सुचना, समाचार र मनोरन्जन

समृद्धि र राष्ट्रियतालाई जोड्दै एमालेको संकल्प यात्रा

“हाम्रो यात्राले पार गरेको यो दूरीमा हामीले देउडादेखि काँठेसम्म धेरैथरी बाजा सुन्यौं। सबैको साझा भाव हो-नेपाली”, यात्राको नेतृत्व गरिरहनुभएका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार व्यक्त गरेको धारणाले यात्राका क्रममा स्थानीय संस्कृति, भाषा, उत्पादन र शैलीका साथै विकास र राष्ट्रियतालाई जोड्ने संकल्प उद्गार गरेको छ।

काठमाडौं /

सात वर्षअघि प्रमुख प्रतिपक्षमै भएका बेला झापाको काँकरभिट्टाबाट कञ्चनपुरको महेन्द्रनगरसम्म मेची(महाकाली अभियान सञ्चालन गरेको नेकपा ९एमाले० अहिले मध्यपहाडी क्षेत्रलाई केन्द्रित गरेर सुदूरपश्चिमबाट पूर्वतिरको यात्रामा लागिरहेको छ।

राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी बैतडीको झुलाघाटबाट सुरु भएको मध्यपहाडी {पुष्पलाल} लोकमार्ग केन्द्रित एमालेले ‘समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत आज बागमती प्रदेशमा कार्यक्रम सक्दैछ। मंगलबारदेखि उक्त कार्यक्रम कोशी प्रदेशमा हुनेछ।

“हाम्रो यात्राले पार गरेको यो दूरीमा हामीले देउडादेखि काँठेसम्म धेरैथरी बाजा सुन्यौं। सबैको साझा भाव हो-नेपाली”, यात्राको नेतृत्व गरिरहनुभएका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार व्यक्त गरेको धारणाले यात्राका क्रममा स्थानीय संस्कृति, भाषा, उत्पादन र शैलीका साथै विकास र राष्ट्रियतालाई जोड्ने संकल्प उद्गार गरेको छ।

एमालेको टोली आज इन्द्रावती र भोटेकोशी नदीको संगमस्थल दोलालघाट पुग्दा अध्यक्ष ओलीले स्थानीय माछा व्यवसायीसँग कुराकानी गर्नाका साथै आफैंले माछा तारेर नेताहरुलाई खुवाए। डडेल्धुरा पुग्दा एमाले नेतृत्वले खीर खाएको दृष्य पनि लोकप्रिय बनेको थियो।

एमाले नेतृत्व तथा स्थानीय कार्यकर्तासहितको टोलीले आज काभ्रेपलाञ्चोकबाट एक सय ६० किलोमिटरको दूरी पार गर्दै सिन्धुपाल्चोक, दोलखा र रामेछापका कार्यक्रममा सहभागिता जनाउनेछ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछापबाट एमालेको यात्रा उदयपुरको घुर्मीतर्फ लाग्नेछ। पार्टी स्थापनाको ७५औं वर्ष समारोहमा संस्थापक महासचिव पुष्पलालको स्मृतिमा निर्मित लोकमार्ग केन्द्रित अभियानबाट इतिहास र अग्रजको सम्मान, राष्ट्र सवल र समृद्ध बन्छ भन्ने आत्मविश्वासमा अभिवृद्धि, जनसम्बन्ध विस्तार र जनगुनासो एवं जनताका सुझाव संकलन तथा स्थानीय सम्बन्ध र राष्ट्रिय सन्देश मिल्ने योजनाका साथ एमालेले संकल्प यात्रा सञ्चालन गरेको हो।

बैतडीको झुलाघाटबाट यही मङ्सिर १४ गतेदेखि आरम्भ भई आगामी पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने उक्त यात्रामा अध्यक्ष ओलीको नेतृत्वमा एमालेका केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य तथा प्राविधिक टोलीसहित दैनिक नियमित कम्तीमा दुई सयको सङ्ख्यामा नेता कार्यकर्ता एउटा जिल्लामा जनसभा र जनस्तरका संवाद सकेर बास बस्दै अर्को दिन अर्को जिल्लामा पुगेर कार्यक्रम गर्न व्यस्त हुने गरेका छन्।

यात्रामा छिमेकी जिल्लाका टोली थपिँदा दैनिक पाँच सय यात्रु हुने गरेका तथा बास बस्ने र खाना खाने समयमा उक्त संख्या दैनिक दुई हजारसम्म हुने गरेको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

हरेक दिन बिहानै सुरु भएर यात्रा राति १० बजेसम्म हुने गरेको छ। नुवाकोटको बट्टारमा शनिबार राति अबेरसम्म पनि कार्यक्रम भएको थियो।

“यात्राका क्रममा अपेक्षा गरेभन्दा बढी जनसहभागिता देखिएको छ। हाम्रा एजेण्डाप्रति जनताको समर्थन, संलग्नता र उत्साह प्रकट भएको छ। मध्यपहाडी लोकमार्गसहित एमालेको सरकारका पालामा तय गरिएका विकास निर्माणका आयोजनामा बजेट कटौती र ढिलासुस्ती भएकामा जनताले आक्रोस व्यक्त गरेको पाइयो”, स्थायी कमिटी सदस्य गौतमले भने, “स्थानीय कच्चा पदार्थको उपयोगसहित रोजगारी सिर्जना गरी बसाइँसराइ रोक्ने कार्यक्रम ल्याउन सर्वपक्षीय माग आएको छ। जनतासँग विकास निर्माणका एजेण्डा तय गर्न एमालेलाई थप आधार मिलेको छ।”

पाँचथरको चिवाभञ्ज्याङसम्म पुग्ने एमालेको यो यात्राका क्रममा स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा विकासका बीच पहाडी क्षेत्रमा तीव्र बसाइँसराइँ बन्न गएकाले समृद्धिको अभियानअन्तर्गत उक्त क्षेत्रलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा अभियानका क्रममा अवलोकन गरिने एमालेले जनाएको छ।

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरुप उक्त अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल, किसानसँग अन्तक्रिया, कृषि वैज्ञानिकसँग संवाद, विकास कार्यको अवलोकन र नमुना काम गरिरहेका उद्यमीसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिकस्थलको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझाव संकलन गरिएका छन्।

नेता गौतमका अनुसार अभियानबाट पहाडबाट भइरहेको तीव्र बसाइँसराइको पहिचान र समाधानको खोजी, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनमा सहयोग, मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतका सम्भावना बुझ्न सहयोग मिलेको छ।

कोशी प्रदेशमा अवरोध नगर्न आग्रह :

कोशी प्रदेशसभाबाट पारित भएको कोशीको नामकरणप्रति असन्तुष्टि जनाउँदै एकल पहिचान पक्षधरले सो प्रदेशमा एमालेको यात्रालाई रोक्न बन्दलगायतका कार्यक्रम सार्वजनिक गरेका छन्।

घुर्मीदेखिका कार्यक्रममा अवरोध हुने त होइन भन्ने प्रश्नमा नेता गौतमले एमाले कसैसँग लड्न र भिड्नका लागि नभई जनतासँग विकास निर्माणका विषयमा जागरणका लागि हिँडेकाले अवरोध र बन्द गर्नुपर्ने कुनै कारण नभएको बताए।

“प्रदेशसभाबाट सर्वदलीय सहमतिका साथ कोशीको नामकरण भएको हो। यसमा असन्तुष्टि भए संवैधानिक र कानुनी प्रक्रियाबाट प्रदेशसभामै प्रस्ताव लैजानुपर्ने हुन्छ। जो कोहीले पनि आफ्ना असन्तुष्टि शान्तिपूर्णरुपमा राख्न पाउँछन्। तर अरुका कार्यक्रमलाई विथोल्ने र ढुंगामुढा गर्ने धम्की दिनु राम्रो होइन। कसैको उक्साहटमा अवरोध भएमा हामी त्यसलाई जनताको बलमा तोडेर अघि बढ्छौं”, सङ्खुवासभाका पूर्वसांसद गौतमले भने, “जनतासँग घुलमिल हुने एमालेको अभियानबाट कतिपयको टाउको दुखेको हुनसक्छ। तर हामी जनताबाट अलग हुन सक्दैनौं। कुनै राजनीतिक मुद्दा भए आपसी संवाद र वार्ताका माध्यमबाट हल गर्न सकिन्छ, त्यसका लागि एमाले तयार छ। हामी सहमतिका आधारमा मुलुकको समृद्धि र विकासका पक्षमा छौं।”

पहिचान पक्षधरले कोशी प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने माग राख्दै आएका छन्। नेता गौतमले पहिचान पक्षधरलाई बन्दका कार्यक्रम फिर्ता लिन आग्रह गरे।

एमालेको केन्द्रीय टोलीमा अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाललगायत सहभागी छन्।

प्रकाश सिलवाल /रासस

Leave A Reply

Your email address will not be published.