दमौली/
देशव्यापी रूपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन। मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवर्द्धनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले रोजगारी सिर्जना गर्न तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडि बढ्न आग्रह गरे।
श्रेष्ठले उद्यमशीलताको संस्कृति विकास गर्दै कामको सम्मान गर्ने वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै बजारको मागबमोजिम सीपमूलक श्रमशक्ति विकास गर्न आवश्यक रहेको बताए। यस क्षेत्रका व्यवहारिक कठिनाइ तथा समस्याको पहिचान गर्दै आन्तरिक रोजगारीको क्षेत्रमा क्रियाशील सरोकारवालालाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको उनको भनाइ थियो।
सरकारको मुख्य प्राथमिकता देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नु रहेको बताउँदै उनले पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न दीर्घकालीन रणनीति बनाएर अघि बढ्नु आवश्यक रहेको स्पष्ट गरे।
स्थानीयस्तरमा रहेका रोजगारीको सम्भावनाका क्षेत्रको पहिचान गर्न र आन्तरिक रोजगारीको प्रवर्द्धनमा सङ्घ, प्रदेश र स्थानीय तहबीच आपसमा समन्वय गर्न आवश्यक रहेको उनले बताए।
