सुचना, समाचार र मनोरन्जन
kumdini

हिमाली क्षेत्रका हिउँ तथा पानीका स्रोतहरूमा माइक्रो प्लास्टिकका कणहरु, जलवायुमा असर

काठमाडौँ
पर्वतारोहणमा जाने आरोहीहरूले प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुहरु र छिमेकी मुलुकहरूबाट हावाले उडाएर ल्याएका प्लास्टिकका कणहरूले गर्दा हिमाली क्षेत्रका हिउँ तथा पानीका स्रोतहरूमा माइक्रो प्लास्टिकका कणहरु पाइएबाट त्यसले जलवायु परिवर्तनको असर बढाउन मद्दत गरेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन।

जनस्वास्थ्य तथा वातावरण प्रबर्द्धन केन्द्र सिफिड, डोको रिसाइक्लियरर्स र ब्लु वेष्ट टू भ्यालु नामक संस्थाद्वारा संयुक्त रुपमा यहाँ आयोजित कार्यक्रमका वक्ताहरूले केही वर्षयता नेपालमा प्लास्टिकजन्य सामग्रीको आयात तथा उत्पादनमा वृद्धि भएसँगै यसले वातावरणमा पारेका नकारात्मक असरका बारेमा अध्ययन अनुसन्धान गरी समाधानका उपयुक्त विकल्पहरूका बारेमा राज्यले उपयुक्त नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

प्लास्टिकजन्य प्रदूषणको समस्या विश्वव्यापी रुपमै बढ्दै गएको सन्दर्भमा आगामी फागुन १६ देखि १८ गतेसम्म केन्याको नैरोवीमा हुन गइरहेको संयुक्त राष्ट्रसंघीय वातावरण सम्मेलनमा छलफलका लागि प्रस्तुत हुने संयुक्त राष्ट्रसङ्घीय प्लास्टिक प्रदूषण महासन्धिको मस्यौदामा नेपालले हिमाली क्षेत्रमा प्लास्टिकको बढ्दो प्रदूषणको विषयलाई जोडदार रुपमा उठाउन पनि विज्ञहरुले सुझाव दिएका छन ।

British college

विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले केही वर्षअघि सगरमाथाबाट सङ्कलन गरेको हिउँ र पानीको नमूनाको अध्ययनमा माइक्रो प्लास्टिकका कणहरु पाइएको तथ्यहरुले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको समस्या बढ्दै जानुको एक मुख्य कारण औंल्याएको थियो ।

सो अवसरमा वन तथा वातावरणमन्त्री रामसहाय यादवले नेपालमा प्लास्टिकजन्य प्रदूषण बढ्दै गएकाले यसको रोकथाम, न्यूनीकरण एवं नियन्त्रणका कार्यहरुको प्रभावकारी कार्यान्वयनका लागि एक कार्ययोजना तयार पारी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको जानकारी गराए । उनले हिमाली क्षेत्रमा प्लास्टिक प्रदूषण हुन नदिन हाम्रो आन्तरिक प्रयास सँगसँगै यस समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठनका प्रविधि अन्वेषण शाखा प्रमुख वैज्ञानिक डा रवीन्द्र ढकालले हिमाली क्षेत्रको प्रदूषणको अध्ययन अनुसन्धान गरी त्यसको कारण पहिल्याउन आवश्यक रहेको बताउँदै प्लास्टिकजन्य प्रदूषणको समस्याको समाधान विश्वव्यापी रुपमै खोजी हुनु आवश्यक रहेको बताए । साना तथा मझौला उद्योग महासङ्घका उपाध्यक्ष मोहन कटुवालले प्लास्टिकहरुको प्रयोगबाट हुने वातावरणीय प्रदूषण र स्वास्थ्यजन्य नकारात्मक असरलाई कम गर्न प्लास्टिकको आयात, उत्पादन, बिक्रीवितरण, प्रयोगकर्ता एवं फोहर सङ्कलन, ओसारपसार र पुनः प्रयोगमा संलग्न व्यक्ति, सङ्घसंस्था, निजी क्षेत्रबीच सहकार्य र साझा दृष्टिकोण बन्नु जरुरी रहेको बताए ।

कार्यक्रममा सिफेडका कार्यकारी निर्देशक प्लास्टिक रामचरित्र साहले नेपालमा प्लास्टिक प्रदूषणको सवाल र प्रभाव, ब्लु वेष्ट टू भ्यालुका नवीन विकास महर्जनले हिमाली क्षेत्रमा प्लास्टिक प्रदूषण र सफाइ अभियान, डोको रिसाइक्लियरर्सका पङ्कज पञ्जियारले नेपालमा प्लास्टिक रिसाइक्लिङको अवस्था र समस्या र वन तथा वातावरण मन्त्रालयका केशवराज जोशीले नेपालमा प्लास्टिक प्रदूषण व्यवस्थापनसम्बन्धी सरकारको भूमिका उत्तरदायित्व तथा पहलका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कमेन्ट्स
Loading...