सुचना, समाचार र मनोरन्जन

सडक महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाँणले भने पोखरा २४ घण्टा खुल्छ

पोखरालाई २४ घण्टा खुलाउने विषयमा छलफल गराएर निचोडमा पुर्‍याउन प्रमुख जिल्ला अधिकारी आचार्यलाई खाँणको निर्देशन। पर्यटन व्यवसायीलाई अनावश्यक रेड हान्ने, धरपकड गर्ने र दुख दिने जस्ता कार्य नगर्न मन्त्री खाँणको चेतावनी ।

नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकीय नगरी पोखरा चौबिसै घण्टा खुलाउन सरकार तयार रहेको बताएका छन्। बिहीबार पोखरामा सडक महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाँणले स्थानीय जनता तथा व्यवसायीहरूको पूर्ण साथ रहेमा पोखरालाई २४ घण्टा खुलाउन सकिने बताएका हुन् ।

‘तपाइहरु पोखरा चौबिसै घण्टा खुलाउने भन्नुहुन्छ , ठिक छ त्यसका लागि सरकार तयार छ तर पछि तपाइहरु मध्येबाटै यसरी किन खुलाएको भनेर विरोध हुन् भएन’, मन्त्री खाँणले भने । पोखरा चौबिसै घण्टा खुल्नुपर्छ भन्ने एकमत भएमा सरकार त्यसका लागि सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । तर त्यसरी पोखरालाई खुलाउँदा जनताका गुनासाहरू आउन नहुने उनको तर्क थियो ।

मन्त्री खाँणले भने, ‘तपाइहरु एक थरी पोखरा चौबिसै घण्टा खुला हुनुपर्छ भन्नुहुन्छ । संसारकै पर्यटकीय नगरी पोखरा सधैँ खुला हुनुपर्छ भन्ने माग पनि ठिक हो तर यसरी खुलाउँदा भोलि यहाँका जनताले रातभर हल्ला भयो सुत्न पाइएन भन्नलान् । रोगी, औषधि सेवन गर्नुपर्ने बिरामी मान्छेहरू सुत्न नपाउलान् त्यस्तो अवस्था आउनुभएन ।’

कार्यक्रममा अतिथिका रूपमा आसीन कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई मञ्च बाटै निर्देशन दिँदै मन्त्री खाँणले सरोकारवाला र सुरक्षाकर्मीसहितको तत्कालै बैठक राखेर पोखरालाई २४ घण्टा खुलाउने विषयमा छलफल गराएर निचोडमा पुर्‍याउन आग्रह गरे।

पोखराको कुन क्षेत्रलाई तत्काल त्यसरी खुलाउन सकिन्छ भन्नेबारे पर्यटन व्यवसायी र सरोकारवालाहरूले आफैँ छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने उनले बताए। ‘हामीले पुरै पोखरालाई नै २४ घण्टा खुलाउन सुरक्षाका हिसाबले पनि सम्भव नहोला तर यसको थालनीका लागि कुनै एउटा भूभागलाई ट्रायलका रूपमा अघि बढाउन सकिन्छ’, मन्त्री खाँणले भने।

पर्यटन व्यवसायीलाई अनावश्यक रेड हान्ने, धरपकड गर्ने र दुख दिने जस्ता कार्य नगर्न मन्त्री खाँणले चेतावनी दिए । सुरक्षाकर्मीले पर्यटन व्यवसायीलाई अप्ठ्यारो हुने काम नागरी भरपुर सुरक्षा दिनुपर्ने उनको तर्क थियो ।

कमेन्ट्स
Loading...