काठमाडौँ/
बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताएका छन । आइतबार मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटेलजस्तो देखेर आफू सक भएको बताएका हुन।
छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउन बताएका मन्त्री आलेले धर्मशालामा सस्तो र सर्वसुलभ हुनुपर्नेमा एउटा कोठामा एकजना बस्दा पाँच हजार ५०० र दुई जना बस्दा ११ हजार रुपैयाँ लिने गरिएको देखिएको बताए।
आफूले राजनीतिक प्रतिशोध कसैमा नसाँधेको बताएका उनले जोसुकैले गलत गरेको भए पनि कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाए। मन्त्री आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशालामा अनुमति नलिइकनै काम गरेको पाइएकोसमेत बताए।
धर्मशालाका कतिपय कोठाहरु निजीलाई दिइएको र कतिपय कामहरु पशुपति क्षेत्र विकास कोषसँग अनुमति नलिइकनै गरिएको पाइएको उनको भनाइ छ। उनले टेण्डर निकाल्ने बेला पनि पशुपति क्षेत्र विकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन नगरेको पाइएको बताए।
‘अनुगमन गरियो, कतिपय कोठाहरु प्राइभेटलाई दिइएको रहेछ। त्यो दिनै नमिल्ने कामहरु भएको रहेछ। कतिपय पशुपति क्षेत्र विकास कोष समितिसँग अनुमति लिएर गर्नुपर्ने कामहरु पनि नगरिएको देखियो’, मन्त्री आलेले भने, ‘सबैभन्दा पहिलो त यो टेण्टर निकाल्ने बेला पनि पशुपति क्षेत्र विकास कोषको परिषद्को बैठकबाट अनुमोदन हुनुपर्दो रहेछ। त्योसमेत नभएको, थुप्रै त्यस्ता कामहरु देखिएका छन। भोलि हाम्रो प्रतिवेदन आउँछ, त्यसपछि त्यही आधारमा हामी अघि बढ्छौँ।’
