सुचना, समाचार र मनोरन्जन
Tiger Cup

अनुशासन उल्लंघन गरेको भन्दै ‘ज्ञानेन्द्रलाई कप्तानबाट हटाईयो

काठमाडौँ/

खेलाडीले अनुशासन उल्लंघन गरेको विषयमा नेपाल क्रिकेट संघ(क्यानले गठन गरेको छानबिन समितिका संयोजक प्रशान्तविक्रम मल्लले नयाँ पुस्ताका खेलाडीलाई समेत मिडियामा लगेर भड्काउने काम गरेका कारण ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाइएको बताएका छन्।

‘छानबिन समितिको प्रतिवेदनमा टिमका कप्तानकै मुख्य कमजोरीका कारण यो घटना भएको भन्ने निष्कर्ष निकालिएको थियो। कप्तान भएर अन्य खेलाडीलाई नियम सिकाउनुपर्नेमा ज्ञानेन्द्रले नयाँ पुस्ताका खेलाडीलाई समेत मिडियामा लगेर बोल्न उक्साउने काम गरे’, देशसञ्चारसँग कुरा गर्दै क्यानका कार्यबाहक सचिवसमेत रहेका मल्लले भने।

क्यान बोर्ड बैठकले बुधबार ज्ञानेन्द्रलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो। मल्ल संयोजकत्वको समितिले पेश गरेको प्रतिवेदनका आधारमा बोर्ड बैठकले निर्णय गरेको हो।

‘खेलाडीमाथि यो सामान्य कारबाही हो। उहाँहरुलाई खेल्न रोक लगाइएको छैन’, मल्लले भने। सेन्ट्रल कन्ट्रयाक्टका लागि भएको ग्रेडिङमा असन्तुष्ट भएका खेलाडीहरुले त्यस विषयमा विभिन्न सन्चारमाध्यमहरुमार्फत गुनासो सार्वजनिक गरेका थिए।

‘बोर्ड बैठकले गरेको निर्णयलाई खेलाडीले मान्नुपर्छ। चित्त नबुझे गुनासो गर्ने ठाउँ हुन्छ। तर मिडियामा गएर बोल्नु अनुशासनविपरीत काम हो’, मल्लले भने। क्यानले नयाँ कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ। मल्लले बोर्ड बैठकमा नयाँ कप्तानका रुपमा सन्दीपको नाम प्रस्ताव भएको र निर्णय भएपछि आफूले उनलाई फोन गरेर सुनाउँदा ‘थ्यांक यू’ भन्ने जवाफ पाएको पनि बताए।

सन्दीपलाई कप्तानी दिने विषयमा बोर्डले निकै सोचेर निर्णय गरेको र यसमा अडिग रहने पनि बताए। ‘सन्दीप युवा छन् र उनीसँग लामो समय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सम्भावना छ। ग्लोबल एक्सपोजरसमेत रहेकाले उनको नाम पहिलो विकल्पका रुपमा अगाडि सारिएको थियो’, भैरहवा निवासी मल्ल भन्छन्।

नयाँ परिस्थितिमा कारबाहीमा परेका खेलाडीले नखेल्ने निर्णय गरे के गर्नु हुन्छ भन्ने विषयमा मल्लले ‘त्यस विषयमा अहिले सोची नहालेको र खेलाडीको काम खेल्ने भएकाले त्यसका लागि अवसर कायमै रहेको’ बताए।

क्यान र खेलाडीबीचको द्वन्द्व नयाँ होइन। तर यसअघि क्रिकेट खेलाडी लगातार क्यानमाथि हावी हुँदै आएका थिए। आफूमाथि भएको कारबाहीलाई लिएर ज्ञानेन्द्र र दीपेन्द्रसिंह ऐरीले कुनै प्रतिक्रिया दिएका छैनन्। छानबिन समितिमा पूर्वराष्ट्रिय कप्तान विनोद दास पनि सदस्य थिए। बाहिर सामान्य देखिए पनि ज्ञानेन्द्रलगायत सिनियर खेलाडी र सन्दीपबीच सम्बन्ध राम्रो नरहेको बताइन्छ।

कमेन्ट्स
Loading...