सुचना, समाचार र मनोरन्जन

चितवनका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र

चितवन/

चितवन जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र बढेपछि सेवा प्रभावित हुँदै गएको छ । जिल्लाका चार ठूला अस्पतालमा १५० भन्दा बढी चिकित्सक स्वास्थयकर्मी सङ्क्रमित भइसकेका छन ।
पालिकामा कार्यरत स्वास्थ्यकर्मी धेरै सङ्ख्यामा सङ्क्रमित भएपछि खोपलगायतका स्वास्थ्य सेवा प्रभावित हुँदै गएका हुन् । सङ्क्रमण भएर आठौं दिनमा कार्यालयमा काम गर्दै गर्नुभएका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुने दर बढ्दै गएको जनाउँदै खोप सेवा प्रभावित हुनसक्ने जानकारी दिए ।

उनले भने, “सङ्क्रमित हुने क्रम बढ्यो, नियमित सेवासँगै खोपमा काम गर्ने जनशक्ति अभाव हुन थालेको छ ।” इच्छाकामना गाउँपालिकामा कार्यरत अधिकांश स्वास्थ्यकर्मी सङ्क्रमितसँगै लक्षण देखिएको जानकारी आफूले प्राप्त गरेको उनले बताए । भरतपुरको आधारभूत स्वास्थ्य केन्द्र तोरी खेतमा रहेका दुई जनामध्ये दुवै सङ्क्रमित छन ।

सबै पालिकाका धेरै स्वास्थ्यकर्मी सङ्क्रमित भएको प्रमुख तिवारीले बताए । उनले भने, “यही दरमा सङ्क्रमण फैलिँदै गयो भने स्वास्थ्य सेवा प्रभावित हुन्छ ।” जिल्लाको ठूला चार अस्पताल भरतपुर, बिपी कोइराला मेमोरियल क्यान्सर, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत १५० भन्दा बढी चिकित्सक स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलसहित ४५ सङ्क्रमित भएका छन् । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले यस्तै अवस्था रहेमा नियमित सेवा सञ्चालन गर्न कठिन हुने बताए । प्रयोगशाला, फार्मेसी लगायतका विभाग धेरै सङ्क्रमित भएपछि समय तालिका मिलाउन कठिन भएको उनको भनाइ छ ।

British college

अस्पताल विकास समितिका अध्यक्ष डा।भोजराज अधिकारी यही ढङ्गले सङ्क्रमित बढ्दै गयो भने सामान्य अवस्थाका सङ्क्रमित चिकित्सक स्वास्थ्यकर्मीले सङ्क्रमित बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आउने बताउँछन् । उनले भने, “सबै सङ्क्रमित भए भने गर्न सक्नेले उपचार त गर्नै पर्यो नि ।”

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४८ चिकित्सक स्वास्थ्यकर्मी सङ्क्रमित छन् । अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोले यस पटक चिकित्सक स्वास्थ्यकर्मीमा सङ्क्रमण धेरै फैलिएको बताए । यही गतिमा सङ्क्रमण फैलिएमा अस्पतालका नियमित सेवाको व्यवस्थापन कठिन हुनसक्ने उनको भनाइ छ ।

चितवन मेडिकल कलेजमा ३५ चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी आधा सङ्क्रमित भइसकेको बताए । उनले भने, “सामान्य लक्षण भएर चिकित्सक स्वास्थ्यकर्मी काम गरिरहेका छन् । परीक्षण ग¥यो भने उनीहरुलाई पनि सङ्क्रमण देखिन सक्छ ।” यस्तै अवस्था रहेमा सङ्क्रमितले सङ्क्रमितको उपचार गर्नुको विकल्प नहुने उनको भनाइ छ ।

छोटो समयमै निको भएकाले ठूलो जटिल अवस्था नआउनेमा आफूहरु ढुक्क रहेको न्यौपाने बताउँछन् । कलेज अफ मेडिकल साइन्सेसमा २० जना चिकित्सक स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन । दैनिक यो सङ्ख्या बढ्दो छ । जिल्लामा चिकित्सक स्वास्थ्यकर्मीको सङ्क्रमित एकिन सङ्ख्या आइसकेको छैन ।

निजी अन्य अस्पतालमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी सङ्क्रमित हुने सङ्ख्या पनि ठूलो रहेको बताइन्छ । परीक्षण गर्न जाने अधिकांशलाई सङ्क्रमण देखिन थालेको छ । जटिल अवस्था नभएका कारण अस्पतालमा भर्ना हुनेको सङ्ख्या भने कम छ । आजसम्म विभिन्न अस्पतालमा ४० जना सङ्क्रमित भर्ना भएका छन ।

जिल्लामा सङ्क्रमितको सङ्ख्या एक हजार १२७ पुगेको छ । अन्य बाँकी घरकै आइसोलेशनमा रहेका छन । प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले उच्च सावधानी अपनाएर स्वास्थ्य परीक्षणलगायतका काममा जुट्न चिकित्सक स्वास्थ्यकर्मीलाई आग्रह गरिएको बताए । पछिल्लो समय स्वास्थ्यकर्मी चिकित्सक सङ्क्रमण हुने क्रम बढेको उनको भनाइ छ ।

कमेन्ट्स
Loading...