नरेशबहादुर भट्टराई २३ औं पोखरा सडक महोत्सवका संयोजक हुन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराले यही पुस १५ देखि १७ गतेसमम्म लेकसाइडको तीन किलोमिटर सडकमा यो महोत्सव आयोजना गर्दैछ । यसैका लागि अहिले महोत्सवस्थल ध्वजा, पतका र ब्यानरले झकिझकाउ हुँदै छ । रेवान पोखराका प्रथम उपाध्यक्ष र माउण्ट कैलाश रिसोर्टका संचालक समेत रहेका भट्टराईसँग सडक महोत्सवलाई केन्द्रित गरी रुपनारायण ढकालले गरेको वार्तालाप यहाँ प्रस्तुत गरिएको छ :
महोत्सवको तयारी कसरी अगाडि बढ्दै छ?
महोत्सवको तयारी अब अन्तिम चरणमा पुगेको छ । स्टलहरु निर्माणको काम करिब सकिएको छ । लोकदोहोरी, लाइभ ब्याण्ड, हस्तकला जस्ता आकर्षणहरुको व्यवस्थापनका लागि समेत काम सकिएको छ । सडक मार्ग सजाउने र आकर्षक बनाउने काम पनि अगाडि बढीरहेको छ । महोत्सवस्थल कोमागाने पार्कमा समेत यस्ता काम जारी छन् । सांस्कृतिक झाँकी, गण्डकी प्रदेशका संस्कृति, काठमाडौंबाट लाखे नाच, कुमारी नाच र मञ्जुश्री नाच जस्ता आकर्षण पनि महोत्सवमा समेटिने छन् । मौलिक भेषभूषा, लोक दोहोरी, देशविदेशका खानाको प्रदर्शन, रातिको समयमा कन्सर्ट, डुंगा दौड, वेटर दौड, रस्साकस्सी जस्ता कार्यक्रम समावेश गर्न काम अगाडि बढाइएको छ । काठमाडौंमा प्रेस मिट सम्पन्न भइसकेको छ । पोखरामा अन्तिम प्रेस मिट मंगलबार हुने छ ।
सडक महोत्सव लक्षित पाहुनाहरुबाट होटल लगायत अन्य सेवाका लागि बुकिङको ताकेता कत्तिको आइरहेको छ?
सडक महोत्सवले निरन्तरता पाउने भएपछि पोखराप्रति आन्तरिक तथा बाह्य पर्यटकको चासो बढेको छ । बुकिङ पनि राम्रो आइरहेको छ । ठूला र पर्यटकीय स्तरका होटलमा ६० प्रतिशतको हाराहारीमा बुकिङ देखिन्छ । यसमा आन्तरिक पर्यटकको हिस्सा नै धेरै रहेको छ । सडक महोत्सव एउटा पर्यटकीय ब्राण्ड भएका कारण पनि यो समय पर्यटकको पोखरा आउने क्रम बढी नै देखिन्छ । नेपाल मात्र नभई भारतबाट समेत यो अवसरमा पर्यटक आउने गरेका छन् । हालैको क्रिसमसमा समेत थुप्रै भारतीयहरु निजी सवारी लिएर पोखरा आएको पायौं ।
कोभिड– १९ को माहामारीविच महोत्सव हुँदै छ । ओमिक्रोन नामक नयाँ भेरियन्टले पनि त्रास छरेकै छ । यसप्रति महोत्सवमा कस्तो सजगता अपनाइँदै छ?
गत बर्ष कोभिडका विच हामीले महोत्सवलाई निरन्तरता दियौं । यो पटक पनि विगत बर्षमा झैं महोत्सवलाई तीन दिनमा सीमित गरिएको छ । पहिला पहिला पाँच दिन महोत्सव संचालन हुन्थ्यो । यो पटक महोत्व गर्ने नगर्ने भन्ने छलफल हुँदै गर्दा स्थानीय, सरोकारवाला, आमा समूह र प्रहरी प्रशासशनबाट समेत राम्रो साथ पाउने भएपछि यसलाई निरन्तरता दिने टुंगोमा पुगेका हौं । गत बर्ष त खोपको कुरा बल्ल आउँदैथ्यो । अहिले त ८० प्रतिशतले खोप लगाइसकेका छौं । समग्रमा स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर नै हामी महोत्सव संचालन गर्ने छौं । प्रशाशन र स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरुसँग सहकार्य गरेर हामीले महोत्सवमा हेल्थ डेष्कहरुको व्यवस्था गर्ने छौं । मास्क र सेनिटाइजरको प्रयोग र सकेसम्म भौतिक दुरीको पक्षलाई पनि ख्याल गरिने छ । आबश्यक पर्दा कोभिड लक्षित एन्टिजेन परीक्षण पनि गरिने छ । खोप नलगाएका आगन्तुकलाई महोत्सवस्थलमा खोपको पनि व्यवस्था गरेका छौं ।
विगतमा सहभागीबाट महोत्सवमा होटलका कोठा र रेष्टुराको मेन्यू महंगो भयो भन्ने गुनासो पनि सुनिएको हो । यो पटक महोत्सवमा छुट र डिस्काउण्टको कस्तो व्यवस्था गरिएको छ?
सडक महोत्सव संचालन हुँदै गर्दा रेष्टुराँमा नियमित उपलब्ध मेन्यूको सट्टा नयाँ मेन्यू व्यवस्था हुने छ । हाम्रा सदस्य रेष्टुराँले एउटै मेन्यू प्रस्तुत गर्ने छन् । यसलाई रेष्टुराँ अगाडि प्रवेशद्वारामा नै देखिने गरी राखिने छ । तर नियमित मेन्यूको तुलनामा यो सस्तो हुने छ र विभिन्न खानाहरु समावेश गरिने छ । होटलहरुले कोठामा ३० प्रतिशत छुट दिने छन् । प्याराग्लाइडिङमा ३३ प्रतिशत छुट घोषणा गरिएको छ । यस्ता कुरालाई कडाईका साथ लागू गराउन अनुगमन समिति बनाएका छौं । कथंकदाचित ठगिएको महसुस भए आगन्तुकले बीलसहित समितिसँग गुनासो राख्न सक्ने छन् । गल्ती गर्नेलाई प्रशासनसँग सहकार्य गरेर समितिले आबश्यक कार्वाहीको सिफारिस गर्ने छ । होटल बसाई महंगो भन्ने विगतमा सुनिने गुनासोहरु पनि पछिल्ला बर्षहरुमा मत्थर हुँदै गएका छन् ।
महोत्सवले बोकेको प्रमुख उद्धेश्यहरु कस्ता छन् ?
पोखरालाई अंग्रेजी नयाँ बर्ष मनाउने गन्तव्यको रुपमा विकास गर्ने र पोखरा सुरक्षित छ भन्ने सन्देश यो महोत्सवले दिने छ । यो महोत्सव सडकमा आयोजना गरिने मध्ये नेपालकै सबै भन्दा ठूलो हो पनि भन्न सकिन्छ । महोत्सवमा संस्कृति, खाना र संगीतको पक्षलाई बढी जोड दिइएको छ । सडकमै खाउँ, सडकमै रमाउँ भन्ने सन्देशलाई प्रभावकारिता प्रदान गरिने छ । विगतमा यो समयमा व्यवसायीहरु विदा मनाउन विदेश जाने र कर्मचारीलाई समेत विदामा पठाउने चलन थियो तर आन्तरिक पर्यटक बढ्ने क्रमले पोखरा १२ महिना नै खुल्ला छ भन्ने सन्देश हामी दिन खोज्दै छौं । महाभुकम्प पछिको पर्यटन आन्तरिक पर्यटकले नै थेगेका हुन् । विदेशी पर्यटक भन्दा नेपाली पर्यटकले धक फुकाएर खर्च पनि गर्छन् । विदेशीहरुमा अड्कलेर खर्च गर्ने प्रवृत्ति हुन्छ । त्यसकारण पनि आन्तरिक पर्यटकलाई थप बढवा दिन प्रदेश सरकार, स्थानीय सरकार र व्यवसायी मिलेर प्रोत्साहनका कार्यक्रम र प्याकेज ल्याउन जरुरी छ । के कस्ता सुविधा पर्यटकलाई दिन सकिन्छ भन्ने बारेमा बहस अगाडि बढाउन जरुरी छ ।