काठमाडौं । अंग्रेजी नयाँ वर्षको छेको पारेर गायक दीप श्रेष्ठले चितवनमा आफ्ना नयाँ पुरा गीतहरु दर्शकमाझ गुञ्जाउने भएका छन् । कोरोना संक्रमणपछि कुनै पनि सांगीतिक कार्यक्रममा सहभागी नभएका दीप लामो समयपछि सांगीतिक कार्यक्रममा फर्कन लागेका हुन् ।
डिसेम्बर ३१ मा भरतपुर महानगरपालिका ६ देवनगर÷चम्पानगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) हवेलीले आयोजना गर्ने कार्यक्रममा दीप आफ्नो प्रस्तुति दिन लागेका हुन् । ‘दीप श्रेष्ठ म्युजिकल नाइट’मा दीपले गीत गाउने भएपछि कार्यक्रमका लागि चितवन, सहित काठमाडौं, धरानलगायतका जिल्लाबाट समेत टिकट बुकिङ भइसकेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार गायक श्रेष्ठले ‘म त दुरदेखि आए’, ‘हर रात सपनीमा’,‘वितेका कुरा’,‘एउटै बाटो’, ‘उ यात्री’ ‘सपनालाई अंगालेर’ लगायत दर्जनौ गीतहरु प्रस्तुत गर्ने छन् भने उनीसँगै अभिनेत्री गौरी मल्ल, बेलि डान्सर विनु शाक्य, गायिका अन्जना राईलगायतको पनि प्रस्तुती रहनेछ ।
