काठमाडौं/
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका प्रयोगशाला र अस्पतालमा मन्त्रालयले जारी गरेको कोभिड–१९ सम्बन्धी परीक्षण निर्देशिका र उपचार प्रोटोकल बमोजिम कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क भनिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार सरकारले कोरोना परीक्षण र उपचार निस्शुल्क हुने आदेश जारी गरेपनि चिकित्सकको सिफारिस बिना कोरोना परीक्षण गराउनेहरुले भने शुल्क तिनुपर्छ। ‘लक्षण भएका शंकास्पद व्यक्तिहरुलाई निशुल्क परीक्षण गर्ने भनिएको छ,’ डा अधिकारीले भने, ‘चिकित्सकले बिरामीको लक्षण हेरेर कोरोना परीक्षण गर्न सिफारिस गरेपछि त्यस्ता व्यक्तिको निःशुल्क परीक्षण हुन्छ, आफैंले टेष्ट गर्नेहरुको हकमा भने तोकिएको शुल्क तिर्नुपर्छ।’
डा अधिकारीका अनुसार कोरोना संक्रमितको निशुल्क उपचार पनि स्वास्थ्य मन्त्रालयले तोकेका सरकारी अस्पतालहरु र सम्झौता गरेका अस्पतालमा मात्र लागु गरिएको छ। स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतमा ७८ वटा अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन भएको जनाएको छ। जसमा विभिन्न जिल्लाका जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र केन्द्रका अस्पतालहरुको सूची रहेको छ।
कोरोना संक्रमितको संख्या बढ्दै गएमा मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजहरुसँग पनि सम्झौता गरेर नागरिकलाई निःशुल्क उपचार सेवा दिने तयारी गरेको छ।