सुचना, समाचार र मनोरन्जन

दर्शक विना नै आहा रारा गोल्डकपका खेलहरु सुरु, एपिएफ क्वाटरफाइनलमा

पोखरा/

British college

आहा रारा गोल्डकपका खेलहरु इतिहासमा नै पहिलो पटक दर्शक विना सुरु भएको छ । ‘खेलकुद विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्धेश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित २० औँ संस्करणको प्रतियोगितामा नेपालका ए डिभिजनका क्लबहरु, आयोजक सहारा र एक विदेशी सहित १० टोलीको सहभागिता रहेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा १ रारा गोल्ड कप’ फुटबल प्रतियोगितामा आयोजक सहारा फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
एपिएफले खेलको पहिलो तथा दोस्रो हाफमा १–१ गोल गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । खेलको १४ औँ मिनेटमा एपिएफका आभास लामिछानेले गोल गर्दै खेलमा अग्रता बनाए । नविन लामाले पेनाल्टी क्षेत्रभित्र उपलव्ध गराएको बललाई दोस्रो बार च्याप्दै आभासले हानेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ६० औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै अग्रता दोब्बर पारे । रबि तामाङको प्रहार विपक्षी खेलाडीले ‘डिबक्स’भित्र क्लियर गर्न नसकेको अवस्थामा लामाले बललाई पोष्टको दिशा देखाए ।
‘ए डिभिजन’ क्लब सातदोवाटोका अधिकाँश खेलाडी सहित मैदान ओर्लिएको आयोजक सहाराले खेलमा गोलका अवसर सिर्जना गर्न नसक्दा पहिलो खेलमै पराजय बेर्होन बाध्य बन्यो । सहारालाई पराजित गरेको एपिएफले अब क्वाटरफाइनलमा अमेरिकाको बीवाईएससी मिनेसोटाविरुद्ध खेल्नेछ । खेलमा एपिएफका नविन लामा ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद रु ८ हजारका साथमा र ट्रफी पुरस्कार प्राप्त गरे ।
सहारा क्लवका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले कोभिड १९ को लहर वढिरहेको समयमा समेत दर्शकविना प्रतियोगिता आयोजना गरेको भन्दै प्रशंसा गरे । कार्यक्रममा हिम श्री फुड्सका निर्देशक प्रकाश केसीले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रममा गतवर्ष निधन भएका सहारा हङकङका बरिष्ठ उपाध्यक्ष तथा सहाराका पूर्व फुटबल प्रशिक्षक विल तामाङ प्रति श्रद्धाञ्जली व्यक्त गर्न एक मिनेट मौन धारण गरिएको थियो ।
शुक्रबार हुने दोस्रो प्रि क्वाटर फाइनल खेलमा मछिन्द्र क्लव र नेपाल पुलिस क्लव भिड्ने छन् । नेपाल लगायत विश्वमा महामारीको रुपमा फेलिएको ओमिक्रोन प्रभावका कारण तोकिएको मितीमा आहा रारा सुरु भए पनि दर्शक विनानै प्रतियोगिता आयोजना गरिएको हो । १६ हजार ५०० दर्शक क्षमताको पोखरा रंगशालामा उद्घाटन कार्यक्रममा केही अतिथी र खेलाडी बाहेक अन्य दर्शकहरुलाई प्रवेश निषेध गरिएको थियो ।
आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

कमेन्ट्स
Loading...