सन्तोष बस्याल, पोखरा /
गण्डकी प्रदेश सरकारका सांसद विन्दु कुमार थापाले प्रधानमन्त्री केपी ओलीको विरुद्ध सशक्त भएर जुट्नुपर्ने बेला आएको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस पोखरा महानगरपालिकाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओलीले पौष ५ गते गरेको संसद विघटनले संविधान र जनताको भावनामा ठेस पुगेको बताएका छन् ।
नेकपाको सरकार कुर्सीको पछाडी लाग्दा अहिलेको समस्या आएको उनको भनाई छ । नेकपा सरकार जनताको सरकार नभएको तर्क उनको छ । उनले प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्ता पनि राष्ट्रवादको देखाउने दाँत जस्तो भएको उल्लेख गरेका छन् ।
बैशाख १७ र २७ गते कुनै पनि हालतमा निर्वाचन नहुने कुरामा ढुक्क हुन थापाको जनतालाई आग्रह छ । उनले निर्वाचन जनतालाई गुमराह पार्ने दश्प्रयास मात्रै भएको बताएका छन् । ओली प्रधानमन्त्री भएपछि केवल आफ्नो र आसेपासे पदीय सुरक्षामा दौडिएको उनको आरोप छ ।
कांग्रेस चुनावमा जान नडराएको बताउँदै सांसद थापाले युद्धको मैदानमा परिआए आहुती दिने खालको पार्टी भएको उल्लेख गरे । उनले भने, “हामी संविधानको रक्षाको बाटोमा छौं । असंवैधानिक तरिकाले गरिएको चुनावी घोषणा हामीलाई मात्र होइन नेपाली जनतालाई मान्य छैन । ओली पक्षकै कतिपय नेताहरु यसबाट खुशी छैनन् । चुनावी मैदानमा होमिनु परेपनि सुध्रिएर आउँछौं ।”
पोखरा महानगरपालिका ९ का वडा अध्यक्ष रामराज लामिछानेले ओली सरकार आएपछि भ्रष्टाचार बढ्दै गएको आरोप लगाएका छन् । उनले पोखरा महानगरपालिकाले समेत कोहिलाई काखा कोहिलाई पाखा गर्ने व्यवहार गरेको जिकिर राखे । उनले भने,“महानगरका मेयर भएपछि पार्टी भन्दा माथि उठेर फैसला गर्नुपर्ने हो । तर उहाँ आफ्नै पार्टीको मात्र कुरा सुन्नमा अडिक हुनुहुन्छ । कांगे्रसबाट निर्वाचित भएका वडाध्यक्षहरुलाई मेयरसाबले गन्नुहुन्न । महानगरभित्र थुप्रै बेथिति मौलाउँदो छ ।”
लामिछानेले महानगरमा सबैभन्दा बढी भ्रष्टाचार भएको उल्लेख गरेका छन् । पार्किङ शुल्कको विषयमा पनि महानगरले गैरजिम्मेवारी पूर्ण निर्णय गरेको लामिछानेको भनाई छ । उनले पृथ्वीचोकको बसपार्क पनि अहिलेको सरकारले बनाउन नसक्ने दाबी गरे । बसपार्कलाई उनले नेकपाको भोट बैंकको संज्ञा दिएका छन् ।
कांग्रेस महिला नेतृ सरस्वती गुरुङले अहिलेको सरकार लोकतन्त्रको हत्यारा भएको बताइन् । उनले अमेरिकाका राष्ट्रपति ट्रम्पको शैली र प्रधानमन्त्री ओलीको शैली एउटै भएको दाबी गरिन् । नेकपा सरकारको विकल्प खोज्नुपर्ने बेला आएको उनको धारणा छ । जनतालाई अब नझुक्किन गुरुङले आग्रह गरेकी छिन् । संविधानको रक्षाका लागि सबैलाई कांग्रेससँगै मिलेर सडकमा उत्रन उनको आग्रह छ ।
नेपाली कांगे्रसले आज ७ सय ५३ वटै स्थानिय तहमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री र राष्ट्रपतिले संसद विघटन गरेपछि असंवैधानिक “कु” भन्दै कांग्रेसले यसअघि पनि चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ । पुस २५ गते ३ सय ३० निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेसले माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।
