पोखरा /
पोखरेली युवा साँस्कृतिक परिवारले वि.सं.२०५० वैशाखबाट सुरु गरेको ‘कविताको अघोषित पाठशाला’ समता काव्य सन्ध्याको ३ सय ३२ औं शृङ्खलामा १३ जना नेपाली भाषी भारतीय कविहरूलाई शनिबार ४ बजे भर्जुअल रूपमा प्रस्तुत गर्दैछ ।
‘साहित्य, कला र सङ्गीतको उत्थान, हाम्रो प्रण’ गुञ्जनका साथ वि.सं.२०३४ सालमा स्थापित पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक महिनाको पहिलो शनिबार समता काव्य सन्ध्या सञ्चालन गर्दै आएको छ । कोरोनाकालीन कहरका कारण कार्यक्रम परिवारको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिने छ ।

कविता वाचनका लागि कवि राजा पुनियानी, कमला राई, मनोज बोगटी, बालकृष्ण थामी, नितेश राई, जीविका अश्रु, द्वारिका क्षेत्री, राकेश क्रान्तिकारी, सन्ध्या आचार्य, विशाल सर्घाईँ, रेगन बम्जन, नारायण काफ्ले र प्रणय राईले आआफ्ना सिर्जना सुनाउने जानकारी साहित्य संयोजक रिता अधिकारीले दिएकी छन् ।
समता काव्य सन्ध्यालाई नेबिको विस्कुटले ३ वटा शृङ्खला प्रायोजन गरेको छ । यसका लागि परिवारका कोषाध्यक्ष अर्जुन अधिकारी र नेबिको बिस्कुटका ब्राण्ड म्यानेजर अरूण पौडेलले संझौता पत्रमा हस्ताक्षर गरेको परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए ।
परापूर्वकालदेखि जनस्तरमा विकसित सम्बन्ध कायम रहेकै अवस्थामा दुई देशका बिचको सीमारेखा विभाजित भयो । भाषा, साहित्य, कला, संस्कृति, रीतिरिवाज, चालचलनमा विभाजन ल्याउन सकेन । भाषिक भूगोलका हिसाबले एउटै सीमारेखाभित्र रहेर दुवैतर्फ नेपाली साहित्यले फल्ने, फुल्ने र सुवासित हुने अवसरहरु पाइरह्यो । एक समय थियो छिमेकी देश भारतले नेपाली साहित्यका लागि दरो भरथेग गरेको थियो । त्यसबेला सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान छिमेकबाटै उदाए । तिनले दिएका देन नेपाली साहित्यले कदापि बिर्सन सक्दैन ।
यसै गरी लैनसिंह वाङ्देल, रामकृष्ण शर्मा, इन्द्रबहादुर राई, लीलबहादुर क्षेत्री जस्ता प्रतिभा पनि मुलुक बाहिर कै माटोबाट सुवासिए । नेपाली भाषा र साहित्यका विविध विधामा बिर्सन नसकिने देन आज पनि ताजा छ । छिमेकका नेपाली भाषासाहित्य साधकहरू आज पनि सव्रिmयतापूर्वक व्रिmयाशील छन् । यो क्रियाशीलता आज आएर झन् झाङ्गिएको अवस्थामा छ । यस अघि परिवारले ‘पोखरा काव्य उत्सव’ कार्यक्रम मार्फत् नेपाली भाषी भारतीय चर्चित साहित्यकारहरूलाई पोखरामा उतारिसकेको छ ।