सुचना, समाचार र मनोरन्जन

हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई पदमुक्त गर्न कांग्रेस महामन्त्री शर्माको सुझाव

काठमाडौँ/

 ‘गौर हत्याकाण्ड’ दोहो¥याउने भनी हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुझाव दिएका छन। प्रधानमन्त्री शेरबहादुर देउवाको मौनता र सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवको पक्षमा रहेका बेला कांग्रेस महामन्त्री शर्माले पदमुक्त गर्नुपर्ने उल्लेख गरेका हुन। उनले प्रधानमन्त्री र सत्ता गठबन्धनभित्रको जसपाको भन्दा फरक मत राख्दै मन्त्री यादवलाई उनको अभिव्यक्तिका लागि पदमुक्त गर्नुपर्ने सुझाव दिएका हुन।

British college

मन्त्री यादवले गएको बुधबार रौतहटको गौरमा भएको पार्टी समर्थित युवाहरुको कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउत र उनका कार्यकर्तालाई लक्षित गरी आवश्यक परे फेरि गौर हत्याकाण्ड दोहोर्‍याउने धम्की दिएकी थिइन्। त्यसको चार दिनपछि शनिबार कांग्रेस महामन्त्री शर्माले ट्वीटमार्फत मन्त्री यादवले भुल स्वीकार गरी क्षमा याचना, सम्बन्धित दलको पहलकदमीमा राजीनामा वा पदीय मर्यादाविपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्ने सुझाव दिएका हुन।

शर्माले दिएका दुई सुझावअनुसार अहिलेसम्म मन्त्री यादवले भुल स्वीकार गरी क्षमा मागेको वा उनको दलले पहलकदमी लिएर राजीनामाका लागि प्रक्रिया अघि लगेको अवस्था भने छैन। मन्त्री यादवको पार्टी जसपा उनको बचाउमा उत्रिएको छ।

राज्यको जिम्मेवार पदमा बस्ने व्यक्तिको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपमा बढी जिम्मेवार हुनुपर्ने भएकाले कारबाही हुनुपर्ने शर्माको भनाइ छ। हिंसा भड्काउने खालको अभिव्यक्ति जोसुकैबाट आए पनि स्वीकार्य नहुने तथा विगतको हिंसालाई देशका लागि गम्भीर पाठ बन्नुपर्ने उनले बताएका छन।

कमेन्ट्स
Loading...