सिमकोट/
हिमपातका कारण हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ। हिमपातका कारण कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ।
विमानस्थलमा एक फिटभन्दा बढी हिउँ जमेका कारण उडान हुन नसकेको हो। हिजोदेखि नेपालगञ्जबाट उडान भर्ने तयारी गरिरहेका विमानले हिमपातका कारण उडान भर्न पाएका छैनन ।
सीता, समिट र तारा एयरका जहाजले उडान भर्दै आएका थिए। हवाई सेवा अवरुद्ध भएपछि सिमकोटबाट सुर्खेत र नेपालगञ्ज जानुपर्ने यात्रु सिमकोटमै रोकिएका छन् भने नेपालगञ्ज र सुर्खेतबाट आउने यात्रु पनि उतै रोकिनुपरेको छ।नेपालगञ्ज र सुर्खेतबाट ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको खाद्यान्न पनि हवाई सेवा अवरुद्ध हुँदा ढुवानी हुन सकेको छैन।
हिमपातकै कारण सिमकोटबाट आन्तरिक रूपमा सञ्चालन हुने यातायातका साधन पनि बन्द छन्। सिमकोटबाट खार्पु, बरगाउँ, ठेहे र हेक्पा खोलासम्म ती यातायातका साधन सञ्चालन हुँदै आएका थिए।
