओलीका लागि भने सहजताको विषय हुन सक्ने देखिन्छ । देश संघीयतामा अगाडि बढ्दै गर्दा दोश्रो पटक पुनः तीन तहका निर्वाचत हुने समय नजिकिंदै छ । यस्तो बेला शेखरको जीत भन्दा देउवाकै जीत ओली र उनको दलका लागि चुनाव लड्न तुलनात्मक सजिलो बन्न सक्छ । सभापतिको रुपमा देउवाको परीक्षण पटक पटक भइरहँदा र पटक पटक प्रधानमन्त्री भइरहँदा काँग्रेस थप सुदृढ नभए पनि देउवाले दल नबिगारिदिए हुन्थ्यो भन्ने भाव त्यस दलका नेता र कार्यकर्ताले प्रकट गर्ने गरेका थिए ।
देउवा अघि जब ओली प्रधानमन्त्री थिए त्यो अवधिमा यी दुईको नेक्सस नेपाली काँग्रेसका लागि लाजमर्दो जस्तो रहन पुग्यो । प्रमुख प्रतिपक्षी दलको नेता हो कि ओलीको समर्थक जस्तो गरी देउवा प्रस्तुत भएको र संसदमा प्रतिपक्षी भएको भान दिन नसकेको आरोप देउवा माथि लागेको थियो । यतिमात्र होइन विभिन्न नियुक्ती र सरुवा बढुवामा ओली र देउवा भागबण्डा लगाएर मिलिभगत गर्न थालेको प्रष्ट आरोप लागिसक्दा समेत देउवामा कुनै प्रभाव देखिएन । त्यसकारण पनि देउवाको जीतले काँग्रेसमा थप उर्जा भर्न नसक्ने आँकलन एमालेको छ । सभापतिको रुपमा अन्य व्यक्ति निर्वाचित हुँदा नयाँ जोस र नयाँ उर्जा काँग्रेसमा भरिन सक्थ्यो जुन ओली र उनको दलका लागि थप चुनौतिपूर्ण हुन सक्थ्यो ।
नयाँ नाम लिएर आउनुस् नाम अन्य दलसँग जुध्यो भनेर सर्वोच्च अदालतले फैसला गरेपछि नेकपा भन्ने दल एक रहन सकेन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफ्नै दलका माधव नेपालले ओली विरुद्ध मोर्चाबन्दी गरेपछि ओलीको सरकार ढल्ने सम्मको अवस्थामा पुग्यो । ओलीविरुद्ध समिकरण बन्दै गर्दा पनि प्रधानमन्त्री बन्न रहर देउवामा पलाएन । उनी सरकाविरुद्ध कुनै मोर्चाबन्दीमा सहभागी हुन चाहिरहेका थिएनन् । आफ्नै दललाई लात मारेर माधव नेपाल अगाडि बढ्दा ओलीको सत्ता रथ रोकिन पुग्यो । देउवालाई प्रधानमन्त्री खाइदिन पर्यो भनी याचना गर्ने नेता उनै नेपाल र प्रचण्ड थिए । देउवा आफ्नो रहरले ओली विरुद्ध जाइलागेका नभई परिस्थितिबस बन्न पुगेको विपक्षी गठबन्धन र सर्वोच्च अदालतको परमादेशको आडमा प्रधानमन्त्री बन्न पुगेको आरोप लाग्यो । त्यसकारण पनि देउवासँग ओलीको उत्रो राजनीतिक दुश्मनी छैन ।
ओली प्रधानमन्त्री हुँदा कतिपय विपक्षीले उनलाई हिटलर र भष्मासुर भन्दै टिप्पणी गरेको सुनियो तर देउवा भने उनीसँग संवैधानिक निकायहरुमा भागबण्डा गर्दै गरेका भेटिन्थे । नेकपा एमालेको चितवनमा सम्पन्न महाधिवेशनमा देउवा विशेष अतिथिको रुपमा भाषण गर्न पुगे । त्यसको गुन ओलीले काँग्रेस महाधिवेशनमा सहभागी भएर तिरे । विपीको समाजवाद नारा बोकेको काँग्रेस र कम्युनिष्ट समाजवादको सिद्धान्त बोक्ने एमाले आगामी तीन तहका चुनावमा आम्नेसाम्ने हुने नै छन् । आफ्नै दलभित्र विग्रह आउँदा विभाजनको पीडा त एमालेले भोग्न पुग्यो तर फुटको हिस्सा कति भन्ने एउटा पक्ष ओलीसँग अध्यक्षमा चुनाव लडेका भीम रावलले पाएको मतको प्रतिशतले मोटामोटी बताउँछ । जुन उल्लेख्य छैन । त्यसकारण आउने चुनावमा मुख्य टक्कर काँग्रेस र एमाले विचमा नै हुने देखिन्छ । चुनावसम्म नै गठबन्धन अघि बढे वा एक्लै चुनाव नलड्ने निर्णयमा काँग्रेस पुग्यो भने त्यो ओली र उनको दलका लागि भारी भने पर्न सक्छ ।