पोखरा/
आज पुस १५ अर्थात तमु ल्होसार । धुमधामका साथ यो पर्व मनाईदैछ । गुरुङ समुदायले आजको दिनलाई नयाँ बर्षको शुरुवात भएको दिन मान्दै तमु ल्होसारलाई धुमधामका साथ मनाउने गर्दछन् । उनिहरुले हरेक बर्षको १५ गते तमु ल्होसार मनाउने गर्दछन् ।
‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। गुरुङ जातिको १२ वटा बर्ग चक्रमध्ये यसवर्ष च्य्ह ल्हो अर्थात् चरा बर्गको बिदाई गरी ’खि’ ल्हो अर्थात् कुकुर बर्गको स्वागत गरिँदैछ ।
गुरुङ जातिले हरेक वर्षको पुस १५ गते नयाँ वर्षको रुपमा ल्होसार मनाउँछन् । यस अवसरमा उनिहरु खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर मनाउने गर्दछन ।
तमु ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले शुभकामना व्यक्त गर्नुभएको छ । तमु ल्होसारका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
उता सुदुरपश्चिममा आजकै दिन ठुलीरात धुमधामसंग मनाइदै छ । आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राती मिठो मिठो खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहिआएको छ ।
पन्नरी रातका रुपमा समेत मनाईने यो पर्वमा आज १५ किसिमका परिकारहरु खाने गर्दछन । तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ ।
पुष १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरिर समेत फूर्तिलो हुन भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको छ । विशेषगरी आजको रातमा नसुतेर यो पर्व मनाउने परम्परा छ ।
नेपाली समाजमा पुष १५ लाई छोटो दिन मान्ने गरिन्छ । आजको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । आजदेखि दिनहरु विस्तारै लम्विदैँ जाने र असार १५ मा बर्षकै ठुलो दिन मानिन्छ ।