सुचना, समाचार र मनोरन्जन

कोभिडको संक्रमण बढेसँगै  खोप कार्डबिना मनाङ प्रवेशमा रोक

मनाङ/

कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोन भाइरस फैलिरहेको अवस्था छ। कोभिडको संक्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिडविरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ।

पर्यटक तथा सर्वसाधारणलाई मनाङ प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार बिना खोप कार्ड चालकलाई पनि सवारी सञ्चालनमा रोक लगाइएको छ। कोरोनाका सक्रिय संक्रमित शून्य रहेको मनाङमा संक्रमणबाट बच्न जिल्ला बाहिरबाट आउने व्यक्तिलाई मास्क र खोप कार्ड अनिवार्य गरिएको उनले बताए।

शून्य कोरोना संक्रमित रहेको जिल्लामा बाह्य जिल्लाबाट प्रवेश गर्ने व्यक्तिमार्फत संक्रमण सर्न सक्ने भनेर उच्च सतर्कता अपनाइएको प्रजिअ आचार्यले बताए।
‘अन्नपूर्ण पदमार्गमा पर्यटक भित्रिन्छन्। उनीहरूलाई खोप कार्ड र मास्क अनिवार्य गरेका छौँ। शून्य कोभिड जिल्ला भएकाले सोहीअनुरूपको राख्ने प्रयासमा छौँ,’ उनले भने।

प्रजिअ आचार्यका अनुसार मनाङ प्रवेश नाका तालडाँडामा प्रहरी र स्वास्थ्यकर्मीले दैनिक निगरानी गरिरहेका छन्। उनका अनुसार जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, सर्वदलीयका साथै कार्यालय प्रमुखको बैठक बोलाएर मनाङमा कोरोना संक्रमण रोक्न सम्पूर्णका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

British college

‘अब कोरोनाको संक्रमण उच्च विन्दुमा पुग्न सकिने देखिएको छ। यो अवस्थालाई पार गर्न सकिए मनाङमा कोरोना संक्रमण रोक्न सक्ने अपेक्षा छ। यसमा सबैको साथ आवश्यक छ,’ प्रजिअ आचार्यले भने।
दैनिक रूपमा कोरोना संक्रमण बढ्दै गएकाले मनाङ ङिस्याङ गाउँपालिकाले काठमाडौँ, पोखरा, बँेसीसहरलगायत बाह्य जिल्लाबाट प्रवेश गर्ने नागरिकका साथै पर्यटकले पनि पिसाङ स्वास्थ्य चौकी तथा हुम्डे स्वास्थ्य चौकीमा अनिवार्य एन्टिजेन परीक्षण गर्न आग्रह गरेको छ।

स्थानीयवासी जाडो छल्न बाहिरी जिल्ला गएको र अत्यावश्यक काम परे उनीहरू गाउँ फर्किन सक्ने मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए।
उनका अनुसार हिमपात रोकिनासाथ उनीहरू गाउँ फर्किनेछन्। ‘गाउँघरलाई कोरोनाबाट बचाउन जोसुकैलाई पनि कोरोना परीक्षण अनिवार्य गरिएको छ,’ घलेले भने।

नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले सोमबारदेखि यहाँ कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएका लक्षित वर्गलाई बुस्टर डोज लगाउन सुरु गरिएको बताए। सार्वजनिक स्थलमा निस्कँदा मास्क अनिवार्य प्रयोग गर्न, कोरोना संक्रमणको शंका लागेमा एन्टिजेन परीक्षण गर्न, सुरक्षित रूपमा होम क्वारेन्टिनमा बस्न अनुरोध गरिएको उनले बताए।

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार मनाङमा अहिलेसम्म शून्य सक्रिय संक्रमित छन्। भदौ २५ गतेदेखि मनाङमा सक्रिय संक्रमित शून्य रहेको उनले जानकारी दिए।
‘चार महिनायता मनाङमा सक्रिय संक्रमित नै छैनन्। भदौ २४ गते एक जना संक्रमित पनि निको भएपछि हालसम्म शून्य रहेको छ,’ प्रमुख आचार्यले भने।

मनाङलाई शून्य संक्रमितमै राखिरहन आवश्यक मापदण्ड पालना गर्दै उच्च सतर्कता अपनाइएको उनले बताए। मनाङमा दोस्रो चरणको लहर फैलिएयता २२३ संक्रमित भएका छन्। संक्रमितमध्ये चार जनाको मृत्यु भएको उनले बताए। मनाङको नासों र चामे गाउँपालिकाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना खोप लगाइसकिएको आचार्यले जानकारी दिए।

मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको विद्यालय चिसोका कारण छिटो बिदा भएपछि यहाँका बालबालिकालाई भने मोर्डना खोप लगाउन नपाइएको उनले बताए। उनीहरूलाई जिल्ला प्रवेश गर्नेबित्तिकै खोप लगाउने व्यवस्था गरिएको छ भने १८ वर्षमाथि उमेर समूहका सबै मनाङवासीले पूर्ण मात्राको खोप लगाइसकेका छन्।

कमेन्ट्स
Loading...