सुचना, समाचार र मनोरन्जन

महोत्सवलाई लक्षित गरी छुट घोषणा गरेका हौं : लक्ष्मण सुबेदी, अध्यक्ष, पश्चिमाञ्चल होटल संघ पोखरा

पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटनले राम्रो फड्को मारेको छ । महाभूकम्प, नाकाबन्दी र कोभिड १९ को प्रभावका वापजूद नेपालीहरु घुम्न निस्कने गरेका छन् । यो क्रमलाई कोभिड १९ ले बढी नै मात्रामा प्रभाव पार्यो । तर पनि गएको दशैं यता पोखरामा पर्यटक आउने क्रम राम्रो देखिएको छ ।

विहीबारबाट पोखरामा रेवान पोखराको आयोजनामा पोखरा सडक महोत्सव पनि संचालन हुँदै छ । महोत्सव अघि होटलहरुमा त्यस्तो उल्लेख्य पाहुना आएका छैनन् । झरिको प्रभाव पनि हुन सक्छ । तर तीन दिने महोत्सवको दोश्रो दिन १६ पुसका लागि होटलमा राम्रो बुकिङ रहेको छ । यस्तो बुकिङ सबैजसो आन्तरिक पर्यटकले नै गरेका हुन् । आन्तरिक पर्यटकको लागि पोखरा पहिलो रोजाइको गन्तव्य पनि हो । त्यसैले पनि सडक महोत्सवका अवसरमा पोखरा आउने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रहने गरेको छ ।

महोत्सवलाई नै लक्षित गरी पश्चिमाञ्चल होटल संघ पोखराले पर्यटकहरुलाई कोठाको ट्यारिफमा ३० प्रतिशत छुट दिन सदस्य होटलहरुलाई परिपत्र गरेको छ । महोत्सवलाई सफल बनाउन हामीले यस्तो छुट घोषणा गरेका हौं । यो छुट महोत्सव अवधिभरका लागि हो । अन्य समयमा लिइंदै आइएको नियमित दरमा उक्त छुट प्रदान गरिने छ । मेला सफलतापूर्वक सम्पन्न होस् र गण्डकी प्रदेशको पर्यटनमा सकारात्मक प्रभाव परोस् भनेर हामीले रेवानसँग सहकार्य गरेर काम गरिरहेका छौं । महोत्सवको क्रममा पनि यस्तो सहकार्य भएको छ ।

अर्को कुरा मेला र महोत्सव रेवान वा होटल संघ जसले गरे पनि बढी फाइदा लिने रेष्टुराँ र होटल नै हुन् । त्यही भएर पनि सडक महोत्सवको सफलता हाम्रो पनि सफलताको रुपमा बुझेका छौं । हामीले नेपाली नयाँ बर्षका अवसरमा आयोजना गर्दै आएको महोत्सवमा रेवानले पनि सहयोग गरेकै छ । आउने पर्यटकलाई लक्षित गरी होटलमा हामीले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर पर्यटक राख्ने गरेका छौं । मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । कोठा र त्यहाँका विस्तारा पनि संभव भएसम्म पर्यटक गएको केही दिनपछि मात्र निर्मलीकरण गर्ने गरेका छौं ।

मंसीर, पुस र माघ जस्ता जाडो यामका महिनामा पहिलापहिला पोखरामा पर्यटक उति हुन्थेनन् । नेपालीहरुमा अहिले जस्तो घुमघाम गर्ने क्रम देखिंदैनथ्यो । पोखरा आउने विदेशी नयाँ बर्ष र क्रिसमय मनाउन स्वदेश फर्कने प्रचलन थियो । बढी जाडो हुने यी महिनामा पदयात्रा पनि उति हुने गर्दैन । तर पर्यटन क्षेत्रमा हुँदै आएका मेलाले पोखरामा चहलपहल बढाउने गरेका छन् । यस अवसरमा पोखरा घुम्न जानुपर्छ भन्ने मान्यताको विकास हुँदै आएको छ । व्यवसायी र सरकारले आन्तरिक पर्यटकको महत्व बुझ्न थालेपछि पनि यस्तो अवस्था देखिन थालेको हो । अतः सिजन र अफसिजन नभनी पोखरा १२ महिना नै खुल्ला छ भन्ने सन्देश हामी दिन चाहन्छौं ।

पोखरा सडक महोत्सवमा बढी मात्रामा आन्तरिक पर्यटक नै आउने गरेका छन् । पोखरा र वरपरका वासिन्दा महोत्सव घुमेर बास बस्न आफ्नै घर फर्कने चलन बढेको छ । पहिला भने लेकसाइड गएर रात विताउने क्रम पनि थियो । बढी पर्यटक आउने, कोठा पाउन गाह्रो हुने र भिडका कारण पनि अहिले स्थानीयहरु प्रायजसो घर नै फर्कन्छन् । स्वदेशी हुन् वा विदेशी सबै सडक महोत्सवमा देखिने गरेका छन् । तर विदेशीको संख्या भने निकै कम रहेको छ । दोहोर्याएर महोत्सव आउने विदेशीको संख्या थोरै मात्रामा हुन सक्छ ।

आन्तरिक पर्यटन प्रबद्र्धनका लागि नै हामीले नेपालमा जाउँ है पोखरा जस्तो कार्यक्रम सुरुवात गरेका थियौं । दुई दशक भन्दा बढी समयदेखि यसलाई संघले निरन्तरता दिंदै आएको छ । यस कार्यक्रमका कारण पनि आन्तरिक पर्यटन प्रबद्र्धनले फड्को मारेको हामीले पाएका छौं । निकट भविश्यमा नै हामी यो कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिने तयारीमा छौं ।

(रुपनारायण ढकालसँगको वार्तामा आधारित)

कमेन्ट्स
Loading...