सुचना, समाचार र मनोरन्जन

२५ औं भदौरे पञ्चासे महोत्सव पुष ५ गतेदेखि हुने

महोत्सवमा रजत जयन्ती, तमु ल्होसार, कोदोको परिकारको प्रवद्र्धन तथा फुटबल र नृत्य प्रतियोगिताका साथमा मनोरञ्जनात्मक कार्यक्रम हुनेछ ।

पोखरा /

कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ५ देखि ९ गते सम्म ‘२५ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा रजत जयन्ती, तमु ल्होसार, कोदोको परिकारको प्रवद्र्धन तथा फुटबल र नृत्य प्रतियोगिताका साथमा मनोरञ्जनात्मक कार्यक्रम हुनेछ ।

भदौरे क्लब र भदौरे आमा समूहको आयोजनामा हुने महोत्सवमा विशेष सहयोगिको भुमिका अन्नपूर्ण गाउँपालिकाले निर्वाह गरेको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको महोत्सव संयोजक विश्वदल गुरुङले जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महोत्सवले ठुलो भूमिका खेलेको हुँदा यसलाई निरन्तरता दिइएको क्लबका सल्लाहकार तथा अन्नपूर्ण गाउँपालिका वडा नं। ४ का वडाध्यक्ष आइन्दल गुरुङले बताए । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कोदोबाट बनाइएको विभिन्न खानाका परिकारको स्वाद लिन समेत उनले आग्रह गरे ।

महोत्सव अवलोकन गर्न आउने पाहुनालाई मनोरञ्जन गराउनका लागि खेलकुद तथा साँस्कृतिक कार्यक्रमका साथमा विशेष नृत्य प्रस्तुत गरिने भदौरे क्लवका अध्यक्ष अनिल गुरुङले जानकारी दिए । सुन्दर गाँउ अवलोकन गरि यसै ठाउँमा बस्न चाहनेका लागि होमस्टेको समेत व्यवस्था रहेको उनले बताए ।

महोत्सवको साथमा भदौरेबाट पञ्चासे पर्यावरणीय पदयात्रा, होमस्टे, पञ्चासे योगा तथा मेडिटेसन, पञ्चासे ईको क्याम्प {सानो घर} आवास, पञ्चासे जंगल सफारी, फरेस्ट थेरापी तथा जंगल भ्रमणको अनुभव लिन सकिने पञ्चासे क्षेत्र विकास समितिका प्रवक्ता नबराज पौडेलले जानकारी दिए ।

महोत्सवमा हुने ७ ए साइड फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १ लाखका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो हुने टिमले नगद ६० हजार रुपैयाका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै सेमिफाइनलसम्म मात्र पुग्ने टिमलाई २०–२० हजार रुपैयाँका दरले सम्मान गरिनेछ ।

पर्यटक आवासको लागि भदौरे गाँउमा होटेल तथा होमस्टेहरु सञ्चालित रहेका छन् । अन्नपूर्ण गाउपालिका वडा नं. ४ मा रहेको भदौरे गाउँ पोखरा देखि ३० किलोमिटर पश्चिममा रहेको छ । पञ्चासेको काखमा रहेको सो गाँउ आन्तरिक र वाह्य पर्यटकको एक आकर्षक स्थल पनि हो । शितल हावापानी रहेको सो मनमोहक गाँउ प्रकृतिक सुन्दरताले भरिभराउ छ ।

सैयौं प्रजातिका सुनाखरि पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठुलो क्षेत्र यसै गाँउमा पर्दछ । पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि सो गाँउलाइ चिनिन्छ । मेला स्थलबाट अन्नपूर्ण हिम श्रृंखला अन्तरगत निलगिरी, धौलागिरि, माछापुच्छ्रे लगाएतका हिमालहरु प्रस्टरुपमा देख्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.