सुचना, समाचार र मनोरन्जन

बंगालमा विकसित सामुद्रिक आँधीको प्रभाव नेपालको पूर्वमा पनि

काठमाडौँ/

बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित शक्तिशाली सामुद्रिक आँधीको प्रभाव नेपालको पूर्वी भागमा आंशिक रुपमा परेको मौसमविदले बताएका छन् । ‘मिचोङ्ग’ नाम दिइएको सामुद्रिक आँधीको प्रभावले कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भागसम्म बादल लाग्ने मौसमविद सरोज पुडासैनीले जानकारी दिए। यस्तो अवस्था दुई–तीन दिनसम्म रहने सम्भावना रहेको उनले बताए ।

‘मिचोङ्ग’ सामुद्रिक आँधीको कारण भारतमा तीव्र हावाहुरी र वर्षाले खासगरी दक्षिणी राज्य तमिलनाडु र आन्ध्रप्रदेशको जनजीवन प्रभावित भएको छ । चेन्नईमा पाँच जनाको मृत्यु भएको छ । कयौं उडानहरु रद्ध भएका छन् । सडक, वस्ती र विमानस्थलहरुसमेत डुबानमा परेका फोटोरभिडियो सार्वजनिक भइरहेका छन् ।

प्रतिघण्टा ११० किलोमिटरको गतीमा बहेको आँधी भारतको उत्तरपश्चिमतिर गइरहेको छ । यो आँधी मंगलबार बिहान दक्षिण आन्ध्रप्रदेशको तटमा टकराउने र कमजोर हुँदै जाने भारतको मौसम विज्ञान विभागले अनुमान गरेको छ ।

यसले क्षति पुर्याउन सक्ने भएकाले आन्ध्रप्रदेशका आठ जिल्ला ९तिरुपती, नेल्लोर, प्रकाशम, बापटला, कृष्णा, पश्चिम गोदावरी, कोनसिमा र काकीनाडा० मा उच्च सतर्कता अपनाइएको छ । ‘मिचोङ्ग’ सामुद्रिक आँधीको असरले भारतमा बुधबारसम्म भारी वर्षा हुने पूर्वानुमान छ ।

नेपालमा भने यो आँधीले पानी पर्ने र हावाहुरी चल्ने सम्भावना नरहेको मौसमविद पुडासैनीले बताए । उनले भने, ‘वायुमण्डलको माथिल्लो भागको बादल अलिअलि नेपालसम्म आउने भएकाले यसले हामीलाई खासै असर पर्दैन ।’ तर आज, भोलि र पर्सिसम्म पूर्वी नेपालमा बादलमात्र लाग्ने र पश्चिम नेपालमा भने मौसम सफा हुने सम्भावना रहेको उनले बताए ।

नेपालमा पश्चिमी वायुको समेत प्रभाव रहेकाले कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना मात्र रहेको मौसमविद पुडासैनी बताउँछन् । उच्च पहाडी भागमा हल्का हिमपात हुने सम्भावना छ ।

पश्चिम नेपालमा हिजो हिमपात र वर्षा भएको थियो । गएरातिदेखि भने त्यस्तो अवस्थामा क्रमिक सुधार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकेको नेपालगञ्ज र आसपासका क्षेत्रमा हल्का बादल लागिरहेको तर कैलालीको धनगढीतिर मौसम सफा रहेको महाशाखाका मौसमविद पुडासैनीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.