सुचना, समाचार र मनोरन्जन

‘घरैया’ आलुको व्यावसायिक खेतीमा व्यस्त छन् बेलौरीका किसान

बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान स्थानीय जातको ‘घरैया’ आलु ९थारु आलु० को व्यवसायिक खेतीमा लागेका छन्। स्थानीय किसान प्रतापसिंह राना र असारे वडाकले छ बिघा जग्गामा घरैया आलुको व्यवसायिक खेती गरेका छन्।

कृषि ज्ञानकेन्द्रको थारु आलु विस्तार कार्यक्रमअन्तर्गत ५० प्रतिशत बीउ अनुदानमा स्थानीय जातको आलु खेतीलाई ती दुवै किसानले अगाडि बढाएका हुन्। ‘खानमा स्वादिलो र थोरै मेहनतमै धेरै फल्ने वर्षौंदेखि लगाउँदै आएको घरैया आलुको बढ्दो बजार मागलाई मध्यनजर गर्दै व्यवसायिकरूपमा खेतीमा लागेका छौं’, असारे वडाकले भने, ‘डेढ बिघा खेतमा उखुबालीसँगै अन्तरबालीका रूपमा लगाएको छु।’

बाँकी डेढ बिघामा आलु मात्रै रोपेको छु। तीन बिघा जग्गामा ३० क्विन्टल आलुको बीउ खरिद गरी लगाएको उनको भनाइ छ। प्रताप सिंहले भने एक बिघा उखुबालीसँगै अन्तरबालीका रूपमा र बाँकी दुई बिघा खेतमा आलुमात्रै रोपेका छन्। आलुको बीउ खरिददेखि खेतमा रोप्दासम्मको मात्रै दुवै जना किसानले रु सात लाख बढी खर्च गरेका छन्।

वर्णशङ्कर हाइब्रेड जातका आलुको तुलनामा स्थानीय जातको घरैया आलुको उत्पादन बढ्ने अनुमान दुवै किसानले गरेका छन्। ‘आलुको उत्पादनका लागि मेहनत साथ काम गरेका छौं। कोसिस राम्रो छ। बाली सप्रिँदो छ’, प्रतापसिंह रानाले भने, ‘उत्पादन चाहेअनुरुपकै हुनेमा ढुक्क छौं।’

आलु उत्पादनमा लागेका किसानका अनुसार खेतमा रोपिएको आलुको उत्पादन प्रतिबिघा १५० बढी हुने अनुमान गरेका छन्। हाइब्रिड आलुको तुलनामा कम फल्ने भएकाले धेरै किसानले घरैया आलु लगाउन छाड्दै जान थालेका थिए।

पछिल्लो समय घरैया आलुको माग बढेपछि दुबै किसान आलुखेती गर्न उत्साहित भएका हुन्। ‘हाइब्रिड आलुको तुलनामा मूल्यसमेत राम्रो छ’, असारले भने, ‘बजारमा लग्नै पर्दैन। आलु खेतमा फल्न सुरू हुन लागेका बेला नै व्यापारीले आलुका लागि माग गर्न थालिसकेका छन्।’

उन्नत जातका टिपिएस, कार्डिनललगायतका आलुको बजारमा रु २० देखि रु ३० प्रतिकिलोका दरले बिक्री हुँदै आएको छ। थारु समुदायका व्यक्तिले पुर्खौंदेखि रोप्दै आएको घरैया आलु प्रतिकिलो रु ५५ देखि रु ६० मा सहजै बिक्री हुने गरेको छ। थारु समुदायले लगाउने भएकाले यस आलुलाई थारु आलुका नामले पनि चिनिने गरिन्छ।

परम्परागतरूपमा जैविक विधिको प्रयोग गरी लगाइने भएकाले स्वास्थ्यवर्द्धक, स्वादिलो, भण्डारण गर्दा लामो समयसम्म नकुहिने र डढुवा लगायतको रोग सहनसक्ने क्षमता भएकाले भएकाले यस आलुको माग बढ्दो रूपमा रहेको छ।

विकासे आलुको तुलनामा स्थानीय जातको आलुको दाना सानो अर्थात् पाँच ग्रामदेखि १० ग्राम तौलको हुने गरेको छ। हाल आलु लगाउने आधुनिक प्रविधिको प्रयोग हुन थालेपछि दाना विगतको तुलनामा ठूलोसमेत हुने गरेको छ।

आलु लगाउने परम्परागत तरिकालाई परिमार्जित गर्दै दुवै जना किसानले आधुनिक तौरतरिका अपनाई आलुखेती गरेका छन्। जसका कारण आलु खेतीमा सिँचाइ गर्नसमेत सहज भएको छ।

कमेन्ट्स
Loading...