सुचना, समाचार र मनोरन्जन

ओली विरुद्धको लडाईमा सबै एक हौं : भट्टराई

एलिजा क्षेत्री 

पोखरा /

जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा अब सबै एक जुट भएर लड्नुपर्ने बताएका छन् । बुधबार जनता समाजवादी पार्टी नेपाल गण्डकी प्रदेशले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै डा.भट्टराईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाएर कारवाही भए जस्तै जनताले नै ओलीलाई कारबाही गर्नुपर्ने औंल्याए ।

उनले ओलीले सत्ताको नाममा संविधानलाई नै धरासायी बनाएको आरोप लगाएका छन । ओलीको असंवैधानिक कदमले अहिलेको परिस्थति सिर्जना भएको उनको तर्क थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले बैशाखमा निर्वाचन कुनै हालतमा नहुने बताएका छन् । उनले सर्वोच्च अदालतको निर्णय कुरेर बस्ने समय नभएको जिकिर गरे । नेपाली जनताको त्याग र तपस्याले बनेको संविधानमाथि कुठाराघात हुन आफुले नदिने दाबी उनले गरेका छन् ।
हजारौं नेपाली आमाका सपुतको बलिदान बाट ल्याएको लोकतन्त्रलाई धरापमा पार्ने ओलीको कदम विरुद्ध डटेर लाग्न उनले सबैलाई आग्रह गरेका छन् । संसद पुर्नस्थापन गर्न अब सबै एक हुने बेला आएको उनको भनाई छ । डा.भट्टराईले संविधानमा पनि सबैको अधिकारलाई सम्बोधन नगरिएको उल्लेख गरे ।

उनले ओलीले न्यायधीसलाई समेत धम्क्याएर दबाबमा पार्न खोजेको आरोप लगाएका छन् । उनले भनेका छन्,“ओलीले आसेपासेलाई नियुक्त गरेका छन् । प्रधानन्यायधीसहरुलाई धम्क्याएका छन् । देशमा के हुन्छ अहिले नै भन्न सक्ने अवस्था छैन । ओली आफ्नो मात्र सोच्ने प्रवृतिका हुन् । यसमा अब सवै सर्तक हुनु पर्ने अबस्था आएको छ ।”

जनता समाजवादीका वरिष्ठ नेता असोक राईले कोरोना महामारीका बेला सरकार नागरिकको सुरक्षामा लाग्नुपर्नेमा आफ्नै पार्टी भित्रको विवादमा रोमलिएको बताए । उनले भने,“घरको झगडा मिलाउन नसक्ने ओलीले देशमा परिवर्तन ल्याउँछन् भनेर कसरी विश्वास गर्ने ?”

राईले ओलीले अहिलेसम्म जनतालाई गुमराहामा पारे पनि अब उनको दिन गएको उल्लेख गरे । नेपाली जनता बुझ्ने भएको र अब जनताले नै ओलीलाई सडकमा ल्याउने उनको तर्क थियो ।

पूर्व मन्त्री तथा जनता समाजवादी पार्टीका नेता सरदसिंह भण्डारीले गण्डकी प्रदेशमा भएको विरोध सभाको उपस्थितिले देशमा एउटा सन्देश प्रवाह गर्ने बताए । दुई तिहाईको सरकारले भ्रष्टाचार बाहेक अरु काम गर्न नसकेको उनको आरोप थियो । ओली सरकारले देश विकास गर्छ भनेर विश्वास गर्नु भनेको “बालुवामा पानी हाले जस्तो” भएको उनले बताए ।

कार्यक्रममा नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री ओलीको कदम नसचिएसम्म आन्दोलन गर्नु पर्नेमा जोड दिए । पोखरामा प्रर्दशन भएको कार्यक्रममा समाजवादीका नेता तथा कार्यकर्ताले “केपी तिम्रो पाराले दुःख पाए साराले”, “जननिर्वाचित प्रतिनिधि सभा सुचारु गर” लगायतका नारा लगाउदै प्रधानमन्त्री ओलीको विरुद्ध ¥याली समेत प्रदर्शन गरेका थिए । कार्यक्रममा पन्चेबाजा बजाइएको थियो ।

लोकदोहोरी गायिका पार्वती जिसीले प्रस्तुति दिएकी थिइन । यु एण्ड मी कल्चर गु्रपले नृत्य प्रस्तुत गरेको थियो । गण्डकी प्रदेशका सबै जिल्लाबाट जनता समाजवादी पार्टीका कार्यकर्ताको सहभागिता रहेको थियो ।

कमेन्ट्स
Loading...