सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेशमा एक अर्ब ३७ करोड पुनर्कर्जा स्वीकृत

रुपनारायण ढकाल ।

चालू आर्थिक बर्षमा गण्डकी प्रदेशमा एक अर्ब ३७ करोड ५९ लाख रुपैयाँ पुनर्कर्जा नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । जारी बजेटमा व्यवस्था भए अनुसार यस्तो पुनर्कर्जा स्वीकृत गरिएको हो । उक्त रकम यसपटक स्वीकृत कूल पुनर्कर्जाको ११.६२ प्रतिशत हो ।

कोरोना महामारीबाट प्रभावित उद्योगी व्यवसायीलाई एकमुष्ट रुपमा पुनर्कर्जा दिने गरी थप पुनर्कर्जाको लागि नेपाल राष्ट्र बैंकले कात्तिकको दोश्रो साता आवेदन आव्हान गरेको थियो । आवेदन दिनेले कात्तिक १४ गते देखि मंसिर १९ गतेसम्म त्यस्तो कर्जाका लागि निवेदन दिएका थिए ।

गण्डकी प्रदेशमा पुनर्कर्जा पाउनेमा होटल सिटी पार्क, घलेम्दी हाइड्रो लिमिटेड, स्वीफ्ट होलिडेज प्रालि, न्यू लिंक कापि इन्डष्ट्रिज प्रालि, होटल बाराही प्रालि, होटल पोखरा भिलेज प्रालि, सेभेन लेक्स रिसोर्ट प्रालि, विकास हाइड्रो पावर कम्पनी प्रालि, होटल शारा प्रालि र गन्तव्य रिसोर्ट प्रालि रहेका छन् । यसैगरी वाटरफ्रन्ट रिसोर्ट प्रालि, सुजल डेरी प्रालि, युनियन हाइड्रो पावर लिमिटेड, होटल सिल्भरलाइन प्रालि, विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड, होटल सरोवर प्रालि, होटल आनन्द प्रालि, आनन्द एग्रोज इन्डष्ट्रिज प्रालि, होटल डेन्डीलायन प्रालि, हिल्स ग्रुप कम्पनी प्रालि र मन्दाकिनी हाइड्रो पावर लिमिटेड पनि गण्डकीको सूचीमा परेका छन् ।

राष्ट्र बैंकले गएको साउनदेखि मंसिर मसान्तसम्म कूल ९१ कम्पनीका लागि कूल ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ बराबरको पुनरकर्जा स्वीकृत भएको तथ्यांक सार्वजनिक गरिएको छ । पुनर्कर्जाको ठूलो हिस्सा भने बागमती प्रदेशले पाएको देखिएको छ । यस प्रदेशले पुनर्कर्जाको ५० प्रतिशत हिस्सा पाउँदा पाँच अर्ब ६६ करोड ६६ लाख रुपैयाँ पाएको छ । यस्तै पुनर्कर्जाको २२.६६ प्रतिशत रकम लुम्बिनी प्रदेशमा परेको छ भने प्रदेश नं. १ मा १२.८७ प्रतिशत तथा प्रदेश २ मा ४.८७ र सुदुर पश्चिममा कुल पुनरकर्जाको ०.८३ प्रतिशत गएको छ । सबैभन्दा कम पुनर्कर्जा भने सुदुरपश्चिममा गएको हो ।

वितेका पाँच महिनामा सबैभन्दा बढी पुनर्कर्जा पर्यटन क्षेत्रका लागि स्वीकृत गरिएको छ । यो क्षेत्रमा कूल ६ अर्ब १५ करोड ३३ लाख रुपैयाँ अर्थात् कूल पुनर्कर्जाको ५१.९७ प्रतिशत गएको छ । २ अर्ब ३५ करोड ७१ लाख रुपैयाँ जलविद्युत कम्पनीहरुले पाएका छन् भने उत्पादनमुलक व्यावसाय गर्ने व्यावसायीहरुका लागि १ अर्ब ९७ करोड ५१ लाख रुपैयाँ पुनर्कर्जा स्वीकृत गरिएको छ । त्यस्तै शिक्षा क्षेत्रका लागि ८५ करोड ४९ लाख, यातायात व्यावसायीहरुले २४ करोड ५३ लाख, अस्पताल व्यावसायीहरुले २० करोड र कपडा व्यावसायी तथा उद्योगीहरुले ५ करोड ४७ लाख रुपैयाँ पुनर्कर्जा पाएको देखिएको छ ।

कोभिड १९ बाट अति अति प्रभावित तथा मध्यम रुपमा प्रभावित क्षेत्रका व्यवसायीले पुनर्कर्जा कार्यविधि २०७७ अनुसार उल्लेखित कर्जा पाएका हुन् । अति प्रभावितले २० करोड र मध्यमप्रभावितले १० करोड रूपैयाँसम्म त्यस्तो कर्जा पाएका छन् । व्यवसायीहरुले कूल आफ्नो पुँजीको बढीमा २५ प्रतिशत पुनर्कर्जा पाउने व्यवस्था छ । पुनर्कर्जा कार्यविधि अनुसार लघु, घरेलु तथा साना उद्यम व्यवसायीले यस्तो कर्जा २ प्रतिशत ब्याजमा पाउँछन् ।

कमेन्ट्स
Loading...