सुचना, समाचार र मनोरन्जन
kumdini

एमसिसीबारे छलफल गरेरै निर्णयमा पुग्छौं: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताएका छन्। झापाको मेचीनगरमा पार्टीको १ नम्बर क्षेत्रीय समितिले अयोजना गरेको कार्यक्रममा उनले विवादित अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा उक्त धारणा व्यक्त गरेका थिए।

‘कुनै पनि विदेशी सहयोग लिँदा राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई धितो राखेर लिइँदैन’, उनले एमसिसी संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा राजनीतिक दलबीच विवाद भइरहेको सन्दर्भमा भने, ‘कसैको सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर सहयोग ग्रहण गर्न सकिँदैन। एमसिसीको विषयमा छलफल र परामर्श गरेर मात्र निष्कर्षमा पुगिनेछ।’

British college

देश विकासका लागि अन्तर्राष्ट्रिय सहयोग सदैव स्वागतयोग्य रहने उल्लेख गर्दै उनले राष्ट्रवादको मनोविज्ञानले कहिलेकाहीँ विकासमा अवरोध पुर्‍याउने गरेकोसमेत चर्चा गरेका थिए।

विगतमा अरुण तेस्रो जलविद्युत् परियोजनामा विदेशी लगानी अस्वीकार गरिँदा मुलुक विद्युतभार कटौतीको चपेटाबाट गुज्रिएको दृष्टान्त प्रस्तुत गर्दै उनले भने, ‘उग्र राष्ट्रवादको मनोविज्ञानले समाजको प्रगतिमा अवरोध सिर्जना गर्दो रहेछ। २०५१ मा अरुण तेस्रो बनाउन दिएको भए २०६१ मा विद्युतभार कटौती मुर्दावादको नारा लगाउनैपर्ने थिएन।’

पार्टीभित्रका विभिन्न पदमा मनोनीत गर्ने र विभाग गठनका विषयमा कुनै ढिलासुस्ती नहुने महामन्त्री शर्माले बताए। महामन्त्री शर्मा विगत दुई दिनदेखि गृह जिल्लाका पार्टी कार्यक्रममा व्यस्त छन्।

कमेन्ट्स
Loading...