काठमाडौँ/
नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायके ग्लोबल छनोटका लागि प्रारम्भिक छनोटका ३० खेलाडी बोलाउने बताएका छन। बिहीबार क्रिकेट संघ क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा पुबुदुले ३० खेलाडी बोलाउने र नाम आजै बेलुकी वा भोलि बिहान सार्बजनिक गर्ने बताएका छन ।
उनले आफ्नो ध्यान अभ्यास खेलमा केन्द्रित हुने पनि बताएका छन । क्यानले नियुक्त गरेको कप्तान परिवर्तन नहुने पनि उनले सो क्रममा जानकारी दिए। यसअघि क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्तसहित कारबाही गरेको थियो।

त्यसपछि सन्दीप लामिछानेलाई क्यानले कप्तानको जिम्मेवारी दिएको छ। ‘कप्तान परिवर्तन हुने छैन। किन कि यो सबै क्यानको अधिकार क्षेत्र हो,’ पुबुदुले भने। तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले भदौमा राजीनामा गरेपछि रिक्त पदमा नियुक्त भएका दसानायके प्रशिक्षण सम्हाल्न नेपाल आइपुगेका हुन। क्यानको २५ मंसिरको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेको हो।
यसअघि नेपालले सन् २०११ देखि २०१५ सम्म पुबुदुको प्रशिक्षणमा खेलेको थियो। नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए।