जनकपुरधाम/
प्रदेश २ को नाम मधेस प्रदेश राखेको विरोधमा जनकपुरधाममा युवाहरुले प्रदर्शन गरेका छन । प्रदेशसभामा भएको गोप्य मतदानबाट दुई तिहाइभन्दा बढी मतसहित मधेस प्रदेश नामाकरण भएपछि मंगलबार त्यसको विरोधमा यहाँका युवाहरुले सांसदहरुको पुतला दहन गरेका हुन ।
२२ जिल्लाको मधेश रहेपनि ८ जिल्लालाई मधेश नामाकरण गरिएकोमा आपत्ति जनाउँदै विरोध गरिएको छ । युवा अभियन्ता सुशील कर्णको अगुवाइमा जनकपुरधामस्थित जानकी चोकमा युवाहरुले ‘८ जिल्लालाई मधेश प्रदेश मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर’ भन्दै पुतला जलाएका छन ।

कर्णले आफू पनि मधेस आन्दोलनमा अग्रपंक्तिमा रहेको र त्यसकै कारण ५ वर्ष भन्दा बढी समयसम्म मुद्दा खेपेको भन्दै उनले ८ जिल्ला मधेस प्रदेश मान्य नहुने बताए । उनले ८ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम हुनुपर्ने माग गरे । कर्णले २२ जिल्लालाई मधेस प्रदेश कायम गरे मात्र आफूहरुलाई स्वीकार्य हुने बताए ।