रौतहटका र्यापर समिर घिसिङ ‘भिटेन’ शुक्रबार राति पोखरामा स्टेज चढ्दै छन् । पोखरामा जारी रहेको सडक महोत्सवमा कोमागाने पार्कको स्टेजमा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ र्यापर भिटेनले आफ्नो प्रस्तुति मार्फत स्टेज तताउने छन् ।
विवादास्पद छवि भएका भिटेनले पोखरामा हजारौँ दर्शकका माझ स्टेजमा आफ्नो प्रस्तुति दिँदै गर्दा पोखराकै नयाँबजार घर भएका चर्चित र्यापर आशीष राना मगर ‘ लाउरे’ भने हिरासतमा हुनेछन् ।
गीतमा आपत्तिजनक शब्दको प्रयोग र अभद्र व्यवहारको आरोपमा प्रहरीको पक्राउमा परेर विवादास्पद छवि बनाएका र्यापर भिटेनमाथि बेला बेलामा प्रस्तुतिकै क्रममा ढुङ्गा र बोतल प्रहार हुँदै आएको छ । पोखरामा सडक महोत्सवकै बेला भिटेनको प्रस्तुतिकै क्रममा तीन वर्ष अघि दर्शकले ढुङ्गा प्रहार गरेका थिए भने दुई वर्ष अघि अष्ट्रेलियामा भएको साङ्गीतिक कार्यक्रममा बोतल प्रहार भएको थियो ।
तर यसअघि विवादमा खासै नतानिएका र्यापर लाउरे भने ब्राउन सुगर प्रयोग गरेको गम्भीर आरोपमा बुधवार राति पोखरा ८ जाल्पारोड स्थित एक घरको कोठाबाट पक्राउ परेका छन् । एक युवती र अन्य दुई युवकको साथमा १३.०१ ग्राम ब्राउन सुगर लागुऔषधसहित पक्राउ परेका भिटेनमाथि कास्की प्रहरीले लागुऔषध मुद्दामा जिल्ला अदालतबाट शुक्रबार आठ दिन म्याद थप अनुमति लिई अनुसन्धान शुरु गरेको छ । आफ्ना समकालीन र्यापर भिटेनले पोखराको लेकसाइडमा र्याप गाउँदा र्यापर लाउरे अन्य तीन जना सहित जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहने भएका हुन् ।
प्रहरीले लाउरे सँगै पक्राउ परेकी युवती सुस्मिता गुरुङ र दुई युवक ध्रुव बहादुर थापा र नवीन कुमार गुरुङमाथि म्याद थप गरेर अनुसन्धान थालेको छ । प्रहरीसँगको प्रारम्भिक बयानमा र्यापर लाउरेले आफूले लागुऔषध प्रयोग गर्ने गरेको स्वीकार गरेको कास्की प्रहरीको भनाइ छ ।
र्यापर लाउरेले प्रहरीलाई बयानको क्रममा भने जस्तै उनी लागुऔषध प्रयोगकर्ता मात्र भएको अवस्थामा उनीमाथि एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुने प्रावधान रहेको छ । एक वर्षसम्म कैद हुने मुद्दामा चिकित्सा केन्द्रमा उपचार गराउने गरी परिवारले जिम्मा लिएर जान पनि सक्नेछन् ।
यदि कास्की प्रहरीले अनुसन्धानको क्रममा उनी लागुऔषधको कारोबारी समेत भएको पुष्टि भएमा प्रचलित कानुन अनुसार लाउरेलाई ५ वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुन् सक्नेछ ।
नेपालको चर्चित रियालिटी शो हिमालय रोडिजको निर्णायक समेत रहेका र्यापर लाउरे र्याप ब्याटलबाट एकाएक चर्चामा आएका थिए । ताण्डव फिल्ममा अभिनय गरेका लाउरेले फिल्ममा ओएसटी पनि गाएका छन् । नेपहपको बाटो, हाउडे, केस नं। ४२०, मेरो सोल्टा, तीतो सत्य, चुप लाग, सुपर रागा, दुई रुपैयाँ उनका चर्चित गीतहरू हुन् ।
